ईश्वरको अदालतबाट निर्वासित आउटसाइडर !
सारांश
- लेखकले स्वर्गको सौन्दर्यभित्रको अपूर्णता महसुस गर्दै पृथ्वीको जीवनलाई महत्व दिएकी छिन्।
- उनले स्वर्गको जीवनशैलीलाई अस्वीकार गर्दै, दुःख, पीडा र अनिश्चिततालाई अँगालेकी छिन्।
- आउटसाइडरको रूपमा, उनले जीवनको विविध अनुभवलाई उत्सवको रूपमा मनाएकी छिन्।
प्रिय सम्बोधन !
मान्छे नै यस्तो अजीव प्राणी हो, जो सीमान्त निर्मम क्षणबाट पनि साँच्चै नै माथि उठ्न सक्छ; जतिखेर सायद देवताहरू पनि ईष्र्यामा हुन्छन् । यसैले लाग्छ, स्वर्गका देवताहरू पनि ऊभित्रको ईश्वरभन्दा अलग छन्; जो कहिल्यै तल गिर्ने जोखिम उठाउँदैनन्; जसरी पशुहरू पनि कहिल्यै माथि उठ्ने सपना सोच्दैनन् । यसरी मान्छेको आफ्नो मौलिक पहिचान भने छैन ।
ऊ देवताभन्दा माथि उठ्न पनि सक्छ, पशुभन्दा तल गिर्न पनि सक्छ । यसर्थ मानववाद मनुष्यको सबैभन्दा ठुलो भ्रम हो । यसमा मेरा प्रिय लेखक निर्मल वर्मासँग म पूर्णतः सहमत छु । सायद यसैले मनुष्यत्वको घनघोर अनिश्चिततामा मान्छे युगौँदेखि भौँतारिइरहेछ...!
जब म दुःखबिना रहन्छु, मसँग सुख होइन, सुखको भ्रममात्र बाँकी रहँदो रहेछ । फेरि नयाँ दुःख खोज्न कतै टाढा जानुपर्दैन; मनको रित्तोपन भर्न दुःख उहिल्यै सँघारमा शरणागत हुँदो रहेछ ।
यिनै अनिश्चितताको घना सङ्क्रमणमा अन्तस्करणबाट स्वीकृत तर मान्छेको अदालतबाट अस्वीकृत एक आउटसाइडर म, आज ईश्वरको सर्वोच्च अदालतबाट मेरो पक्षमा फैसला भएको छ । म विजयी भएकी छु । सर्वोच्च न्यायदातालाई मेरो सहस्र सलाम !
ओ मेरो विशिष्टतम संवेदन !
आज, पाँच वर्षअघिको उही रङ्गमञ्च जस्तो अदालती दृश्यहरू यी आँखामा चलचित्रझै ओहोरदोहोर गरिरहेछन्... !
पाँच वर्षअघि आउटसाइडरको आफ्नै स्वीकृत पृष्ठभूमिसहित ईश्वरको अदालतमा उभिएकी थिएँ । पितृसत्ताको सामाजिक नजरमा छोरीमान्छे भएर जिन्दगीलाई गजबसित, मस्तसित हाँसेरै उत्सवमय बनाई बाँचेकोमा सारा नीतिशास्त्र भन्दा बाहिर रही जिन्दगीप्रति गम्भीर नरहेको आरोपसहित मलाई अपराधीका रूपमा अदालतको कठघरामा उभ्याइएको थियो । पागल नै भने पनि मेरा गजबका रोचक अपराधहरू सहर्ष स्वीकार गरेकी थिएँ । आफन्तहीन नै सही अपरिचित संसारको अपरिचित बाटोमा एक्लै मस्त हिँड्थेँ, ठोक्किन्थेँ, लड्थेँ र फेरि उठेर गन्तव्य भेटे या नभेटे पनि अघि बढ्नुसँगै छुटेका पाइलाहरू, बाटाहरू, दृश्यहरूको स्मृतिसुखमा रोमाञ्चित हुन्थेँ । कुनै नैतिक–अनैतिक, वैध–अवैध दाबी गरेर मर्यादाका नाममा नितान्त वैयक्तिक अनुभूतिहरूलाई कुल्चँदै निकम्मा र भूmट साबित गर्नुभन्दा हरअनुभव एकल, अद्वितीय र मौलिक रहन्छ भन्ने विलक्षण अनुभूतिहरूमा विभक्त भएर बाँचेकी थिएँ, तर मलाई परम्परागत आदर्श र मर्यादा विपरीत आफूखुसी मस्तसित एकल पारा र शैलीले जीवनलाई तान्त्रिक रूपमा भोगचलन गरेको आरोप लगाइएको थियो । मेरो बाँच्नुको त्यही अराजकता नै मेरो अपराध बनेको थियो ।
यसरी अव्यवहारिक, अस्वाभाविक, अनौपचारिक एवम् अपरम्परागत म सारा नीतिशास्त्रभन्दा बाहिर एक आउटसाइडर बनेकी थिएँ । र आफूलाई आउटसाइडर पीडाका बादशाह नै ठान्थेँ तर काव्यिक अपराधीका रूपमा गर्वबोध पनि गर्थेँ ।
त्यतिखेर म आफूभित्रका सारा वजनहरूलाई जलाएर, आफ्ना लेखनीहरूमा रित्याएर रित्तिएको देह मृत्युलाई सहर्ष अर्पण गर्न चाहन्थेँ । मृत्युको अफसोसलाई सहज वरण गर्न चाहन्थेँ ताकि रित्तिएको देह चिता जल्नुमा मबाट कुनै प्रतिवाद नहोस् र जलाउनका लागि कुनै बोझ चितालाई बाँकी नरहोस् भनी हो, म केवल रित्तिइरहन्थेँ । यद्यपि मैले कोर्टमा कविता गुनगुनाउँदा मेरो खिल्ली उडाइएको थियो । एक आउटसाइडरका रूपमा मेरो चरित्रबारे चर्का बहसहरू भएका थिए । अन्त्यमा मेरो असामाजिक व्यवहारद्वारा समाजलाई धमिल्याउने कुचेष्टा गरिएको प्रमाणित अपराधका लागि सजाय सुनाउनै लाग्दा कोर्टमा मजस्तै एक हूल आउटसाइडरहरूको प्रवेश भएको थियो । तिनीहरूले आफै साक्षी बसेर म अपराधी नरहेको प्रमाण पेस गरेका थिए । बरु, समाजको बाहिरी आँखाले देख्न र बुझ्न नसकेको पीडाद्वारा पीडित सबै आउटसाइडरहरूप्रति उचित न्याय हुनुपर्यो भन्दै मेरो सइज्जत रिहाइका लागि अनुरोध गरिएकोमा ठीक ५० वर्षपछि अर्को सुनुवाइ हुने निर्णयका साथ बहस टुङ्गिएको थियो ।
_GjpYDOABmo.jpg)
आज मेरा खुसी र हर्षका सीमाहरू तोडिएका छन् । खुसीले झरेका यी आँसुका बछिटाहरू तिमीसम्म आइपुगेकै हुनुपर्छ । यथार्थतः मैले ५ वर्ष पनि पूरा कुर्नुपरेन । हुन सक्छ ईश्वरको अदालतमा शून्य (‘०’)को कुनै अर्थ छैन र ५० बाट शून्य (‘०’) झिकेर ५ वर्षमै पैmसला मेरो पक्षमा गरिएको हुनुपर्छ । मैले स्वर्गको ग्रीनकार्ड पाएकी छु । अबउप्रान्त मैले यस धर्तीमा आउटसाइडर पीडा झेल्नुपर्ने छैन । स्वर्गमै रहन आदेश मिलेको छ ।
००० ००० ०००
मैले बाँचेको धर्तीका असङ्गति–विसङ्तिहरू, बेतुकका प्रहारहरू, घनघोर शून्यताहरू, बन्धनहरू, अँध्याराहरू एवम् पीडाहरूविरुद्ध आउटसाइडरका रूपमा मौन लड्दै मुक्ति प्राप्तिका लागि तपस्यारत मैले आज अचानक आफूलाई देवताहरूबीच स्वर्गको सौन्दर्यमा पाएकी छु । सायद प्रेम, सुख र आनन्दको गन्तव्य भन्नु नै स्वर्ग हो क्यारे ! यही स्वर्गमा देवकोटा, पारिजात, पासाङ, हरिभक्त, भैरव अर्याल, वाशु शशी, शङ्कर, भूपि, मनुजबाबु, माक्र्स, माओ, चेखोभ, तोल्सतोय, सात्र्र, सिमोन, कामु, सुकरात, जिब्रान, साल्भाडर, भ्यानगग, मोजार्ट, कितारो, निर्मल वर्मा, अमृता प्रीतम, रजनीश, डायना, मेरा केही भावकहरू र साथमा एमएफ हुसैन पनि फूलमाला लिएर स्वागतका लागि अघिदेखि तैनाथ रहेछन् ।
म फूलमालाले पुरिँदै जान्छु । आफूलाई सर्वश्री विश्वविजयी ठान्दै तेस्रो आँखाले स्वर्गलाई सीमा तोडेर नियाल्छु । यहाँ सबै–सबै जवान देखिन्छन् । सुविधाका लागि सारा स्वर्गीय सम्पदा र सम्पन्नताहरू मलाई प्रदान गरिएका छन् । सारा कुराहरू प्राप्य छन्; सम्पूर्ण छन् । सायद कुनै शब्दको नकारात्मक विपरीतार्थ यहाँ छैन । मात्र हाँसो, खुसी, स्वर्ण, हीरा, जुहारत, अप्सरा, मदिरा, सङ्गीत, नृत्य ! केवल तृप्ति नै तृप्ति ! केवल आनन्दै आनन्द !!
म फूलमालाले पुरिँदै जान्छु । आफूलाई सर्वश्री विश्वविजयी ठान्दै तेस्रो आँखाले स्वर्गलाई सीमा तोडेर नियाल्छु । यहाँ सबै–सबै जवान देखिन्छन् । सुविधाका लागि सारा स्वर्गीय सम्पदा र सम्पन्नताहरू मलाई प्रदान गरिएका छन् ।
आहा ! यहाँ कोही पनि वृद्ध हुँदैनन् ! यहाँ कसैले पनि मृत्यु वरण गर्न पर्दैन !
फेरि पनि उल्लासित मेरो मनले स्वर्गको भव्य र शालीन सौन्दर्यभित्र पनि कुन्नि अझ कस्तो खुसी र आनन्द खोजिरहेछु ! ....!!
यस्तो लाग्छ, स्वर्गको सुखद र सुन्दर आवरणभित्र मैले केही कुरा गुमाइरहेकी छु । स्वर्गका सारा दिव्य उपहारहरू उराठ लाग्दै छन् । यतिसम्म कि यहाँका अलौकिक दिव्य लेखनी–ध्वनिहरूले पनि मलाई आनन्द दिन सकिरहेका छैनन् । लाग्छ, यहाँ ‘दुःख’ कुन चराको नाम हो, कसैलाई थाहा छैन । सोचेँ, हाम्रा अनौठा पात्रहरू— सञ्जीव उप्रेती, विप्लव प्रतीक, कुमार नगरकोटी त यहाँ एक निमेष पनि टिक्न सक्ने छैनन् ।
यहाँ विपनामा बदल्नुपर्ने स्वर्गभन्दा प...र कुनै सपनाहरू छैनन्; पूरा गर्न अधुरा आकाङ्क्षाहरू छैनन् । यहाँ फूलपातहरू झर्दैनन् र आँसु झार्न झर्दै गरेका फूलपातका दर्दभरी कहानी छैनन्; यहाँ वियोग छैन र वियोगपछि मिलनको दिव्य आनन्द पनि छैन । स्वर्ग आफैमा एक भयानक नरकजस्तो लागिरहेछ ।
यहाँ आँसु पिएर खुसी मुस्कुराउने काव्यात्मक अवसरहरू छैनन् । जीवनजगत्का रङ्गिविरङ्गी सारा विसङ्गतिहरूलाई बाहिर मानिसको भीडमा छाडेर कोठाको एक्लो एकान्तमा रुनुको मजा छैन । स्वर्ग आफैमा विसङ्गतिहीन एउटा महाविसङ्गति जस्तो लागिरहेछ; स्वर्ग आफैमा प्लास्टिकका सुन्दर फूलहरूको झुप्पाजस्तो लागिरहेछ ।
सायद, तिमीलाई पनि यो स्वर्ग साह्रै पट्यारलाग्दो लाग्ने छ ।
हुन पनि यहाँ सुखको एकरस विस्तारमा कुनै अल्पविराम, अर्धविराम र पूर्णविराम जस्ता रोमाञ्चक अडेसाहरू छैनन् । विष्मय र प्रश्नका अग्लाइ उक्लनुपर्ने कुनै जोखिमयुक्त पहाडहरू छैनन् । थपघट र सम्पादन गर्नुपर्ने बाँँकी कुनै निर्देशनहरू छैनन् । मुर्दा शान्तिजस्तो, प्रतिस्पर्धाहीन जितजस्तो सास फेरेर सास लिनै बिर्सिँदाको निसास्सिँदो उकुसमुकुससिबाय यहाँ सललल बग्ने कुनै रोमाञ्चक अनुभूतिहरू छैनन् । जीवनको कुनै आतुरता छैन, कुनै उत्सुकता छैन, कुनै रौनकता छैन, जिज्ञासु गति छैन, तरङ्ग छैन । यथार्थतः दुःखका साथ भन्नुपर्दा म गन्तव्यहीन गन्तव्यमा आएछु ।
यहाँ, अप्सराहरूको भावभङ्गिमा निकै हेर्नलायक हुँदो रहेछ । मातृत्वको सुखद संसारबाट अनभिज्ञ यिनीहरू मात्र यौवनका दास हुन् । मात्र यौनजन्य भोग्य यन्त्र हुन् । मानौँ, यिनीहरू शरीर नामको यन्त्रसित सहवास गर्छन्, तर आत्मासित होइन । यसर्थ यिनीहरूका लागि सहवास यान्त्रिक क्रियाबाहेक अरू केही होइन । यथार्थतः ओशोले भनेझैँ जबसम्म कोही कसैले पनि लुगाको आवरणसँगै खोक्रा आदर्शहरू, बोक्रे आडम्बरहरू, बौद्धिक कुटिलताहरू बेफिक्र फाल्दैन; तबसम्म ऊ अहङ्कारहीन प्रेमपूर्ण सम्भोगमा समर्पित हुनै सक्दैन; विल्कुल एकाकार हुनै सक्दैन ।
यथार्थतः यहाँ हिउँदको प्रथम बर्सात्पछिको माटोको प्रेमिल सुगन्ध छैन । सपना टुटेपछिका क्षतविक्षत घायल विपनाहरू छैनन् । टन्टलापुर घामपछि साँझको मन्द हावाको शीतलता छैन । अज्ञानतापछि ज्ञानको उज्यालोले आलोकित वैदिक सुखको कुनै गुन्जायस छैन । ईर्ष्यालुहरूको भीडमा मन्द मुस्कुराएर हिँड्नुको मजा छैन । प्रज्ञामय उत्सवका लागि कुनै उत्सुक आँखाहरू छैनन् । सेवाका लागि दःुखीहरू छैनन् । दयाका लागि भिखारीहरू छैनन् । जम्मामा प्रेमका लागि कोही प्रेमका प्यासीहरू पनि छैनन् । सपाट तृप्तिबाहेक कुमालेको चक्र घुमाएर कुनै नयाँ सृष्टि गर्नुपर्ने उत्सुक आविष्कारको कुनै गुञ्जायस नै छैन ।
फेरि विशेषमा सनसनीपूर्ण अफसाइड प्रश्नहरू पनि छैनन् । सुस्केराहरू छैनन्, अफसोसको कुनै स्मृति मात्र पनि छैन । रात छैन । हुरी छैन । पतझड छैन । न लोभ, न शोक, न भोक, न प्रकोप, न मजबुरी, न गरिबी, न अभाव, न तनाव, न लोडसेडिङ, न हडताल, न बन्द, न दुर्गन्ध, न महँगी, न भागदौड, न युद्ध, न ईर्ष्या, न घृणा, न बदनामी, न प्रतिस्पर्धा, न बहाना, न दुर्घटना, न आत्महत्या, न मृत्यु !
लाग्छ, धर्तीका यस्ता दुःख र पीडाहरूबाट बेखबर देवताहरू स्वर्गको सपाट सौन्दर्यका तानाशाही उपासक हुन्; जो एकदिन आफ्नै मनबाट परित्यक्त हुने छन् र महानरकको भीषण अँध्यारोमा निर्वासित हुने छन् ।
समय बित्दो छ, तर म वृद्धोन्मुख छैन । मानौँ, मेरो जवानीसँगै टक्क रोकिएको छ समय । यद्यपि म उजाड, उराठ र उदास छु; जम्मा म दुःखी छु । मलाई थाहा छ, स्वर्गको स्वीकृति/अस्वीकृतिबिनाको आनन्दहीन एकरङ्गी सपाट सौन्दर्यबाट म पलायन हुँदै गइरहेछु ।
लाग्छ, धर्तीका यस्ता दुःख र पीडाहरूबाट बेखबर देवताहरू स्वर्गको सपाट सौन्दर्यका तानाशाही उपासक हुन्; जो एकदिन आफ्नै मनबाट परित्यक्त हुने छन् र महानरकको भीषण अँध्यारोमा निर्वासित हुने छन् ।
हो, म कुरूप संसार नै चाहन्छु । अँध्यारो, दुःख, पीडा, चिन्ता, विसङ्ति नै मलाई प्रिय छन् । म फूलैफूलको बिच्छ्यौनामा निदाएर जिन्दगीलाई भुल्न होइन, काँडाबीच मुस्कुराएको जिन्दगीलाई बुझ्न चाहन्छु; अतिथिजस्तो जीवनको क्षणभङ्गुरता बाँचेर/बुझेर म जिन्दगीलाई अधिकतम अर्थ दिन चाहन्छु । यतिखेर म धर्तीको समुद्रबीच आँधीग्रस्त निर्जन टापुको भयानक यादमा छु ।
यसरी ईश्वरको ध्यानाकर्षण गर्न क्रमशः म स्वर्गको मर्यादा विपरीत अमर्यादित कुरूपताहरू बखान गर्दै जान्छु । ध्वंसात्मक अराजक कृत्यतर्पm उन्मुख हुँदै जान्छु; आक्रामक बन्दै जान्छु; खतरनाक बन्दै जान्छु । अन्ततः अधुरोपन उप्काएर स्वर्ग अनि देवताको सम्पूर्णतामाथि नै प्रश्न गर्न थाल्छु; प्रहार गर्न थाल्छु ।
यस्तो लाग्छ, स्वर्ग वास्तवमै निरस छ; सपाट छ; एकाङ्गी छ, स्थिर छ । कि त स्वर्ग केवल आध्यात्मिक कवचभित्र लीन छ; कि त केवल भौतिक कवचभित्र मस्त छ । यसैले यहाँ कुनै सृजनशीलताहरू छैनन्; सृजनशीलताका रसरङ्गहरू छैनन्; जीवनका मोहक मादकताहरू छैनन् । यहाँ ग्यालेलियो, फ्रायड, मार्क्स सब फ्रिज भइसकेका छन् । डार्विनको विकासवाद पनि यहाँ चल्नेवाला छैन ।
यसरी मेरो निरन्तरको आक्रमणपश्चात् एक समय मेरो क्रियाकलापबाट आश्चर्यचकित ईश्वर स्वर्गमा दुःखी देखिएको, स्वर्गको मर्यादाविपरीत कर्म गरिरहेको अद्भुत पात्रका रूपमा मलाई बोलाउँछन् र सोध्छन्—
—यहाँ तिमी स्वर्गको आदर्श, प्रतिष्ठा र मर्यादाविपरीत किन मूर्खतापूर्ण कार्य गरिरहेका छौ ?
=यसलाई म जीवनको रोचक अनिवार्यता मान्छु ।
—तर तिमी त स्वर्गमा छौ ! यहाँ त तिमीले स्वर्गकै मर्यादामा रहनुपर्छ ।
=त्यसो हो भने म यो गलत संसारमा आइपुगेछु । यदि अघि नै मलाई यो सब थाहा हुँदो हो त अर्थात् स्वर्ग भनेको यस्तै अर्धज्ञानी मूर्खहरूको जमघट हो भन्ने बुझेको भए जहाँ भए पनि बरु नरक नै रोज्थेँ !
—खबरदार ! तिमी यसभन्दा एक पाइला पनि अगि बढ्न सक्दैनौ !
=भन्नै पर्दैन...! मलाई बढ्नु नै छैन... !
—ठीक छ, तिमीलाई यहाँबाट यही क्षण तिम्रो रोजाइको नरक समान उही मर्त्यलोकमै निर्वासित गरिन्छ ।
(त्यतिखेरको मेरो मुस्कुराहटको जाज्वल्यमान् दिव्यताबाट स्वर्गमा कम्पन नै पैदा भए जस्तो लाग्थ्यो ।)
००० ००० ०००
यसरी विद्रोहीहरूको आँखाले आपूmलाई हेर्न नजान्ने भगवान् भनाउँदाहरूले अहमी, तानाशाही र सपाट एकरङ्गी संसारबाट कुरूप र सुन्दरता अनि उच्छ्वासले भरिपूर्ण मेरै प्रिय संसार यही धर्तीमा म आइपुगेछु ।
हजुर, बन्धन र मुक्तिको प्रियतामा आइपुगेकी छु । सत्यमा अति रोमाञ्चक विशिष्टतम विरोध अलङ्कारहरूबाट अलङ्कृत मानौँ, ब्रह्माण्डकै अति सुन्दर नरक यो धर्तीमा आइपुगेकी छु ।
म यतिखेर स्वर्गको सुन्दर भ्रम तोडेर यही मर्त्यलोककै यही नारकीय बन्धनजस्तो जीवनमा पनि जीवन्त उत्सवमय छु । भलै मेरो पुनर्आगमनमा खुसी भएर स्वागत गर्ने मेरो विशेष सम्बोधित सर्वश्री प्रिय पात्र र मेरा केही समानान्तर प्रिय मनहरू स्वर्गको उमेर जोडिएर आइपुगेकी मलाई छाडेर गइसकेछन् । या आउँदा सायद, बाटैमा फेर परेको हुनुपर्छ ! हो, यसैले म शून्यमा छु । फेरि पनि दुःखी छैन । किनकि सारा ब्रह्माण्डको सौन्दर्य–सम्भावना यही शून्यमै त अटाएको छ ।
प्रिय भावक !
जहिलेदेखि तिमी मेरो भावसँगै सहयात्रा गरिरहेछौ; तबबाटै मेरो शून्यको प्रारम्भिक सम्भावना तिमी नै हौ । अब, आऊ ! हामी असीमित जोखिमहरूसँगै प्रेममग्न होऔँ, सङ्गीतमग्न होऔँ, नृत्यमग्न होऔँ, जीवन र मृत्युसँग एकाकार होऔँ र जन्माऔँ मूल्यवान् ओजपूर्ण सुन्दर भविष्य !!
प्रिय मान्छे !
वस्तुतः यस धर्तीमा जन्म लिनु नै सबैभन्दा रोमाञ्चकारी र सौभाग्यपूर्ण घटना या संयोग हो । यसर्थ बाँकी भाग्यका सारा प्रकरणहरू तपसिलका सारांशित बुँदाहरू मात्र हुन् ।
यतिखेर म धर्तीको एक सुदूर निर्जन उपत्यकामा ईश्वरको सान्निध्य जस्तो सौन्दर्यमा अनुभवरत छु । टन्टलापुर घामको आडमा बादलहरू नीलो आकाशमा नृत्यरत छन् र बादलका छायाहरू धर्तीमा नृत्यरत छन् । साथमा वृक्षहरू, पूmलहरू, पुतलीहरू उत्सवमय देखिन्छन् । देख्दा एउटा क्यानभासको प्रभावी विम्बजस्तो— घामपानीको रिमझिम बर्सात्, दूबोको हरियो बिस्तार, एउटा अपरिचित वृक्षमुनि अडेसा लागेको म र मेरै इन्द्रेणी सपनाहरू !
त्यो अपरिचित वृक्षले मलाई प्रेमले अँगालिरहेको महसुसमै मेरो चेतनामा कुनै शाश्वत आवाज ध्वनित हुन्छ— स्वर्ग जस्तो प्रेमको सौन्दर्यले पनि किन नरकजस्तो पीडा दिन्छ ! ...यदि तिमी पनि मेरो नोस्ताल्जिक निमन्त्रणामा सहभागी छौ भने प्रिय भावक ! तिम्रो चेतनामा पनि यतिखेर सायद त्यही सत्य ध्वनित भइरहेको हुनुपर्छ ।
हुन सक्छ, यस्तै–यस्तै विपर्यासमय टकरावबाट नै यस धर्तीमा सङ्गीतको प्रारम्भ भयो र जिन्दगीको एक विशिष्ट हिस्सा बन्यो । यी र यस्तै धर्तीका अनेकन टकराबबाट निसृत यो सङ्गीतमय जिन्दगीलाई मेरो कवितामय सलाम ! धर्तीकैे घामपानीग्रस्त उमङ्गमा रुझ्दै–रुझ्दै बाफिएर नृत्यरत आत्माजस्तो शब्दको जादुमय जिन्दगीलाई मेरो चित्रमय सलाम ! र तिनै सङ्गीतमय जिन्दगीको नृत्यरत सर्वोत्कृष्ट चित्रकारितालाई अझ युग र सभ्यताकै स्वर्णिम सलाम !!
ओहो ! जिन्दगीसँगको गुनासामा पनि कति सम्भावित प्रियताहरू छन् ! घृणा अनि प्रेम, युद्ध अनि शान्ति, शिशिर अनि वसन्त, रात अनि दिन, अँध्यारा अनि उज्याला, वञ्जर मरुभूमि अनि हरियो फाँट, कालरात्रि अनि श्वेतरात्रि–जूनरात्रि, कालो समुद्र अनि नीलो समुद्र, कतै जन्मउत्सव अनि कतै मृत्युउत्सव, कतै वियोग अनि कतै संयोग ! सबै–सबै कोलाज जिन्दगीको जीवन्त महसुसमा !
...जब चैतको हावाले सोत्तर बढारेर लान्छ मेरा मनका धुलाम्य आकाङ्क्षा र सपनाहरू; आहा हृदयको शून्यमा मस्तिष्कीय जञ्जालबाट उन्मुक्त नयाँँ पूmलपालुवा र आगत सौन्दर्यात्मक कल्पनाको उच्छलनले कस्तरी पागल पागल हुन्छु र आनन्दित हुन्छु ! छचल्किन्छु !! सँगसँगै शिरीषका, गुराँसका, गुलाफका पदचापहरू सुन्छु र तरङ्गित हुन्छु !!! आहा ! कति सुन्दर छन् ! झर्दै गरेका पुष्पदलहरूको दर्दभरीको कहानी; जो मात्र मेरो हृदयले महसुस गर्छ र मस्तिष्कीय निर्देशनबिना नै महसुसमै अन्तिम सत्य मृत्युको रिहर्सल गरिरहन्छ, जिन्दगी । यो धर्ती, आहा ! कति सुन्दर विश्वविद्यालय !
...निश्चय नै घनघोर कुरूपताहरूपश्चात् यस धर्तीका सुन्दरताहरू— चुम्बनको आनन्द, प्रेमको आनन्द, समर्पण र एकाकारको आनन्द, कल्पनाको आनन्द, सपना र जपनाको आनन्द सारा सारा आँखाको पर्दाभित्रै शब्दहीन मौन हुन्छन् । अझ अपमान र पीडाको चरमोत्कर्षमा पनि हाम्रो आँखाको पर्दा एकाएक झरिदिन्छ । ता कि पीडाको परम सौन्दर्य पनि मनको घेरा तोडेर आँखाको पर्दाबाहिर नफर्किने गरी नजाऊन् । लागिरहेछ, प्रकृतिको यो सरल भाषाभन्दा प...र मलाई अरू केही बुझ्नु छैन ।
आहा ! जिन्दगीसँगको गहिरो लतमा झुम्नु कति सुखद् छ ! तर भन्न नसकिने जिन्दगीहीन स्वर्गको एकरस सपाट अहमी सौन्दर्य सम्झिनु मात्र पनि कति पट्यारलाग्दो छ; जुन सौन्दर्यले मलाई रत्तिभर पनि आकर्षित गर्न सकेन ।
यस धर्तीमा प्राकृतिक बग्नुको अर्थ ओह्रालो झर्नु हो । यसैले भनिन्छ, जिन्दगी खोला जस्तै बगिरहेछ...! तर कति सुरुचिपूर्ण छ बग्नु ! बगरहरू, फाँटहरू, मोडहरू र शृङ्खलाहीन आफ्नै पदछापहरू; जहाँ युगल बहाव छैनन्, युगल गति छैनन्, युगल डोबहरू छैनन् ! फेरि पनि जिउनुका नाममा तमाम विपरीत परिस्थितिहरूमाझ आ–आफ्नै अनुकूल सन्दर्भहरूको खोजी हामी गरिरहन्छौँ र हात लाग्छन् विल्कुल एकल अनुभूतिहरू !
...र मध्यान्तरमा एकसाथ बिस्कुनसरि फिँजाइएका आ–आफ्नै शैली र ढाँचाका तमाम बहुरङ्गी अनुभूतिहरूको बजार एउटा उत्कृष्ट पेन्टिङजस्तो, अनुभूतिहरूसँगै अभिव्यक्त अलग–अलग ध्वनिहरूको एकमुष्ट गुञ्जन विश्वकै उत्कृष्ट सङ्गीतजस्तो र पराई खुसीसँगको संलग्नता ब्रह्माण्डकै उत्कृष्ट कविताजस्तो !
हुन पनि पराई मनको तितोपन अनि मिठोपन मनले÷हृदयले नै महसुस गर्छ । यसैले त्यसको पीडा र आनन्द पनि अरू कसैले भोग गर्न सक्दैन, मात्र उही हृदयले नै गर्छ । यसर्थमा नै हृदयले नै हृदयको भाषा बुझ्छ । सत्यमा कति कलामग्न छ प्रकृति र जीवन !
हो, यस धर्तीलोकमा यो जीवनको प्रथम स्वीकृति र अन्तिम सौन्दर्य मृत्यु पारदर्शी छ । तर पलपल अनुभवरत जीवन त्यति पारदर्शी छैन । कहिले त जन्म र मृत्युबीचको विशिष्ट क्रियाशीलता भनिएको जीवनका तिनै उत्कृष्ट पहेलीहरू— सङ्गीतकला, चित्रकला, साहित्यकला सारा–सारा नै बेकम्मा बनिदिन्छन्; जतिबेला छातीभित्र मुटुको धुनहीन धड्कन उत्कृष्ट सङ्गीत, अबोध बालकको आँखामा विम्बित रङ्गहीन सौन्दर्य उत्कृष्ट चित्रकला, युवाको सम्यक विद्रोहपश्चात् धर्तीमा परेको सूर्यको प्रथम किरणसँगै प्रथमपटक मुस्कुराएको शब्दहीन पूmल उत्कृष्ट साहित्यकला बनिदिन्छन्; जतिखेर मान्छेको चेतना साह्रै कमजोर र निरीह साबित हुन्छ । जिन्दगीका यिनै काव्यिक जोखिमहरू मेरा लागि अधिक प्रिय छन् ।
सत्यमा जोखिमपूर्ण जिन्दगीसँग गुनगुनाउनु पनि कम्ती मधुरम छैन !
यतिखेर एउटा विपरीत दिशामा म जिन्दगीको गहिरो लतमा छु । आर्यघाटको चितामा हृदयजस्तो मान्छेको कोमल शरीर, बहुमूल्य कलाकृतिजस्तो जीवन र जीवनसँगै मस्तिष्कजस्तो दृढ निश्चय एकतमासले जलिरहेछ र चिताको धुवाँसँगै जिन्दगीसँग सम्बन्धित अन्य सारा भाववाची सत्यहरू पनि आकाशको विस्तारित शून्यतामा क्रमशः विलीन हुँदै गइरहेछ...। मेरा प्रिय सम्बोधन ! सायद तिमी पनिे मेरो अनुपस्थितिमा एकतमासले यसरी नै धुवाँसँगै बिलायौ होला...!
फेरि पनि,
बिनासम्पादनको एक बसाइको कविताजस्तो जिन्दगी !
ठिक्क ठिक्क नमिलेर पनि सुन्दर लाग्ने,
ठोक्करै ठोक्करले सिर्जना गरेको सङ्गीतजस्तो जिन्दगी !
शब्दहीन भएर नि धेरै कुरा झङ्कृतजस्तो मीठो लाग्ने,
अन द स्पट बाँच्दै जाँदा
मात्र एकमुष्टमा अर्थ लाग्ने अमूर्त पेन्टिङजस्तो जिन्दगी !
नबुझेर पनि बुझेजस्तो आनन्द लाग्ने.....
यस्तै–यस्तै मेरो आत्माको अन्तरतम तलमा जमेका संवेगहरूको एकान्त बस्तीमा जीवनप्रतिको प्रेमको उत्कृष्ट निशानीस्वरूप विशिष्ट सम्बोधित तिमीलाई नोस्ताल्जिक निमन्त्रण गरेकी हुँ । आज यस धर्तीकै उत्कृष्ट विसङ्गत भूमिबाट धर्तीलाई नै सर्वोत्कृष्ट सम्मानस्वरूपको यस निबन्धमा तिम्रो नोस्ताल्जिक पदार्पण त्यही निमन्त्रणको स्वीकृतिस्वरूप नै भएको हुनुपर्छ । हो, फरक–फरक दुःखका लागि फरक–फरक रोएर रित्तिए पनि आँसु त उही हुन्छ; आँसु त उस्तै हुन्छ । यसैले अनेक दुःखको तत्क्षण मोक्ष आँसु भए जस्तै संयोग र वियोगको सीमा भन्दा पर तिम्रो मेरो यो नोस्ताल्जिक सहयात्रा यसै धर्तीमा रित्तिनुुसँगै औधी सुरुचिपूर्ण मोक्षयात्रा भएको छ ।
आखिर चर्केको ऐनामा आफ्नो विम्ब जति नै टुक्रिए पनि आपूm कहाँ टुक्रिइन्छ र ! मस्तिष्कीय तर्कहरूले जति टुक््रयाए पनि जम्मामै रहन्छु म; सम्पूर्णमा म एकै रहन्छु । हुन पनि आँखा खोलेर उज्यालोले दिएको दृश्य र भूमिकाहरूमा विभक्त हुँदाको सत्यभन्दा आँखा चिम्लेर अँध्यारोमा महसुस गरिएको सत्य कति उज्यालो, सग्लो र पूर्ण हुन्छ ! अँध्यारोमै चिन्न सकिने प्रेम पो प्रेम ! अँध्यारोमा महसुस गर्न सकिने अस्तित्व पो अस्तित्व !! यसर्थ भगवान् नै भए पनि ऊभित्रको ईश्वरत्व र मभित्रको ईश्वरत्व भिन्न नभएर एकै हुनुपर्छ भन्ने मेरो जिकिर छ ।
प्रिय साथ !
आजै त हो, ईश्वरको अदालतबाट निर्वासित आउटसाइडर म स्वर्गको ग्रीनकार्ड च्यातेर मेरै धरतीमा सगर्व उभिएकी छु । पुनः सरेन्डर गरेर लोभले ग्रीनकार्ड बिउँताउनेवाला छैन । यस धर्तीमा बाँच्दा जति नै दुःखद प्रश्नहरू होऊन्, जिन्दगीसँग त्यति नै सुखद उत्तरहरू छन्— एउटा बालकले प्रथम पटक व्याकरणबिना बोलेको ‘मा’ शब्दजस्तै सुखद ! जीवन त उत्तरविहीन छँदै छैन । कदाचित म उत्तरविहीन हुनु भनेको स्वयम् मेरो दृष्टिमा अन्तरदृष्टिको विपन्नताबाहेक अरू केही हुन सक्दैन ।
आहा ! कति रोमाञ्चक छ, आफ्नै माटोको सुगन्धमा जिन्दगीसँग गुनगुनाउनु !!
प्रिय जिन्दगी !
प्रिय प्रेम !
चियर्स !
तमाम पीडानायक !
चियर्स !
प्रिय मृत्यु !
चियर्स !
सबैलाई चियर्स ! यो निर्वासित आउटसाइडरकोे विजयउत्सवमा...!
चियर्स ! डियर अस्तित्व...! ...!! ...!!!
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण