शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
ठगीधन्दा

पूर्वराजाको नाममा ठगी : ज्ञानेश्वरमा भव्य कार्यालय खोलेर बेलायतको सपना

६९ जनाबाट करिब ६ करोड ठगेको उजुरी
सोमबार, २९ मङ्सिर २०८२, १६ : ००
सोमबार, २९ मङ्सिर २०८२

सारांश

  • अनुप सिंह, जसले आफूलाई पूर्वराजाको भान्जा बताउँदै विभिन्न व्यक्तिहरूलाई ठगी गरेका थिए, फेरि पक्राउ परेका छन्।
  • उनले बेलायतमा होटलमा काम लगाइदिने भन्दै रकम असुलेका थिए, जसमा ६९ जनाले उजुरी दिएका छन् र ६ करोडभन्दा बढी ठगी भएको अनुमान छ।
  • सिंहले यसअघि पनि नर्स पठाउने र अमेरिका पठाउने सपना देखाएर ठगी गरेका थिए, र उनलाई झापाबाट पक्राउ गरिएको हो।

काठमाडौँ । अनुप सिंह उर्फ मनोज कुमार ठगीका पर्यायवाचीजस्तै बनेका छन् ।

गत वर्ष खेलाडीलाई सहयोग गर्ने 'प्याकेज' लिएर हेलिकप्टर चढी पोखरा पुगेका सिंह असनमा घर भए पनि हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा बस्ने गरेका छन् । उनले खेलाडीहरूलाई कपडा वितरण गरेपछि भने, 'म पूर्वराजाको भान्जा हुँ, यूकेमा हिमानी ट्रस्टले अस्पताल बनाउँदै छ, त्यहाँ केही नर्सहरू पठाउनुपर्ने छ ।' 

खेल क्षेत्रका अधिकारीहरूले बेलायतमा नर्स पठाउने कुरालाई अवसरका रूपमा लिए । अनुपले भने, 'तपाईंहरूलाई केही कोटा दिन्छु ।'

त्यसपछि सबैले आफ्ना नजिकका नर्सहरूलाई पठाउन भन्दै अग्रिम ५ देखि ७ लाख रुपैयाँ बुझाए । रकम लिएपछि सिंह सम्पर्कमा आएनन् । प्रहरीमा उजुरी परेपछि २०८१ मा अनुप पक्राउ परे । नर्स पठाउँछु भनेर लिएको रकम उनले फिर्ता गरे । तर उनीविरुद्ध त्यसअघि नै जिल्ला प्रहरी परिसर ललितपुरमा अर्को मुद्दा दर्ता भइसकेको थियो । पश्चिम रुकुमको बाफिकोट घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा बस्दै आएका शुभद्रा दाहाल र नम्रता केसीलाई 'अमेरिकाको सपना' देखाएर ठगी गरेको मुद्दामा २०८१ चैतमा अनुप जेल परे । 

जेलबाट छुटेपछि फेरि ठगीधन्दा सुरु गरेका सिंहविरुद्ध प्रहरी युनिटहरूमा ७ वटा कसुर दर्ता भएको भेटिएको छ । यसपटक बेलायतमा पूर्व राजपरिवारको लगानीमा सञ्चालनमा आउन लागेको ड्रिमल्यान्ड होटलका लागि कामदार पठाउने भन्दै ठगीधन्दा चलाएपछि उनी पक्राउ परेका हुन् । सिंहलाई मंसिर २५ मा भारत भाग्दै गरेको अवस्थामा झापाको धुलाबारीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताएका छन् । 

सिन्धुलीको घ्याङलेक गाउँपालिकाका–३ वटा वडाका पीडितहरूलाई सिंहले बेलायतमा निर्माण सम्पन्न भएको ड्रिमल्यान्ड होटलमा काम गर्न पठाउँछु भनेर रकम ठगेका हुन् । उक्त होटलमा नेपालका पूर्वराजपरिवारको लगानी रहेको सिंहले बताएपछि पीडितहरूले उनलाई रकम बुझाएको अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी शिवराज बुढाथोकीले रातोपाटीलाई बताए । 

बेलायतको म्यानचेस्टर सिटीमा अवस्थित होटल ड्रिमल्यान्डमा काम गर्ने सपना बेचेर उनले ठगीधन्दा चलाएका हुन् । काठमाडौँको ज्ञानेश्वरमा उनले भव्य कार्यालय सञ्चालन गरेका छन् । कार्यालयमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको फोटो राखिएको भेटिएको छ । महाबज्रयोगिनी इम्पोर्ट एक्सपोर्टको बोर्ड राखिएको सो कार्यालय पुगेपछि पीडितहरूले अनुपलाई विश्वास गर्ने गरेको एसपी आचार्यले बताए । उनले भने, 'आकर्षक कार्यालयलाई पनि उनले ठग्ने माध्यम बनाएको देखिन्छ ।' 

योजनाबद्ध रूपमा ठगीधन्दा चलाएका अनुपले आफूले रकम लिँदा नगदमा लिन्छन् । बैंकिङ कारोबार गर्नुपरे उनले दोलखा घर भएका लड्डु श्रेष्ठको खाता प्रयोग गर्ने गरेका थिए । उनको सहयोगीका रूपमा काम गर्ने श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

६९ जनाले दिए उजुरी

अनुपविरुद्ध अहिलेसम्म ६९ जना पीडितहरूले उजुरी दिएका छन् । पीडितहरूले दाबी गरेअनुसार अहिलेसम्म उनले ६ करोडभन्दा धेरै ठगेको देखिएको छ । बेलायत र अमेरिका पठाउने सपना देखाएर उनले पीडितहरूसँग ६ लाखदेखि १८ लाखसम्म रकम असुलेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । 

पीडितहरूलाई विश्वासमा पार्न अनुपले बेलायतको होटल ड्रिमल्यान्ड र रोयल बिजनेस टिमबिच भएको सम्झौता देखाउँथे । अनुपले रोयल बिजनेस टिम पूर्वराजाको भएको पीडितहरूसँग दाबी गर्ने गरेका छन् । सो कम्पनीबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ज्ञानेश्वरको कार्यालयलाई उनले रोयल बिजनेस टिमको नेपालको शाखा कार्यालय भनेर भन्ने गरेको एसपी आचार्यले बताए । ५१ वर्षीय सिंह अहिले दोस्रो पटक पक्राउ परेका हुन् । 

आरोपीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । ज्ञानेश्वरमा सञ्चालन गरेको कार्यालयबाट प्रहरीले सरकारी छाप र बेलायतको नक्कली भिसा पनि बरामद गरेको छ । 

यो पनि 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप