मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
निबन्ध

ओइलाएको गुलाफ

शनिबार, ०५ पुस २०८२, ११ : ००
शनिबार, ०५ पुस २०८२

सारांश

  • शरणार्थी सडकमा मानसिक सन्तुलन गुमाएका मानिसहरूको अवस्था देखिन्छ, जहाँ कथावाचकले एक महिलालाई ओइलाएको फूलको रूपमा चिन्छन्।
  • युद्धका कारण सहरमा शरणार्थीहरूको आगमनपछि सडकको नाम परिवर्तन हुन्छ, र मानिसहरू बीचको सम्बन्ध सतही बन्दै जान्छ।
  • कथामा मानिसहरूले रोटी र अन्य आवश्यक कुराहरूमाथि बहस गर्छन्, तर आपसमा अभिवादन नगरी छुट्टिन्छन्, र दैनिक जीवनका दृश्यहरू अनौठो लाग्न छाड्छन्।
00:00 / NaN:NaN
Audio By AI

शरणार्थी सडकमा अनगिन्ती मान्छेहरू देखिन्छन् । लगभग मानसिक सन्तुलन गुमाउने अवस्थामा थिए उनीहरू ।

अनि कथावाचक उनलाई ओइलाएको फूल भनी अर्थाउँछन् । संयोगले भेटेको थिएँ उनलाई शरणार्थी सडकमा । यसअघि यो सडकको बेग्लै नाम थियो । सरिया अल नखील अनि पाम सडक । शान्त दिर अल वालह सहरमा सयौँ, हजारौँ गाजाका शरणार्थी ओइरिएपछि यसको नयाँ नामकरण भएको हो । उनीहरू आएपछि सहरको शान्ति कोलाहलमा परिणत भयो, अनवरत । 

उनको मुहारमा हाँसो देखेझैँ ठानेँ मैले । अथवा उनी साहसी बनेको फगत अभिनय गर्दै थिइन् । हामीले ‘कस्तो छौ ?’ भनेर सम्म सोधेनौँ एक अर्कालाई । दिक्कलाग्दो यो प्रश्नको भयानक असर देखिन्छ यतिखेर । ‘कस्तो छौ ?’ भनेर सोध्नु भनेको विशाल चट्टानलाई ज्वालामुखीको गर्भमा फ्याल्नुसरह हो अनि बलिरहेको लाभालाई बाहिरी निकास दिनु हो । 

हरचीजको कुनै मूल्य नरहेको बारे हामीले कुरा गर्याैं । हामीले रोटीको विषयमा पनि बहस गर्‍यौँ, जून हाम्रो जीवनको सबभन्दा ज्यादा आवश्यक चीज हो । त्यसपछि संयोगले भेटिएका तथा आ–आफ्नो बाटो लाग्नुअघि सतही कुरामा मात्र गफिने अपरिचित जस्तो गरी छुट्टियौँ हामी । 

यस्ता अकस्मात् कुराकानी शरणार्थी सडकमा दैनिक जसो भइरहन्छ । तोपको स्मारक र ताडीको रुखनेरको चौबाटोबिचको भागमा अपरिचितहरू एकअर्कासँग बातचित गरिरहेका हुन्छन्, बिना अभिवादन नै । सँगसँगै हिँड्छन् अनि कुनै विषयमा मतमतान्तर पनि गर्छन् । अनि जान्छु पनि नभनी छुट्टिन्छन्, न त कुनै कृतज्ञता नै प्रकट गर्छन् छुट्टिने बेला । मानौँ केही भएकै थिएन । 

–आज के बार ?

–सायद बुधवार होला । युद्ध सुरु भएको १०० दिनपछि कति सङ्ख्या आउँछ भन्ने पनि निश्चित भएन । 

एउटा बलियो मान्छे भेडा काटिरहेको देखेथेँ । ऊ भेडाका गर्धन छिनालिरहेको थियो अनि टाउकोलाई गाडीमा झुन्डाइरहेको थियो । त्यसपछि उसले भद्दा पाराले भेडाको ऊन काट्न थाल्यो । यो उसको पेसा होइन भन्ने प्रस्ट झल्किन्थ्यो । 

वरपर मारिएका भेडाहरू भएको कल्पना गर्न थालेँ । कसाईलाई नै अप्ठ्यारो पार्ने जिद्दी अनि धूर्त भेडाको रूपमा सोच्न पुगेँ आफैँलाई । कसाईको चक्कु खोसेर उसलाई छक्काएको सोच्न पुगेँ । मगज सड्केको मान्छे जस्तैगरी जोर–जोरले हाँस्न थालेँ, आफैँउपर । तर मेरो वरपरका कसैले पनि मेरो हाँसोलाई अनौठो मानेनन् । दैनिक जसो अचम्मका दृश्यहरू देखिने यो सहरमा यस्तो लाग्छ– कुनै कुरालाई पनि आश्चर्य मानेर हेर्न छाडियो । 

उनलाई फेरि सम्झेँ । कथावाचकले उनलाई के नाम दिए होला ? ए ए, मालीले बेवास्ता गरेको ओइलाएको गुलाफ पो त ! सायद दुर्भाग्यका कारण अलिक अघि देखेको सिकारु कसाईको हातमा परिन् उनी । कसरी गुलाफको स्याहार गर्छ ऊ ? 

तर यस्ता विषयमा किन सोची बस्नु म ? किन आफैँलाई ओइलाउन दिनु मैले ? ओइलाएको भेडो हुनसक्छु म । यस्तो सोचाइले मलाई चिच्च्याएर हाँस्न बाध्य पार्‍यो । गुलाफलाई भेडोसँग दाँजे । हाँसोको गर्जनले झण्डै मलाई अलमलायो । यो सबैको श्रोत कहाँ रैछ, म हेर्न थालेँ । अपरिचित मान्छे थियो त्यहाँ जो अट्टहास गरिरहेको थियो । उदासीन पाराले हिँडिरहेको थियो ऊ । 

के अलिकति चिनी किन्न खोजिरहेको थियो ऊ ? अहिले त चिनी एकदमै महँगो र दुर्लभ चीज भइसकेको थियो । म जसरी नै उसले पनि ओइलाएको गुलाफ भेट्यो त ? कि उसको कल्पनामा ओइलाएको भेडो देख्यौ ? 

मलाई याद भयो– हामी शरणार्थी सडकमा थियौँ । जहाँ अनगिन्ती मान्छेहरू भेटिन्छन्, लगभग मानसिक सन्तुलन गुमाएका । कैयौँ ओइलाएका गुलाफ र भेडाहरू देखिन्छन्– कसाईलाई देखेर टाढा भागिरहेका ।

भिडभाडमा मैले उनलाई सम्झिन सकिन । उनलाई ओइलाएको गुलाफ नाम दिने पुरानो कथावाचकलाई पनि बिर्सेँ मैले । सायद उनी मुर्झाउनुको कारण उही थियो । तर यो कुराको कुनै अर्थ छैन अब । यो सडकको कर्कश ध्वनि नै कडा नशा भइसक्यो अब, जसले सबैलाई अस्थायी विस्मृतितर्फ घचेटिरहेको छ ।

(सफादी प्यालेस्टिनी कवि तथा लेखक हुन् । उनको यो निबन्ध अरबीबाट अंग्रेजीमा अनसवाद–इब्तिसाम बाराकातले गरेको हुन् भने अंग्रेजीबाट नेपालीमा गणेश खनियाले गरेका हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शोजा अल सफादी
शोजा अल सफादी
लेखकबाट थप