बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तर्वार्ता

‘घोषित मितिमा महाधिवेशन गर्न अत्यन्त चुनौतीपूर्ण छ’

विशेष महाधिवेशन हुने भए पार्टी नै विभाजन हुने स्थिति देखियो : डा. प्रकाशशरण महत
शुक्रबार, १९ मङ्सिर २०८२, १७ : ००
शुक्रबार, १९ मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेसले पुसको २५ देखि २८ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ।
  • प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनअघि महाधिवेशन गर्न नसकिने स्वीकार गर्दै सहमतिको कारण खुलाए।
  • संस्थापन समूहमा सभापतिको उम्मेदवार धेरै हुँदा मिलाउन कठिन भइरहेको र सहमति जुटाउने प्रयास जारी छ।
  • सभापतिको आग्रहलाई इन्कार गर्न नसकेर सम्भव हुन गाह्रो छ भन्ने जान्दाजान्दै पनि स्वीकार गरेका हौँ ।
  • नियमित महाधिवेशनको कार्यतालिका आइसकेपछि विशेष महाधिवेशनको कुनै औचित्य रहँदैन ।
  • संस्थापनबाट सभापतिमा धेरैको आकाङ्क्षा छ । योगदानको आधारले हेर्ने हो भने कसैलाई पनि अनुचित दाबी गरिस् भन्न नमिल्ने अवस्था छ ।

नेपाली कांग्रेसमा संस्थापन समूह र त्यसमा पनि सबैभन्दा बढी सात पूर्वपदाधिकारी (सात भाइ) फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने पक्षमा थिए । उनीहरूको अडानका कारण लामो समय अनिर्णीत बनेको केन्द्रीय कार्यसमिति बैठकले सोमबार पुसको २५ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय सर्वसम्मत रूपमा गरेको छ । 

सात भाइमध्येका एक पार्टी प्रवक्ता डा. प्रकाशशरण महत आफूहरूले सभापतिको आग्रह अस्वीकार गर्न नसकेर सहमति जनाए पनि घोषित मितिमा महाधिवेशन हुने सम्भावना अत्यन्तै गाह्रो रहेको बताउँछन् । ‘हामीले सभापतिको आग्रहलाई अस्वीकार नगरी सहमति गर्‍यौँ,’ प्रवक्ता डा. महत भन्छन्, ‘जे सुकै भए पनि एउटा भोलि अर्को पर्सि अधिवेशन गर्ने विषय व्यवहारिक हुन्न । त्यसरी महाधिवेशन गर्ने विषय  सम्भव हुन गाह्रो गाह्रो छ भन्ने जान्दाजान्दै पनि स्वीकार गरेका हौँ ।’ 

प्रवक्ता महतसँग रातोपाटीले निर्वाचन अगाडि महाधिवेशन गर्ने सहमति कसरी जुट्यो ? घोषित मितिमा महाधिवेशन गर्न सम्भव छ कि छैन ? नियमित महाधिवेशनको मितिपछि विशेष महाधिवेशन माग गरेको हस्ताक्षरको अवस्था के हुन्छ ? लगायत विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ डा. महतसँग गरिएको कुराकानीको सारसंक्षेप :    

  • गत सोमबार केन्द्रीय कार्यसमितिले पुसको २६ देखि २८ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यो भन्दा अगाडिसम्म तपाईँहरू पुसमा महाधिवेशन गर्न सकिँदैन, समयको चाप बढ्दो छ भन्दै हुनुहुन्थ्यो । अन्तिममा के विषयमा सहमति भयो र स्विकार्नुभयो ? 

पार्टीको १५ औ महाधिवेशन घोषित मिति पुसमा गर्न अहिले पनि चुनौतीपूर्ण छ भनेर हामीले भनिरहेका छौँ । हामीले दुई कारणले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्छ भनेका थियौँ । 

पहिलो कारण : समय यथेष्ट छैन । समय कम हुँदा सम्पूर्ण विधि प्रक्रिया पुर्‍याएर सबैको सहभागिता सुनिश्चित गरेर सुसूचित तरिकाले महाधिवेशन गर्न गाह्रो हुन्छ । हरेक तहमा निर्वाचन हुने भएपछि निर्वाचनभन्दा केही अगाडि उम्मेदवारी लिन चाहनेहरूले मतदाताहरूसँग सुसूचित हुने अवसर पनि पाउनुपर्‍यो । यो कारणले पनि आम निर्वाचन अगाडि पुसभित्रै गर्नुपर्ने माग मात्र हो । तर, सम्भव हुन गाह्रो छ । त्यसकारण हामीले निर्वाचनपछि महाधिवेशन गरौँ भनेका थियौँ । 

दोस्रो कारण : आम निर्वाचनको मुखमै महाधिवेशन गर्दा पार्टीभित्र जित्ने र हार्नेबिच केही तिक्तता अवश्य हुन्छ । कांग्रेसमा तल्लो तहदेखि माथिल्लो तहसम्म सात तह छन् । ५० औँ हजार मान्छेहरू त्यहाँ विभिन्न तहमा पदहरूमा उम्मेदवार हुन्छन् । पक्ष र विपक्ष बन्छ । हाम्रो पार्टीमा अन्य पार्टीको जस्तो तल्ला तहमा अधिवेशन पहिल्यै भएर केन्द्रको महाधिवेशन र महाधिवेशन प्रतिनिधिको मात्रै निर्वाचन हुने होइन । तल्लो तहदेखि माथिल्लो तहसम्म सबैमा एकैपटक अधिवेशन गर्नुपर्छ । त्यसले गर्दा आम निर्वाचनमा प्रतिकुल असर पर्छ । कार्यकर्ता पङ्क्तिको सम्पूर्ण ध्यान आम निर्वाचनमा भन्दा आन्तरिक प्रतिस्पर्धामा केन्द्रित हुन्छ । त्यो आन्तरिक प्रतिस्पर्धाको परिणामले तिक्तता बढाउँछ । तिक्तता बढेको अवस्थामा विद्रोह गर्ने, असहयोग गर्ने प्रवृत्ति बढ्छ । त्यस हुनाले हामीले निर्वाचनपछि महाधिवेशन गरौँ भनेका थियौँ ।

तर केही पदाधिकारीलगायत केही साथीहरूले आम निर्वाचन अगाडि नै महाधिवेशन गर्नुपर्छ नत्र विशेष महाधिवेशनमा जान्छौँ भन्ने अडान लिनुभयो । १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद सकिइसकेकाले विशेष महाधिवेशनको खासै अर्थ थिएन । तैपनि त्यो कुरामा उहाँहरूले जिद्दी गरिराख्नु भयो । र पार्टी सभापतिजीले ल भैगो, अब अल्पमत बहुमतबाट निर्णय हुने अवस्था आउने भयो । यो नगरौँ, निर्वाचन अगाडि नियमित महाधिवेशन गरौँ भन्नुभयो । 

विशेष महाधिवेशन हुने भएमा पार्टीभित्र पक्ष विपक्ष देखिँदा पार्टी नै विभाजन हुने खतरा पनि आउन सक्ने स्थिति देखियो । त्यसकारण बहुमत साथीहरूले माथि मैले उल्लेख गरेका आम निर्वाचन पछि गरौँ भन्ने दुइटा कारण देखाएर निर्वाचनपछि महाधिवेशन गरौँ भन्दाभन्दै पनि अब छोडिदिऊँ भनेर छोडेका हौँ । सम्भव भए होला, भएन भने आम निर्वाचनपछि हुन्छ भन्ने हिसाबले सहमति जुटेको हो । प्रस्ताव ठिक नभए पनि यो सहमतिको खातिर सहमति हो । हामीले सभापतिको आग्रहलाई अस्वीकार नगरी सहमति गर्‍यौँ । जे सुकै भए पनि एउटा भोलि अर्को पर्सि अधिवेशन गर्ने विषय व्यवहारिक हुन्न  त्यसरी महाधिवेशन गर्ने विषय सम्भव हुन गाह्रो छ भन्ने जान्दाजान्दै पनि स्वीकार गरेका हौँ । 

  • नियमित महाधिवेशनबारे केन्द्रीय कार्यसमिति बैठकबाट सर्वसम्मत निर्णय भइसकेपछि विशेष महाधिवेशनको प्रस्ताव निष्क्रिय भएको हो ?

नियमित महाधिवेशनको कार्यतालिका आइसकेपछि विशेष महाधिवेशनको कुनै औचित्य रहँदैन । हस्ताक्षर गर्ने साथीहरू धेरैले के आधारमा गर्नुभयो भन्ने आफै स्पष्ट हुनुहुन्न । धेरै सुसूचित भएर त्यो हस्ताक्षर आएको हैन । त्यसमा खास महाधिवेशन हुँदैन, महाधिवेशन गर्दै गर्दैनन्, पर सार्छन् भन्ने भ्रम फैलाउने कुराहरू सम्प्रेषण भएपछि त्यसको आधारमा महाधिवेशन होस् भन्ने हिसाबले  साथीहरूले हस्ताक्षर गर्नुभएको थियो । त्यो हुनाले यसको औचित्य छैन । 

  • तर, घोषित मितिमा नियमित भएन भने विशेष महाधिवेशन हुन्छ भनेर महामन्त्रीले नै बोलिरहनु भएको छ त ?

त्यो देखेर अहिले मलाई अचम्म पनि लागिरहेको छ । नियमित महाधिवेशन समयमा भएन भने फेरि विशेष महाधिवेशन हुन्छ भनेर पदाधिकारी साथीहरुले भनिरहेको मैले पनि सुनिरहेको छुँ । केन्द्रीय कार्यसमिति बैठकमा उहाँहरूको त के भनाइ थियो भने यो मिति अहिले तोकिदिऊँ, अब नहुने त हामीलाई पनि थाहा छ । वैशाख, जेठ, भदौसम्मको कुरा पनि केही तहमा उहाँहरूबाट आएको थियो । तर फेरि बाहिर कुरा आउँदा घोषित मितिमा सम्भव भएन भने विशेष महाधिवेशन हुन्छ भन्ने कुरा आइराख्छ । यो चाहिँ अलि कन्फ्युजन छ । 

सर्वसम्मत निर्णय भएको मिति पुसमा महाधिवेशन हुन्छ भन्नेमा तपाईँहरू विश्वस्त हुनुहुन्न ?

कर्णाली प्रदेशका सबै जिल्लातिर यो समयमा धेरै नै जाडो हुन्छ । यो भेगको हिमाली हिमाली क्षेत्रका सबै मान्छेहरू जाडो छल्न तल झर्छन् । क्रियाशील सदस्य बनाउन जाँदा त्यहाँ मान्छे भेटिन्नन् भन्ने अवस्था रहेको रिपोर्ट आइराख्या छ । यद्यपि हामीले अब निर्णय गर्‍यौँ ठिक भए पनि, बेठिक भए पनि । औचित्यपूर्ण भए पनि, नभए पनि हामीले कोसिस गर्ने हो । तर सबै व्यवहारिक पक्षलाई दृष्टिगत गर्ने हो भने घोषित मितिमा महाधिवेशन गर्न अत्यन्त चुनौतीपूर्ण छ ।

  • महाधिवेशन गर्ने नेतृत्व परिवर्तन गर्नका लागि हो । नेतृत्वका लागि सहमति जुटाउँछौँ भनेर तपाईँलगायत सात पूर्वपदाधिकारी बसिरहनुभएको थियो । सहमति जुटाइसक्नु भयो कि छलफलकै क्रममा छ ?

हामी सात पूर्वपदाधिकारीबिच छलफल भइरहेको छ तर उम्मेदवारीको बारेमा कुराकानी भइसकेको छैन । अब महाधिवेशनको मिति घोषणा भएको छ, हामी गर्छौँ । अरू विषयमा त कुरा भइरहेको छ । केन्द्रीय कार्यसमितिबाट पारित अधिवेशनको कार्यतालिकालाई कसरी कार्यान्वयन गर्ने, पार्टीमा क्रियाशील सदस्यताको संख्या कसरी बढाउने भन्ने विषयमा छलफल भइरहेको छ । महाधिवेशनका बारेमा सात पूर्वपदाधिकारी साथीहरूबिच मात्रै होइन, सबै साथीहरूसँग बारम्बार छलफल भइरहेको छ । अब उम्मेदवारीकै बारेमा चाहिँ निचोड निस्किसक्या छैन ।

  • सात पूर्वपदाधिकारी मध्यबाट सभापतिमा एक जनालाई अगाडि सार्ने कुराकानी भइरहेको थियो । तपाईँहरूले नै पत्रकारहरूसँग बताउनु भएको थियो । त्यस विषयमा छलफल, कुराकानी, केही अगाडि बढेको छ ?

कुराकानी भइसकेको छैन । हुन्छ, मिलेर अगाडि बढ्नेबारे हामी छलफलमै छौँ । 

  • महाधिवेशनमा सात भाइ मध्येबाट एक जनालाई उम्मेदवार बनाएर अघि बढ्ने सम्भावना कत्तिको छ ? 

सम्भावना रहन्छ नि । सबैजना उठ्ने मात्रै कुरा भएन । परिणाममुखी बनाउन हामी प्रयासरत छौँ ।

  • तपाईं संस्थापन निकट नेता हुनुहुन्छ । संस्थापनमा सभापतिका उम्मेदवार धेरै भएर मिलाउन कठिन भइरहेको छ भन्ने कुरा आइरहेको छ ? 

समस्या नै संस्थापनमै धेरै नेता सिनियर नेता भएर, भइरहेको छ । योगदानको आधारले हेर्ने हो भने कसैलाई पनि अनुचित दाबी गरिस् भन्न नमिल्ने अवस्था छ । तर अब व्यवहारिकता हेर्दै सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने अवस्था छ । सबैले  म नै हुन्छु भनेर परिणाम आउँदैन । तसर्थ मिल्ने र मिलाउने प्रयास भइरहेको छ ।  

  •  हामीले १५ औँ महाधिवेशनमा संस्थापनबाट सभापतिको एक जनामात्रै उम्मेदवार हुन्छन् भन्न सकिन्छ ? 

हामी मिलाउने प्रयासमा छौँ । मिलेर अगाडि जाने सम्भावना जीवितै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप