कर्णालीमा कांग्रेसको उम्मेदवार सिफारिसमा गुटगत विवाद, पुरानाहरूकै हालीमुहाली !
सारांश
- नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समयसीमा तोकेको थियो।
- कर्णालीमा पार्टीभित्रको गुटगत राजनीतिका कारण उम्मेदवार सिफारिसमा विवाद देखिएको छ, पुरानै नेताहरूको दबदबा छ।
- कालिकोट, सल्यान, रुकुम पश्चिम र अन्य जिल्लाहरूमा पनि गुटगत विवादका कारण उम्मेदवार छनोटमा समस्या आएको छ।
सुर्खेत । नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य पदको निर्वाचन केन्द्रित उम्मेदवार चयनका लागि आइतबारसम्मको समयसीमा तोकेको थियो । मंसिर २६ गतेसम्म जिल्लाबाट प्रदेश कमिटीमा र २८ गतेसम्म प्रदेशले उम्मेदवारहरूको नाम केन्द्रमा पठाइसक्ने परिपत्र थियो ।
कर्णालीमा भने पार्टीभित्रको गुटगत राजनीतिका कारण उम्मेदवारको सिफारिसमा जताततै विवाद देखिएको छ । कतै केन्द्रको निर्देशन विपरीत प्रदेश सांसदलाई उम्मेदवारमा सिफारिस गरिएको छ भने कतै एकलौटी निर्णय गरिएको गुनासो छ ।
केन्द्रमा संस्थापन (शेरबहादुर देउवा) र इतर पक्ष (शेखर–गगन) भनेजस्तै कर्णालीमा संस्थापनको नेतृत्व पार्टीका वर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्छन् भने इतर पक्षको नेतृत्व हृदयराम थानी, भूपेन्द्रजंग शाहीहरूले गर्दै आएका छन् । उम्मेदवार छनोटमा अहिले यी गुटहरूबिच निकै रस्साकस्सी चल्यो ।
भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि अहिले हरेक राजनीतिक दलहरूमा युवाहरू अगाडि आउनुपर्ने आवाज उठिरहेको छ, तर कर्णालीमा कांग्रेस उम्मेदवार बन्ने लहरमा अधिकांश पुरानै, पटक–पटक सांसद भइसकेका र ‘फेलियर’ नेताहरूकै दबदबा देखिएको छ । यसअघि कर्णालीबाट प्रतिनिधि सभा सदस्य रहेका अधिकांश कांग्रेस नेताहरूको नाम पुनः सिफारिसमा परेको छ ।
१० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई–दुई वटा निर्वाचन क्षेत्र छन् । नेताहरूका अनुसार, सुर्खेत–१ र डोल्पा बाहेक अन्य निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस विवादमुक्त छैन । जसका कारण एउटै निर्वाचन क्षेत्रको उम्मेदवारमा थुप्रै नेताको नाम सिफारिस भएका छन् । डोल्पामा प्रत्यक्षतर्फ कर्णबहादुर बुढा (अहिले दुवै पक्षको नजिक) को नाम एकल सिफारिस गरिएको छ ।
यस्तै, सुर्खेत–१ मा कार्यवाहक सभापति पुर्णबहादुर खड्काको नाम प्रतिनिधि सभा प्रत्यक्षतर्फ एकल सिफारिस भएको छ । उक्त क्षेत्रमा खड्काको नाममा सर्वसम्मत जुटेकाले एकल नाम सिफारिस गरिएको कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदी बताउँछन् । तर, सुर्खेतकै क्षेत्र नम्बर २ बाट भने ६ जनाको नाम सिफारिस भएको छ, जसमा निवर्तमान सांसद एवं कर्णालीको इतर पक्षका नेतृत्वकर्ता हृदयराम थानीसहित उपेन्द्रबहादुर थापा, कमल खत्री, नारायण कोइराला, भीष्म हमाल र बसन्ती बस्नेतको नाम सिफारिस भएको छ ।
यी ६ मध्ये खत्रीबाहेक सबै इतर पक्षकै हुन् । नेता थानीले आफ्नै निर्वाचन क्षेत्रमै एकल उम्मेदवार बनाएर सिफारिस गर्न सकेनन् । ‘सम्भावित भनेका थानी र युवा नेता कोइराला हुन्,’ एक नेताले भने, ‘अरुले यसो चर्चाका लागि नाम हालेका हुन् ।’
दुई वटै निर्वाचन क्षेत्र रहेको दैलेखमा उम्मेदवारको टुङ्गो लगाउन निकै रस्साकस्सी नै चल्यो । मंसिर २४ गते नै दुवै निर्वाचन क्षेत्रको बैठक बसे पनि आइतबारसम्म एक/एक नाममा सहमति जुट्न सकेन, जसका कारण दुई निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ नै २० जनाको नाम सिफारिस गरिएको कांग्रेस जिल्ला सचिव नारायण रेग्मीले बताए ।
थानी यसअघि पटक–पटक संसदीय राजनीतिमा ‘टेस्ट’ भइसकेका र एक पटक मन्त्रीसमेत भइसकेका पुराना नेता हुन् । नारायण कोइराला युवाहरूबिच लोकप्रिय र युवा नेता भएकाले अहिले उनको चर्चा बढेको छ ।
दुई वटै निर्वाचन क्षेत्र रहेको दैलेखमा उम्मेदवारको टुङ्गो लगाउन निकै रस्साकस्सी नै चल्यो । मंसिर २४ गते नै दुवै निर्वाचन क्षेत्रको बैठक बसे पनि आइतबारसम्म एक/एक नाममा सहमति जुट्न सकेन, जसका कारण दुई निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ नै २० जनाको नाम सिफारिस गरिएको कांग्रेस जिल्ला सचिव नारायण रेग्मीले बताए ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १३ र क्षेत्र नम्बर २ बाट ७ जनाको नाम सिफारिस गरिएको छ, जसमा अधिकांश पुरानै नेताहरूको दबदबा छ । अर्का एक नेताका अनुसार, दुई पक्षबिच कुरा नमिल्दा यो समस्या आएको हो ।
दैलेखमा अहिले पार्टी नेतृत्व इतर पक्षको छ । क्षेत्र नम्बर १ बाट खेमराज ओली, खेमराज केसी, गणेश प्रसाद उपाध्याय, देवेन्द्र बहादुर थापा क्षेत्री, नगेन्द्र बहादुर मल्ल, नरसिंह मल्ल, पदम बहादुर मल्ल, बखत बहादुर कटुवाल, भुपेन्द्र शाही, मणिराम रेग्मी, मनोज कुमार थापा, सुशील देउजा र बासना थापाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ ।
सिफारिस भएकामध्ये केही पालिकाको नेतृत्व लिइसकेका छन् भने कोही पत्रकार छन् । यस्तै वर्तमान पार्टीका जिल्ला सभापति मणिराम रेग्मी स्वयं पनि उम्मेदवार सिफारिस भएका छन् । यहाँ संघीयतापछिका चुनावमा कांग्रेसले जित्न सकेको छैन । यहाँ समानुपातिकतर्फ ८ र राष्ट्रिय सभाका लागि ५ जनाको नाम सिफारिस गरिएको छ ।
यस्तै इतर पक्षको बाहुल्यता भएको दैलेख–२ मा थानी पक्षकै यसअघिका सांसदहरू पुनः सिफारिस भएका छन् । ७ जनामध्ये यसअघि ०७९ को चुनावमा प्रत्यक्षतर्फ जितेका दिक्पालकुमार शाही र समानुपातिकतर्फ सांसद बनेकी सीताकुमारी रानाको नाम पनि पुनः प्रत्यक्षतर्फ सिफारिस गरिएको छ । जबकि यहाँ युवा र आशालाग्दा अनुहारहरूलाई पाखा लगाइएको छ ।
दिक्पालकुमार शाही ठेकदार पृष्ठभूमिका हुन् भने रानाले पनि यसअघि खासै ‘परफर्मेन्स’ देखाउन नसकेको भन्दै आलोचित हुँदै आएकी छन् । शाही इतर र राना संस्थापन समूहकी हुन् । उनीहरू बाहेक एकेन्द्र बहादुर पन्त, नारायण प्रसाद रेग्मी, मधुर विक्रम खनाल, रञ्जना कुमारी शाही, लोकेश प्रसाद आचार्य पनि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् ।
यो क्षेत्रबाट समानुपातिकतर्फ ६ र राष्ट्रिय सभाका लागि ५ जनाको नाम सिफारिस भएको छ । यो क्षेत्रबाट राष्ट्रिय सभातर्फ नाम सिफारिस गरिएका अधिकांश वयोवृद्ध र पूर्वसांसदमात्रै छन् । रंगबहादुर शाही, शिवराज जोशी, हिमबहादुर शाही निकै पुराना र सांसद भइसकेका नेताहरू हुन् ।
कालिकोटमा दुई समूहका छुट्टाछुट्टै उम्मेदवार
एउटामात्रै निर्वाचन क्षेत्र रहेको कालिकोटमा तीन दिनसम्म दुई पक्षबिच कुरा नमिलेपछि दुवै समूहले छुट्टाछुट्टै उम्मेदवारको नाम सिफारिस गरेका छन्, जसका कारण कार्यकर्ताहरूले पार्टीभित्रको नाङ्गो नाच बाहिर आएको भन्दै व्यङ्ग्य गरिरहेका छन् ।
यहाँ कांग्रेसका जिल्ला सभापति अम्बबहादुर शाही र उपसभापति मीनबहादुर बोगटीले उम्मेदवार सिफारिसको फरक–फरक सूची पठाएका छन् । संस्थापन इतर पक्षधर मानिने जिल्ला सभापति शाहीको हस्ताक्षर रहेको पत्रमा मंसिर २४ र २६ गते बसेको बैठकको निर्णय भन्दै उम्मेदवार सिफारिस गरिएको छ ।
रातोपाटीलाई प्राप्त विवरण अनुसार २६ गते जिल्ला सभापति शाहीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयको अन्तिममा उपसभापति लगायतले असहमति राखेका थिए । कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही यो विषयमा छलफल भइरहेको बताउँछन् ।
सभापति शाहीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ युवा नेता भूपेन्द्रजंग शाहीका साथै स्वयं आफ्नो र सीता रावलको नाम सिफारिस गरेका छन् । भूपेन्द्रजंग यसअघि दुई पटक उम्मेदवार बनेर पराजित भए पनि युवा नेता भएकाले उनको पहुँच कालिकोटमा मात्रै होइन देशभर बलियो छ । उनी एक पटक संसदीय राजनीतिमा छिरेर केही गर्न चाहन्छन् । अधिकांश युवाको नजर पनि उनीतिरै छ ।
यता केन्द्रमा संस्थापन पक्षधर मानिने जिल्ला उपसभापति बोगटीले भने जिल्ला कार्यसमितिको शनिबारको सर्वसम्मत निर्णय भन्दै प्रतिनिधि सभा सदस्यतर्फ (प्रत्यक्ष) हर्षबहादुर बम, नारायण प्रसाद भट्टराई, दमनराज बम, केशर जंग बम र जीवन सुवेदीको नाम सिफारिस गरेका छन् । जिल्ला नेतृत्व नै दुई ध्रुवमा बाँडिएर आ–आफ्नै अनुकूलका उम्मेदवार सिफारिस गरेपछि कालिकोट कांग्रेसका कार्यकर्ताहरूमा अन्योल छाएको छ ।
रातोपाटीलाई प्राप्त विवरण अनुसार २६ गते जिल्ला सभापति शाहीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयको अन्तिममा उपसभापति लगायतले असहमति राखेका थिए । कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही यो विषयमा छलफल भइरहेको बताउँछन् ।
सल्यान र रुकुममा उस्तै गुटगत विवाद
उता सल्यान र रुकुम पश्चिममा पनि गुटगत विवाद छ । यहाँ जिल्ला नेतृत्वमा रहेकाहरूले कार्यकर्ताको मनोभावना विपरीत एकलौटी उम्मेदवारका नाम सिफारिस गरेको भन्दै विरोध भएको छ ।
कांग्रेस सल्यानले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ६, समानुपातिकतर्फ ९ र राष्ट्रिय सभातर्फ १ जनाको नाम मंसिर २४ गते नै सिफारिस गर्यो । यहाँ प्रतिनिधि सभा प्रत्यक्षतर्फ केशबहादुर विष्ट (जिल्ला सभापति), सन्तोष केसी (उपसभापति), एकराज डाँगी, मानबहादुर डाँगी, दिपेन्द्र कुमार खत्री र सुरेश चन्दको नाम सिफारिस गरिएको छ । यद्यपि यहाँ पार्टी विधान र केन्द्रीय निर्देशनविपरीत अपारदर्शी र मनोमानी ढंगले सिफारिस गरेको भन्दै कांग्रेसका वित्तीय संस्था समन्वय विभागका सदस्य तथा महाधिवेशन प्रतिनिधि दिलमान चन्द लगायतका नेताहरूले विरोध जनाएका छन् ।
चन्दका अनुसार, आवश्यक संख्यामा प्रदेश तथा महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति सुनिश्चित नगरिनु, प्रतिनिधि सभा, राष्ट्रिय सभा र समानुपातिकतर्फ एक महिलासहित तीन जना सिफारिस गर्नुपर्ने प्रावधानको बेवास्ता हुनु तथा कोरम नपुगेको अवस्थामै पदाधिकारीहरूले मनलाग्दी निर्णय गर्नुजस्ता कारणले पार्टीभित्र गम्भीर असन्तुष्टि उत्पन्न भएको छ ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ वर्तमान जिल्ला सभापति प्रेमप्रकाश ओली र नेता गोपालजी जंग शाहको नाम सिफारिस गरिएको छ । यो सिफारिसप्रति महामन्त्री गगन थापा समूहका नेताहरूले असहमति जनाएका छन् ।
उनले जिल्ला कार्यसमितिद्वारा गरिएको मनोमानी निर्णयबारे नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमिति र केन्द्रीय कार्यालयमा लिखित रूपमा औपचारिक जानकारी गराउने तयारी भइरहेको बताए । चन्द, त्रिपुरा शाह, डिल्लीराज रेग्मी, भूपेन्द्र खत्री, मित्रलाल सार्की लगायतका जिल्लामा परिचित नेताहरूको नाम सिफारिसमा समावेश छैन ।
रुकुम पश्चिममा ६ दिनसम्म रस्साकस्सी चले पनि विवाद साम्य नभएपछि संस्थापन पक्षका नेताहरूले एकलौटी नाम सिफारिस गरेका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ वर्तमान जिल्ला सभापति प्रेमप्रकाश ओली र नेता गोपालजी जंग शाहको नाम सिफारिस गरिएको छ । यो सिफारिसप्रति महामन्त्री गगन थापा समूहका नेताहरूले असहमति जनाएका छन् । कार्यसमिति बाहिरका आकांक्षीहरू राजु केसी र शिव आचार्यले निर्णय प्रक्रियामा असहमति जनाएका छन् । पूर्वमहाधिवेशन प्रतिनिधि समेत रहेका केसीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दाबी गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत संस्थापनको निर्णय विरुद्ध प्रतिवाद गरेका छन् ।
जिल्ला सभापति प्रेमप्रकाश ओली संस्थापन पक्षमा हुन् । जिल्ला कार्यसमितिमा उनी पक्षको बहुमत छ । इतर पक्षका आकांक्षीहरूको विरोध र असहमति रहे पनि कार्यसमितिको बहुमतले ओली र शाहसहितको नाम सिफारिस गर्दा त्यसको असर निर्वाचनमा पर्नसक्ने विश्लेषण नेता–कार्यकर्ताले गरेका छन् ।
हुम्लामा निर्देशन विपरीत, मुगुमा पुरानै प्राथमिकता
हुम्लामा पार्टी केन्द्रको परिपत्र र निर्देशनविपरीत कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं वर्तमान प्रदेश सभा सदस्य जीवनबहादुर शाहीलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएको छ । शाही अहिले प्रदेश सभा संसदीय दलका नेता हुन् भने दोस्रो पटक मुख्यमन्त्री बन्ने लाइनमा छन् ।
तर, कांग्रेस हुम्लाले जिल्लाको ठुलो नेता भएकाले सम्मानस्वरुप भन्दै परिपत्र विपरीत सिफारिस गर्यो । प्रदेश कमिटीका एक नेताले भने, ‘पार्टी केन्द्रको निर्णय मान्नु हरेक नेता, कार्यकर्ताको धर्म हो । ठुलो नेता भन्दैमा प्रदेश सभा सदस्य भएको व्यक्तिलाई सिफारिस गरिनु गलत हो ।’
हुम्लामा शाहीसँगै जयपति रोकाया र रिताकुमारी शाहीको नाम पनि प्रत्यक्षतर्फ सिफारिस गरिएको छ । रिताकुमारी इतर समूहकी हुन् ।
यता मुगुमा ०७९ को निर्वाचनमा सांसद भएर वनमन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका संस्थापन पक्षीय ऐनबहादुर शाहीकै नाम पुनः प्रतिनिधि सभाका लागि दोहोर्याइएको छ । खड्कबहादुर शाही र रमाइली रावलको नाम पनि प्रत्यक्षतर्फ नै सिफारिस गरिएको छ ।
जाजरकोट कांग्रेसका सभापति बेदराज सिंहका अनुसार बैठकले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ । जाजरकोटमा खड्गबहादुर बुढा, मैना कार्की, मुक्ति प्रसाद आचार्य, महेन्द्रबहादुर शाह र रामजंग शाह गरी ५ जनाको नाम प्रतिनिधि सभा प्रत्यक्षतर्फ सिफारिस गरिएको छ भने जुम्लामा लामो रस्साकस्सीका बिच सोमबारमात्रै चार जनाको नाम सिफारिस गरिएको छ । जसमा निवर्तमान सांसद कान्तिका सेजुवाल, जिल्ला सभापति कर्णबहादुर शाही, खड्गबहादुर सेजुवाल र पूर्णप्रसाद आचार्यको नाम छ ।
मंसिर २४ गतेदेखि नै छलफल चले पनि एकल नाम सिफारिस गर्न नसकिएको भन्दै चार जनाकै नाम सिफारिस गरिएको नेताहरू बताउँछन् । अहिले देखिएको गुटगत विवादको असर पार्टीको महाधिवेशनदेखि निर्वाचनसम्म पर्न सक्ने स्थानीय नेताहरू बताउँछन् ।
कांग्रेस कर्णाली प्रदेश समितिका प्रवक्ता दमन शाहीले सोमबार उम्मेदवारको सिफारिसका सम्बन्धमा प्रदेश कमिटीको बैठकमा छलफल भएको बताए ।
‘आज छलफल भएको छ । जिल्लाबाट आएका नामहरू केन्द्रमा पठाइने छ,’ उनले सोमबार रातोपाटीसँग भने, ‘सायद भोलि पनि छलफल हुन्छ ।’
कांग्रेस प्रदेश सभापति ललितजंग शाहीले जिल्लाबाट आएका नाममाथि प्रदेशमा थप छलफल नगरिने बताए । ‘हामीले नाम काटछाँट गर्दैनौँ,’ उनले भने, ‘पार्टीको महाधिवेशन आएकाले हामीलाई अप्ठ्यारो हुन्छ, सबै माथि पठाइदिने हो, उतै टुंगो लगाउँछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण