बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : ओलीलाई ईश्वरको टक्करदेखि तीन पार्टी एकताको तयारीसम्म

मङ्गलबार, ०९ मङ्सिर २०८२, २२ : १८
मङ्गलबार, ०९ मङ्सिर २०८२

सारांश

  • आगामी निर्वाचनका लागि विभिन्न दलहरूले निर्वाचन आयोगमा नाम दर्ता गराएका छन्, जसमा ८० दलले नाम दर्ता गराएका छन्।
  • कुलमान घिसिङसहित उज्यालो नेपाल पार्टी, नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपालबीच एकीकरणको तयारी भइरहेको छ।
  • इथियोपियाको ज्वालामुखी विस्फोटका कारण हवाई क्षेत्र प्रभावित हुँदा नेपालबाट कतार जाने उडानहरू रोकिएका छन्।

काठमाडौँ । आज मिति २०८२ साल मंसिर महिनाको ९ गते मंगलबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर आएका छौँ–
१. चुनावमा जान तयार भए दल
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दलहरू तयार देखिएका छन् । निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मंसिर १ देखि १० गतेसम्म दल दर्ता आह्वान गरेको थियो । कुल १३४ मध्ये मंगलबार अपरान्हसम्म आयोगमा ८० पार्टीले दर्ता सूचीमा नाम अध्यावधिक गरिसकेका छन् । नयाँ १६ वटा दलले दल दर्ता प्रमाणपत्र लिएका छन् भने २२ वटा प्रक्रियामै छन् ।


२. कुलमानसहितको पार्टी एकता
कुलमान घिसिङको साथ रहेको भनिएको उज्यालो नेपाल पार्टीसहित तीन पार्टी एकीकरणबारेको गृहकार्यमा जुटेका छन् । 

उज्यालो नेपाल, नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकता गर्नेगरी छलफलमा जुटेका हुन् । 

नागरिक उन्मुक्ति पार्टीका नेता तथा लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीले आफूहरू एकताको अन्तिम तयारीमा जुटेको बताए । उनले मंगलबार मात्रै पनि कुलमान घिसिङसहितको बैठक बसेर एकताबारे छलफल भएको रातोपाटीलाई बताए ।

३. दल दर्ता
फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन् । 
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मंगलबार साँझसम्म ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन् ।
 

४. मन्त्रिपरिषद् निर्णय
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेका १४ निर्णय सार्वजनिक गरिएको छ । सञ्चार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

५. अदालतमा एमाले
प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालत रिट निवेदन पेस गरेको छ । 

विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंगलबार पेस गरेको रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएको दाबी गरिएको छ ।

६. बिदा भए मुख्यसचिव
मुख्यसचिव एकनारायण अर्याल मंगलबार रातिदेखि ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । २०८१ भदौ १३ गते एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले वरीयता मिचेर मुख्यसचिवमा नियुक्त गरेका अर्यालको कार्यकाल त्यति सौहार्दपूर्ण भएन ।
 

७. ज्वालामुखीको असर
इथियोपियाको अफारमा विस्फोट भएको हाइली गुब्बी ज्वालामुखीको असरका कारण हवाइ क्षेत्र प्रभावित भएको छ । नेपालबाट आज कतार जाने तय भएका कतार एयरलाइन्सका जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएका छन्।

८. ओलीलाई ईश्वरको ठक्कर
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्कने बताएका छन् ।

मंगलबार पोखरेलले वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।
 

९. सेयर बजार
नेप्से परिसूचक सामान्य अङ्क बढेर बन्द भएको छ । निरन्तर दुई दिन बढेको नेप्से मंगलबार पनि ५.३२ अङ्क बढेर २ हजार ६५५.९९ विन्दुमा पुगेको छ ।
 

१०. एनपीएल
नेपाल प्रिमियर लिगमा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले आज लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप