बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

३ उम्मेदवारका लागि कास्की कांग्रेसमा ६८ जना आकाङ्क्षी

मङ्गलबार, २३ मङ्सिर २०८२, ०८ : २९
मङ्गलबार, २३ मङ्सिर २०८२

सारांश

  • कास्की कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गर्दैछ।
  • प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका लागि कास्कीका विभिन्न क्षेत्रबाट ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
  • क्षेत्रीय समितिहरूले सहमतिबाट नाम सिफारिस गर्ने जनाएका छन्, सहमति नभए आन्तरिक प्रतिस्पर्धा हुनेछ।

पोखरा ।आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि कास्की कांग्रेसले उम्मेदवार खोजी गरिरहेको छ । केन्द्रीय परिपत्र अनुसार प्रत्येक क्षेत्रबाट प्रत्यक्ष निर्वाचनमा आकाङ्क्षी देखाउनेहरू ३ जनाको नाम पठाउनुपर्छ । कास्की कांग्रेसका तीनवटै क्षेत्रको समितिमा उम्मेदवार बन्न चाहनेहरूले नाम टिपाएका छन् । 

तीन निर्वाचन क्षेत्रबाट ६८ जना आकाङ्क्षीले प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभामा उम्मेदवार बनाउन नाम लेखाएका छन् । क्षेत्रले महिला सहित प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभामा ३-३ जनाको नाम पठाउने छ ।

आकाङ्क्षीहरूबिच संवाद र छलफलबाट सहमतिमै ३ जनाको नाम सिफारिस गर्ने क्षेत्रीय समितिहरूले जनाएका छन् । तर, सहमतिमा नाम नटुङ्गिए आन्तरिक प्रतिस्पर्धाबाट नाम छनोट हुने कास्की १ का सचिव सरोज केसीले बताए । ‘आकाङ्क्षीहरूबिच निरन्तर संवाद भइरहेको छ । भेला राखेका छौँ, सहमति गर्नुस् भनेका छौँ,’ उनले भने, ‘सहमति भएन भने आन्तरिक प्रतिस्पर्धा हुन्छ । हामी केन्द्रीय परिपत्र भन्दा बाहिर गएर उम्मेदवारको नाम सिफारिस गर्दैनौँ ।’ केन्द्रले ३ जनाभन्दा बढी नाम पठाए प्रक्रियामै सहभागी नगराउने चेतावनी दिएको उनले बताए ।

आकाङ्क्षीहरूबाट क्षेत्र नम्बर १ र २ ले प्रतिव्यक्ति १० हजार शुल्क लिएको छ भने ३ ले ५ हजारका दरले शुल्क उठाएको छ । क्षेत्र नम्बर १ मा १२ जना प्रत्यक्ष र ८ समानुपातिक गरी २० जना, २ बाट १२ जना प्रत्यक्ष र ७ समानुपातिक गरी १९ जना र ३ बाट १६ प्रत्यक्ष र १३ समानुपातिक गरी २९ जनाको नाम सङ्कलन भएको छ । कास्की १ मा प्रत्यक्ष तर्फ जीवन परियार, गुरु बराल, कृष्णबहादुर केसी, भानु ढकाल, तिलक रानाभाट, सुदिप मोहन भट्टराई, प्रेम सुवेदी, पुष्पमणि भण्डारी, अप्सरा श्रेष्ठ, बुद्धिमान गुरुङ, गिरीराज गौतम र सोभिता कार्कीले नाम टिपाएका छन् ।

यसअघि निर्वाचन लडेर पराजित भएका जिल्ला सभापति किशोरदत्त बराल भने प्रतिस्पर्धाको रेसबाटै बाहिरिएका छन् । यो क्षेत्रमा समानुपातिक तर्फ संज्ञा पोखरेल, कोपिला रानाभाट, दुर्गा लामिछाने, निशा मल्ल ठकुरी, इन्द्रमाया बानियाँ, लालकृष्ण शर्मा भट्टराई, लोककुमारी गुरुङ र खलिल मियाले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर २ मा प्रत्यक्षका लागि ऋषिराम काफ्ले, वीरेन्द्रनारायण बिजुक्छे, माधवप्रसाद बास्तोला ‘मधु’, माइकल कर्माचार्य, सिरोज विजय कोइराला, ई। सिरस बास्तोला, लक्ष्मी पाण्डे, राजेन्द्र बराल, लक्ष्मी कार्की, गुरुप्रसाद बराल, किरण केसी, निर्दोष विक्रम पौडेल र देवराज गुरुङ छन् । यसअघि निर्वाचनमा सहभागी भएर पराजित देवराज चालिसेपनि प्रतिस्पर्धाबाट बाहिर छन् ।

केन्द्रीय सदस्य गुरुप्रसाद बरालले क्षेत्र नम्बर १ र २ दुबैबाट उम्मेदवार बन्न नाम टिपाएका छन् । समानुपातिकमा रङ्गीला आचार्य, उमा ठकुरी, शान्ति कुमारी गुरुङ, शोभाचन्द्र बराल र शकुन्तला कोइराला छन् । कास्की क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ मनोज गुरुङ, देवेन्द्र केसी, विजय गुरुङ, मोहदत्त पोखरेल, धर्मराज अधिकारी, सिता गुरुङ, डा। कृष्ण प्रसाद पौडेल, खिमलाल बास्तोला, रामचन्द्र त्रिपाठी, दुर्गा तिमिल्सिना, ठाकुर बराल, जीवन प्रसाद बास्तोला, भेषराज पराजुली, रामप्रसाद अधिकारी, यामकृष्ण पौडेल र लक्ष्मी प्रसाद पौडेल छन् । समानुपातिकतर्फ कृष्ण कुमारी परियार, कमला बिन्दु बराल, विजया लक्ष्मी कोइराला, सिता शर्मा, पार्वतीदेवी कोइराला, आइबहादुर गुरुङ, प्रभा सुबेदी, पशुपति भट्टराई, शारदा पौडेल, देवन्द्र कुमार शेरचन, जित बहादुर गुरुङ, मन बहादुर विश्वकर्मा र भीम बहादुर गुरुङले नाम टिपाएका हुन् । कास्कीबाट राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार छनोट भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप