नेतृत्वविहीन बने क्यानका तीन संवेदनशील विभाग, कसरी हुँदै छ व्यवस्थापन ?
सारांश
- अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका तीन महत्त्वपूर्ण विभाग खाली भएका छन्।
- संस्थागत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध विमानस्थलका प्रमुखहरू निलम्बनमा परेका छन्।
- त्रिभुवन विमानस्थलको प्रमुखका लागि सरुवा गर्ने तयारी र अन्य ठाउँमा निमित्त तोक्ने छलफल भइरहेको छ।
काठमाडौँ । यतिबेला नेपाल नागरिक उड्डयन प्राधिकरण अस्तव्यस्त बनेको छ । उच्च कर्मचारीविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै प्राधिकरणको निर्देशनालय स्तरका महत्त्वपूर्ण तीन विभागहरू खाली भएको हो ।
अहिले प्राधिकरण अन्तर्गतको संस्थागत निर्देशनालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा रहेको कर्मचारीहरू निलम्बित अवस्थामा छन् । संस्थागत निर्देशनालयमा रहेका प्रतापबाबु तिवारी, त्रिभुवन विमानस्थलका प्रमुख हंसराज पाण्डे र भैरहवा विमानस्थलका प्रमुख बाबुराम पौडेल हाल निलम्बित अवस्थामा रहेका हुन् ।
अख्तियारले उनीहरूविरुद्ध सोमबार मुद्दा दर्ता गरेको थियो । आज चार दिन भइसक्दा पनि रिक्त स्थानमा कसैलाई पनि जिम्मेवारी दिइएको छैन । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल संस्थागत निर्णय भएर रिक्त भएका कुनै पनि स्थानमा अहिलेसम्म निमित्त प्रमुख नतोकिएको बताउँछन् । यद्यपि छिटै नै यसबारे निर्णय हुनसक्ने उनको भनाइ छ ।
‘कुनै पनि विभाग रिक्त हुँदा त्यहाँको सिनियर कर्मचारीले तत्कालको काम गर्ने प्रचलन प्राधिकरणभित्र छ, त्यही अनुसार रिक्त भएका सबै कार्यालयमा काम भइरहेकै छ,’ भूल भन्छन्, ‘तर, महानिर्देशक स्तरबाट निर्णय भएर कार्यवाहक तोकिएको अवस्थाचाहिँ अहिलेसम्म छैन ।’
यसअघि अघिल्लो बुधबार अख्तियारले नलिनचोक हेलिप्याड निर्माणको अनियमिततामा संलग्न भएको भन्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पक्राउ गरी मुद्दा समेत चलाएको थियो । त्यसपछि रिक्त रहेको स्थानमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई तथा उड्डयन महाशाखाका प्रमुख मुकेश डंगोललाई जिम्मेवारी दिइएको थियो ।
अख्तियारले मुद्दा दायर गरेकै दिन अर्थात् सोमबार नै डंगोलले पदभार ग्रहण गरे पनि अहिलेसम्म रिक्त स्थानको व्यवस्थापनबारे कुनै निर्णय नगरेका हुन् । यद्यपि रिक्त स्थानको व्यवस्थापनबारे छलफल भइरहेको भन्दै आजभोलिमै निर्णय हुनसक्ने प्राधिकरण स्रोतले जनाएको छ ।
यसरी हुँदै छ व्यवस्थापन
बाह्रौं तहमा रहेका तीन जनाको निलम्बित अवस्थामा पुगेपछि तत्कालको लागि त्यसभन्दा तलको वरिष्ठतम् कर्मचारीलाई नै निमित्तको जिम्मेवारी दिने तयारी गरिएको छ । यद्यपि त्रिभुवन विमानस्थलको प्रमुखका लागि भने सरुवा गरेर व्यवस्थापन गर्ने तयारी गरिएको प्राधिकरणका एक अधिकारी बताउँछन् ।
‘प्राधिकरणका बाह्रौं तहको नेतृत्व भएकामध्ये सबैभन्दा महत्त्वपूर्ण ठाउँ भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । त्यसैले यो ठाउँमा सरुवा गरेर व्यवस्थापन हुन सक्छ,’ प्राधिकरणका एक अधिकारी भन्छन्, ‘बाँकी ठाउँमा चाहिँ निमित्त तोक्नेगरी छलफल भइरहेको छ ।’
को बन्ला त्रिभुवन विमानस्थल प्रमुख ?
प्राधिकरणका उच्च कर्मचारीमध्ये १२औँ तहका ६ जनाको दरबन्दी रहेको छ । त्यसमध्ये तीन जना अहिले निलम्बित अवस्थामा छन् । योसँगै उपमहानिर्देशकहरू प्रमेनाथ ठाकुर, देवचन्द्र लाल कर्ण र पोखरा विमानस्थका प्रमुद जगन्नाथ निरौला क्रियाशील छन् । त्यसमध्ये एक जनालाई त्रिभुवन विमानस्थलको प्रमुख तोकिने देखिन्छ ।
त्यसमध्ये पनि निरौलाको सम्भावना बढी रहेको प्राधिकरण स्रोतको भनाइ छ । निरौला यसअघि पनि उक्त विमानस्थलको प्रमुखको रूपमा कार्यरत थिए, चैत अन्तिम साता उनको नियमित सरुवा गरेर पोखरा एयरपोर्ट पठाइएको थियो । पोखरामा अन्तर्राष्ट्रिय उडानहरू धेरै नरहेको अवस्था र आन्तरिक उडान तथा नियमित गतिविधिका लागि उच्च स्तरको कर्मचारी आवश्यक नभएकोले पोखरालाई रिक्त राखेर काठमाडौँमा ल्याउने तयारी रहेको देखिन्छ ।
काठमाडौं विमानस्थलको प्रमुखलाई शक्तिशाली स्थान समेत मानिन्छ । केन्द्रीय कार्यालयमा रहेकाहरू समेत टीआईएमा जान रुचाइरहेको हुन्छन् । यस्तो अवस्थामा उनलाई टीआईएमा सरुवा गर्ने सम्भावना रहेको ती अधिकारीहरू बताउँछन् ।
त्यसो त अधिकारीको निलम्बनपछि निरौलाको नाम समेत निमित्त महानिर्देशकका लागि चर्चामा आएको थियो । तर, पछि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रालयकै सम्बन्धित विभागका प्रमुखलाई प्राधिकरणको समेत जिम्मेवारी दिनेगरी तोकिदिएकी थिइन् ।
त्यसो त अहिले त्रिभुवन विमानस्थलमा जान देवचन्द्रलाल कर्णको समेत रुचि देखिन्छ । माघ १५ गतेदेखि रिक्त हुन लागेको महानिर्देशक पदमा आकांक्षी रहेका उनी त्यसअघि अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वको अनुभव लिन चाहन्छन् । अहिलेसम्म उनले कुनै पनि कार्यालयको प्रमुख भएर काम गरेको अनुभव नभएकोले पनि उनलाई यो अपरिहार्य छ ।
ठाकुर भने यसअघि २०७७ देखि २०७९ सम्म विमानस्थलको प्रमुख भइसकेका व्यक्ति हुन् । प्रमुख हुँदा थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग रकम मागको अडियो सार्वजनिक भएसँगै उनी निलम्बित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण