बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कोशी प्रदेश

मानव–हात्ती द्वन्द्वको ‘इपिसेन्टर’ बन्दै मोरङ

हात्ती रोक्न ‘हाइटेक फोर्स’ कति आवश्यक ?
मङ्गलबार, ०१ पुस २०८२, १७ : ००
मङ्गलबार, ०१ पुस २०८२

सारांश

  • मोरङको सुन्दरहरैंचा, बेलबारी र आसपासका क्षेत्रमा जङ्गली हात्तीको त्रास बढेको छ, जसले गर्दा स्थानीय बासिन्दा त्रसित छन्।
  • गत शनिबार हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएपछि स्थानीयहरूले क्षतिपूर्ति र दीर्घकालीन समाधानको माग गरेका छन्।
  • विज्ञहरूले हात्ती र मानवबीचको सम्बन्धमा आएको बिग्रँदो अवस्थालाई दोष दिएका छन्, र दीर्घकालीन समाधान खोज्न जोड दिएका छन्।

विराटनगर । मोरङको सुन्दरहरैंचा, बेलबारी र आसपासका क्षेत्रमा अचेल साँझ पर्नासाथ सन्नाटा छाउँछ । गाउँका चोक र गल्लीहरूमा मानिसको चहलपहल कम हुन्छ । कारण हो– जङ्गली हात्तीको त्रास । कुनै बेला फाट्टफुट्ट देखिने हात्ती अहिले हुलका हुल गाउँ पस्न थालेपछि स्थानीय बासिन्दाको निन्द्रा गायब भएको छ ।

गत शनिबार हात्तीको आक्रमणबाट सुन्दरहरैंचा नगरपालिका–१२ का ६० वर्षीय भवकृष्ण घिमिरेको मृत्यु भएपछि यो त्रासलाई उत्कर्षमा पुर्‍याएको छ । दुध बिक्री गर्न बिहानै बजार निस्किएका घिमिरेलाई जङ्गल फर्किंदै गरेको हात्तीको समूहले आक्रमण गरेको थियो । यो घटना केवल एक संयोगमात्र नभएर दशकौँदेखि बिग्रँदै गएको हात्ती र मानवबिचको सम्बन्धको विभत्स नतिजा भएको विज्ञ तथा सरोकारवाला बताउँछन् ।

bhaba-krishna

सुन्दरहरैंचा–१२ का वडा सदस्य दिलीपप्रसाद दाहालका अनुसार अहिले गाउँको अवस्था भयावह छ । ‘हात्ती नियन्त्रणभन्दा बाहिर छन् । जतिखेर जे पनि हुन सक्ने अवस्था छ,’ दाहालले भने ।

वडा कार्यालय र नगरपालिकाले स्थानीयलाई सतर्क रहन आग्रह गर्दै ‘माइकिङ’ (सार्वजनिक सूचना प्रसारण) गरिरहेको छ । साँझ परेपछि र बिहान उज्यालो नहुँदै घरबाहिर ननिस्कन उर्दी जारी गरिएको छ ।

‘जनतामा ठुलो त्रास छ । बालबालिकाहरू स्कुल जान डराइरहेका छन् । अभिभावकहरू चिन्तित छन्,’ दाहालले भने, ‘प्रहरी प्रशासनले गस्ती त गरिरहेको छ, तर हात्तीको हुललाई रोक्न त्यो पर्याप्त छैन ।’ स्थानीय बासिन्दाहरू केवल सूचना र सतर्कताले मात्र चित्त बुझाउने पक्षमा छैनन् । उनीहरू बालीनाली र जनधनको क्षतिको यथोचित क्षतिपूर्ति र दीर्घकालीन समाधानको माग गरिरहेका छन् । ‘वनले क्षतिपूर्ति दिन्छ, नगरपालिकाले सहयोग गर्छ भनेर हामीले सम्झाइरहेका छौँ, तर ज्यानकै सुरक्षा नभएपछि राहतले मात्र के गर्नु ?,’ वडा सदस्य दाहालको भनाइमा स्थानीयको पीडा र आक्रोश स्पष्ट झल्किन्छ ।

हात्तीको यो आगमन आकस्मिक होइन । हात्ती संरक्षण र व्यवहारसम्बन्धी जानकार तथा बेलबारीका स्थानीय अगुवा अर्जुन कार्कीका अनुसार यो हात्तीको ‘पुर्ख्यौली बाटो’ हो । भारतको आसाम, पश्चिम बंगाल हुँदै झापाको बाहुनडाँगीबाट नेपाल छिर्ने हात्तीहरू मोरङ, सुनसरी हुँदै कोशी टप्पु र उदयपुरसम्म पुग्ने गर्छन् ।

‘हाम्रो गणना अनुसार यसपटक करिब ८४ वटा हात्ती नेपाल छिरेका थिए । त्यसमध्ये ३०–३२ वटा फर्किए पनि ५०–५२ वटा हात्ती अझै यही क्षेत्रमा छन्,’ कार्कीले भने । उनका अनुसार यो बगाल अहिले टुक्रिएर स–साना समूहमा विभाजित भएको छ । मोरङका डिभिजनल वन अधिकृत (डीएफओ) उत्सव थापा पनि यसमा सहमत छन् । ‘अहिले सुन्दरहरैंचाको सुकुना क्षेत्र, बेलबारी र लेटाङको लाटीझोडा क्षेत्रमा हात्ती छरिएर रहेका छन्,’ थापाले भने ।

Hatti (1)

विगतका वर्षहरूमा हात्ती यो बाटो प्रयोग गरेर सिधै पश्चिमतर्फ लाग्थे वा फर्किन्थे, तर अहिले अवस्था फेरिएको छ । मानव बस्ती विस्तार, वन फँडानी र जताततै लगाइएका विद्युतीय बार (फेन्सिङ)का कारण हात्तीको प्राकृतिक बाटो अवरुद्ध भएको छ । कार्कीले भने, ‘हात्ती भनेको डोजरजस्तै हो, उसले आफ्नो बाटो आफैँ बनाउँछ, तर हामीले जताततै घेराबार लगाएर, उनीहरूको बाटो छेकेर उनीहरूलाई बदमास बनायौँ ।’

उनका अनुसार हात्तीले आफ्नो पुर्खाको बाटो सम्झिरहेको हुन्छ । कार्कीले भने, ‘हामीले हात्तीलाई जिस्काउने, पटाका पड्काउने र घाइते बनाउने काम गर्‍यौँ । हात्ती स्मृति शक्ति एकदमै तगडा भएको प्राणी हो । उसले आफूमाथि भएको दुर्व्यवहार कहिल्यै बिर्संदैन र बदला लिन्छ ।’

कार्कीको विश्लेषणमा अहिले हात्ती ‘शरणार्थी’जस्ता भएका छन् । ‘न उता जान दिन्छौँ, न यता छिर्न दिन्छौँ । जङ्गलमा खानेकुरा छैन । अनि उनीहरू बाध्य भएर गाउँ पस्छन्,’ उनले भने ।

जङ्गलमा मानिसहरूले फ्याँकेका चाउचाउका खोल र प्लास्टिकले हात्तीलाई नुनिलो र गुलियो स्वादको लत बसाएको छ, जसले गर्दा उनीहरू पसल र घर फोडेर खानेकुरा खोज्न थालेका छन् ।

विगतमा झापामा बढी देखिने हात्तीको समस्या पछिल्ला दुई वर्ष यता मोरङमा केन्द्रित भएको छ । डिभिजन वन अधिकृत उत्सव थापा यसका पछाडि भौगोलिक र पर्यावरणीय कारण देख्छन् । ‘भारतबाट नेपाल छिर्न खोज्ने हात्तीहरू यसपटक झापाको कन्काई नदीमा आएको बाढीका कारण तर्न सकेनन् । साना बच्चा भएका कारण उनीहरू जोखिम मोल्न चाहेनन् र मोरङतिरै फर्किए,’ थापाले भने । अर्कोतर्फ, मोरङको चारकोसे झाडी र सिमसार क्षेत्रहरू हात्तीका लागि उपयुक्त बासस्थान बनेका छन् । यहाँको वन क्षेत्र र आसपासका धानखेतले उनीहरूलाई आहार प्रदान गरेको छ ।

‘अहिले हात्तीको बथानमा साना बच्चा पनि छन् । बच्चा लिएर हात्ती लामो दूरी यात्रा गर्न रुचाउँदैन । त्यसैले उनीहरू यहीँको जङ्गलमा रमिरहेका छन्,’ थापाले थपे । हात्तीले मोरङलाई नै आफ्नो प्रजनन् र बासस्थानको केन्द्र बनाउन थालेको संकेत गर्दै उनले भने, ‘यथार्थमा हात्तीहरूले यहाँ बच्चा जन्माइरहेका छन् र यहीँ सुरक्षित महसुस गरिरहेका छन् ।’

हात्तीको संख्या र उनीहरूले मच्चाइरहेको वितण्डाको तुलनामा जिल्लास्थित वन कार्यालयको स्रोत र साधन अत्यन्तै न्यून छ । वन अधिकृत थापाका अनुसार जिल्ला तहको जनशक्ति र संरचनाले मात्र यो समस्या समाधान गर्न असम्भव भइसकेको छ ।

‘हामीसँग तालिमप्राप्त जनशक्ति छैन । हात्तीलाई लखेट्न वा नियन्त्रणमा लिन आवश्यक पर्ने सवारी साधन, अत्याधुनिक उपकरण र पशु चिकित्सक सहितको टोली छैन,’ थापाले गुनासो गरे । उनले प्रदेश सरकारले नै ‘वन्यजन्तु अपराध तथा द्वन्द्व नियन्त्रण युनिट’ गठन गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘अहिले हामी सीमित स्रोतबाट काम चलाइरहेका छौँ । राति र बिहान एकैपटक धेरै ठाउँमा हात्ती निस्किँदा हामी कुन ठाउँमा जाने ? एउटै टोली सबैतिर पुग्न सक्दैन,’ थापाले भने । उनले जिल्ला वन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहबिच समन्वय भइरहेको भए पनि त्यो पर्याप्त नभएको स्वीकार गरे ।

हात्ती रोक्न जताततै पर्खाल र विद्युतीय तारबार (फेन्सिङ) लगाउने चलन बढेको छ । तर विज्ञ अर्जुन कार्की यसलाई ‘पैसाको दुरुपयोग’ र ‘अवैज्ञानिक’ मान्छन् । ‘यो दिगो समाधान होइन । हात्तीलाई थुनेर वा छेकेर रोक्न सकिँदैन । यसले हात्तीलाई झन् आक्रामक बनाउँछ,’ कार्कीले दाबी गरे ।

उनका अनुसार झापाको बाहुनडाँगीले गरेको अभ्यास (हात्तीलाई नजिस्काउने र बाटो दिने) मोरङमा पनि लागु गर्नुपर्छ । ‘हात्तीलाई कोलाहल गरेर, हुलहुज्जत गरेर लखेट्नु हुँदैन । शान्त वातावरण दिने हो भने उसले मान्छेलाई आक्रमण गर्दैन,’ कार्कीले भने । उनले हात्ती आउँदा संयमित हुन र हात्तीको बाटोमा अवरोध नगर्न सुझाव दिए ।

भारतबाट आएका हात्ती अब रैथानेजस्तै भइसकेका छन् । उनीहरूलाई लखेटेर भारत वा अन्यत्र पठाउनु तत्कालका लागि असम्भव प्रायः छ । ‘हामीले बुझ्नुपर्छ कि हात्ती हाम्रो शत्रु होइन । यो प्रकृतिको एउटा शक्ति हो । ऊसँग मित्रतापूर्ण व्यवहार गरेर ‘सहअस्तित्व’ को नीति अपनाउनु नै उत्तम विकल्प हो,’ कार्कीले भने ।

हात्तीको मनोविज्ञान बुझेर, उनीहरूको पुरानो बाटो खुला गरिदिने र मानव बस्तीमा पस्न नदिन वैज्ञानिक विधि अपनाउनुपर्नेमा उनको जोड छ ।

वन अधिकृत थापा पनि यसमा सहमत छन् । ‘हामीले हात्तीलाई जङ्गलमै सीमित राख्न जङ्गलभित्रै खानेकुरा र पानीको व्यवस्थापन गर्नुपर्छ । फलफूलका बिरुवा रोप्ने, पोखरी खन्ने काम भइरहेको छ,’ उनले भने । तर, तत्कालका लागि भने प्रदेश र केन्द्र सरकारले विशेष कार्यदल र पर्याप्त बजेटको व्यवस्था नगरेसम्म मोरङवासीले हात्तीको त्रासबाट मुक्ति पाउने सम्भावना न्यून देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप