शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी प्रदेश संयोजक साउद भन्छन्– सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा सक्षम, योग्य र भिजन भएका उम्मेदवार उठाउने प्रयास गर्छौं

सोमबार, १५ मङ्सिर २०८२, १५ : ०४
सोमबार, १५ मङ्सिर २०८२

सारांश

  • जेनजी पुस्ताले आगामी निर्वाचनमा हस्तक्षेपकारी भूमिका खेल्ने तयारी थालेको छ, जसले सुदूरपश्चिमको मुहार फेर्न युवाहरूको नेतृत्वको कुरा गर्छ।
  • जेनजीले निर्वाचनको तयारीका साथै सडक आन्दोलनका मागलाई संस्थागत गर्न सरकारसँग संवाद गरिरहेको छ र उम्मेदवार उठाउने तयारी गरिरहेको छ।
  • जेनजीले उमेर हद घटाउन माग गर्दै युवाहरूको आवाज नीति निर्माण तहमा पुर्‍याउन अभियान चलाइरहेको छ र वैकल्पिक शक्तिहरूसँग सहकार्यको तयारी छ।

धनगढी । देशको राजनीतिमा पुराना अनुहार र परम्परागत दलप्रतिको वितृष्णा चुलिँदै जाँदा नयाँ पुस्ता अर्थात् ‘जेनजी’ पुस्ताले अबको निर्वाचनमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने तयारी थालेको छ ।

फागुनमा हुने चुनावका लागि नयाँ र पुरानासहित विभिन्न राजनीतिक दल सक्रिय हुँदै गएका छन् । विकासको मूल प्रवाहबाट सधैँ ‘सुदूर’ नै रहेको सुदूरपश्चिमको मुहार फेर्न अब युवाहरू अब नेतृत्व लिन तम्सिएका जेनजी समूहरूको भनाइ छ ।

आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा सुदूरपश्चिममा चुनावका लागि ‘जेनजी’ पुस्ताले पनि तयारीलाई तीव्रता दिएको सुदूरपश्चिम जेनजी संयोजक खेमराज साउदले बताए ।

उनका अनुसार निर्वाचनको तयारीमा जुट्नुअघि जेनजीले सडक विद्रोहमा उठाएका माग संस्थागत गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनलाई ‘जनआन्दोलन’ को रूपमा घोषणा गराउन उनीहरू सरकारसँग संवादमा छन् ।

‘हामी अहिले म्यान्डेटमा काम गरिरहेका छौँ । सरकारसँग सम्झौताको ड्राफ्ट तयार पारेका छौँ । आन्दोलनलाई संस्थागत गरेपछि मात्रै राजनीतिक हिसाबले कसरी अगाडि बढ्ने भन्ने टुङ्गो लाग्छ । चुनावमा जाने र हस्तक्षेप गर्ने कुरामा हामी प्रस्ट छौँ ।’

उनका अनुसार अहिलेको तयारी भोट माग्नका लागिमात्र होइन, युवाहरूको आवाजलाई नीति निर्माण तहमा पु¥याउने एउटा ठोस अभियान हो । सुदूरपश्चिमबाट जेनजीका उम्मेदवार हुन्छन् कि हुँदैनन् ? भन्ने प्रश्नमा साउदको जवाफ स्पष्ट छ– ‘हाम्रा उम्मेदवार हुन्छन् ।’

यद्यपि, नेपालको संविधानले संसदीय निर्वाचनमा उम्मेदवार बन्न २५ वर्ष उमेर पुग्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ, जसलाई जेनजीले २१ वर्षमा झार्नुपर्ने माग राख्दै आएको छ । ‘हामीले उमेर हदको विषय पनि सम्झौताको ड्राफ्टमा उठाएका छौँ । यदि संविधान संशोधन भएर २१ वर्ष कायम भयो भने धेरै नयाँ अनुहार आउनेछन् । यदि भएन भने पनि २५ देखि २८ वर्ष उमेर समूहका हाम्रा सशक्त साथीहरू चुनावी मैदानमा होमिनुहुन्छ,’ साउदले भने ।

नेपालको राजनीतिमा पुस्तान्तरणको बहस सधैँ चल्छ । बा–आमाको भोट परम्परागत दलबाट युवातर्फ कसरी डाइभर्ट गर्ने भन्ने चुनौतीलाई जेनजीले सहज रूपमा लिएको साउद बताउँछन् ।

‘यो देश बालुवाटार र सिंहदरबार कब्जा गरेर बस्नेहरूले लुटेका हुन् भन्ने कुरा हाम्रा बा–आमालाई राम्रोसँग थाहा छ । जसरी राणा शासन र राजाको पालामा जनताले परिवर्तन खोजेका थिए, अहिले पनि त्यस्तै अवस्था छ । पुराना दलहरूले देशलाई कङ्गाल बनाएको र आफूहरू लखेटिएको महसुस पुराना पुस्ताले गरिसकेका छन्,’ उनले भने ।

साउदका अनुसार सामाजिक सञ्जाल र सूचनाको पहुँचले गाउँ–गाउँका अभिभावक सचेत भइसकेका छन् । ‘जेनजीले बालुवाटार र सिंहदरबारबाट लुटेराहरूलाई लखेट्न खोजेको हो भन्ने कुरामा बा–आमाको पूर्ण समर्थन र विश्वास छ,’ उनले भने ।

सुदूरपश्चिम प्रदेशले देशलाई धेरै पटक प्रधानमन्त्री दियो । यहाँको विकासको गति भने सधैँ कछुवा चालमा रह्यो । संयोजक साउदका अनुसार सुदूरपश्चिमले राज्यबाट सधैँ ‘सौतेनी व्यवहार’ भोगिरहेको छ ।

‘पाँच पटक प्रधानमन्त्री पाएर पनि सुदूरपश्चिमले केही पाएन । यहाँ स्वास्थ्यको समस्या विकराल छ, भौतिक पूर्वाधारको अभाव छ, शिक्षा र यातायातको अवस्था दयनीय छ,’ साउदले भने ‘यहाँका शासकहरूले सत्तामात्रै भोग गरे, क्षेत्रको विकास गरेनन् । त्यसैले सुदूरपश्चिमलाई साँच्चिकै मूल प्रवाहमा ल्याउन अब नयाँ भिजन र जोस चाहिन्छ ।’

स्वास्थ्य मन्त्रालय धाउँदा र विकासका फाइल बोकेर हिँड्दाका तिता अनुभवहरूले युवाहरूलाई आफैँ नीति निर्माण तहमा पुग्नुपर्छ भन्ने पाठ सिकाएको साउद बताउँछन् । सुदूरपश्चिमका १६ वटा संघीय निर्वाचन क्षेत्रमा जेनजीले कस्तो रणनीति अपनाउँछ त ? साउदका अनुसार उनीहरू ‘ब्लाइन्डली’ (अन्धधुन्ध) उम्मेदवार उठाउने पक्षमा छैनन् । उनीहरूको मापदण्ड उमेरमात्र होइन, योग्यता, क्षमता र दक्षता हो ।

‘हामी १६ वटै क्षेत्रमा सक्षम, योग्य र भिजन भएका उम्मेदवार उठाउने प्रयास गर्छौं, तर यदि कुनै क्षेत्रमा हामी भन्दा योग्य र समाज रूपान्तरण गर्न सक्ने स्वतन्त्र वा वैकल्पिक शक्ति भेटिएमा उहाँहरूलाई समर्थन गर्न पनि हामी तयार छौँ,’ उनले भने ।

अहिले देशमा वैकल्पिक शक्तिहरू बिच पनि एकीकरण र सहकार्यको माहोल बनिरहेको छ । जेनजीले अन्य वैकल्पिक शक्तिहरूसँग सहकार्य र समन्वय गरिरहेको साउदले बताए । अन्तिममा ‘आन्दोलन’ लाई चुनावमार्फत संस्थागत गर्ने आफूहरूको योजना रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप