बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आठ प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

बिहीबार, ०३ पुस २०८२, १८ : ३५
बिहीबार, ०३ पुस २०८२

सारांश

  • प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आठ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरे।
  • पुस २ गतेको निर्णयअनुसार, वरिष्ठ उपरीक्षक, उपरीक्षक र नायव उपरीक्षक पदमा अधिकृतहरूको पदोन्नति भएको थियो।
  • महानिरीक्षक कार्कीले व्यावसायिकता र इमान्दारीपूर्वक काम गर्न निर्देशन दिँदै निर्वाचन सुरक्षाको लागि रणनीति बनाउन आग्रह गरे।

काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति भएका आठ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक विशेष समारोहबीच महानिरीक्षक कार्कीले उनीहरूलाई नयाँ पदको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। 

नेपाल सरकारको पुस २ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकमा एक जना, प्रहरी उपरीक्षकमा तीन जना र प्रहरी नायव उपरीक्षक पदमा चार जना अधिकृतहरूको पदोन्नति भएको थियो।

दर्ज्यानी चिन्ह प्राप्त गर्नेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. हरि डंगोल, प्रहरी उपरीक्षकहरू ई. केविन जंग थापा, ई. रोसन सारू र ई. सुन्दर लाखे रहेका छन्। त्यसैगरी प्राविधिक प्रहरी नायव उपरीक्षकहरू दिपक केसी (खत्री), बिमल कार्की, ओम प्रकाश शर्मा र कृष्ण बहादुर बस्नेत पनि सुशोभित भएका छन्। 

समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले पदोन्नतिलाई जिम्मेवारीको मूल्याङ्कनको रूपमा लिँदै आगामी दिनमा अझ बढी व्यावसायिक निष्ठा र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए। महानिरीक्षक कार्कीले सबै प्रहरी कर्मचारीलाई आफ्नो बोली र व्यवहारमा सुधार ल्याउन तथा नागरिकका समस्यालाई इमानदारीपूर्वक सम्बोधन गर्न आग्रह गरे। 

उनले आसन्न निर्वाचनको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै अन्य सुरक्षा निकायसँग समन्वय गरी आवश्यक सुरक्षा रणनीति अपनाउन समेत निर्देशन दिए। पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य राख्दै ई. हरि डंगोलले नयाँ जिम्मेवारीलाई पूर्ण इमानदारीका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा प्रहरीका उच्च अधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप