‘एक्लै लडेर बहुमत आउँदैन, नयाँ शक्तिहरू मिल्नुको विकल्प छैन’
सारांश
- उज्यालो नेपाल पार्टी कुलमान घिसिङको काम र डेलिभरीलाई आदर्श मान्दै गठन भएको हो र निर्वाचनमा सहभागी हुने तयारी गर्दैछ।
- पार्टीले गण्डकी प्रदेशमा संगठन विस्तार, उम्मेदवार छनोट र आगामी रणनीतिका विषयमा काम गरिरहेको छ र तदर्थ समिति निर्माणको मोडलमा अघि बढेको छ।
- पार्टीका नेताले स्वतन्त्र र नयाँ दलहरूबीच एकताको आवश्यकता औंल्याएका छन्, जसले बहुमतको सरकार र राजनीतिक स्थिरताका लागि सहयोग पुर्याउँछ।
पोखरा । उज्यालो नेपाल पार्टी भौतिक पूर्वाधार तथा ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणमा गरेको काम र डेलिभरीलाई आदर्श मान्दै गठन भएको हो । यो पार्टीको निर्वाचनमा सहभागी हुने सबैभन्दा बलियो घोषणापत्र पनि कुलमानकै उज्यालो नेपाल अभियान हो । पोखरामा शनिबार सम्पन्न प्रदेशस्तरीय भेलामा उनले आफू प्राधिकरणमा हुँदा गरेका कामको फेहरिस्थ सुनाए र देशको बागडोर सम्हाल्ने शक्ति (मत) दिन आह्वान गरे । उक्त पार्टीमा जोडिनेहरू कुलमानलाई नै हेरिरहेका छन्, जस्तो रास्वपामा रवि लामिछानेलाई आदर्श मानेर प्रवेश गरेका थिए । उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनमा भाग लिने तयारीलाई तीव्र पारेको छ ।
पुराना दलहरूप्रति जनतामा बढेको वितृष्णा र स्वतन्त्र अभियानहरूको उदयबीच यो नयाँ दलले आफूलाई कसरी स्थापित गर्दैछ ? गण्डकी प्रदेशमा पार्टीको संगठन विस्तार, उम्मेदवार छनोट र आगामी रणनीतिका विषयमा पार्टीका गण्डकी प्रदेश संयोजक मनराज गुरुङसँग रातोपाटीकर्मी प्रकाश ढकालले कुराकानी गरेका छन् ।
निर्वाचन आइसक्यो, उज्यालो नेपाल पार्टीको संगठन विस्तारको मोडालिटी के छ ? तल्लो तहमा कमिटीहरू कसरी बनिरहेका छन् ?
चुनाव एकदमै सम्मुखमा छ । छोटो समयमा पूर्ण सांगठनिक संरचना बनाएर जान प्राविधिक रूपमा कठिन हुने भएकाले अहिले हामी तदर्थ समिति निर्माणको मोडलमा अघि बढेका छौं । गण्डकी प्रदेशका ११ वटै जिल्ला र ८५ वटै पालिकाहरूमा तत्कालका लागि संयोजक तोकेर संगठन विस्तार गर्ने हाम्रो नीति छ । अहिले धेरै ठाउँबाट साथीहरूको उत्साहजनक फोन आइरहेको छ । उहाँहरूको पृष्ठभूमि अध्ययन गरेर, स्थानीय आवश्यकता बुझेर सुरुमा जिल्ला संयोजक र त्यसपछि पालिका संयोजक तोक्दै जोडिन आउने सबैलाई समितिमा समेट्दै लैजानेछौं ।
गण्डकी प्रदेशका १८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी हो ? कसरी छान्नुहुन्छ उम्मेद्वार ?
हाम्रो तयारी गण्डकीका १८ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने नै हो । अहिले समानुपातिक र प्रत्यक्ष दुवै तर्फका आकांक्षी साथीहरूबाट निवेदन संकलन भइरहेको छ । उम्मेदवार छनोट गर्दा हामी दुईवटा विधि अपनाउँछौं । पहिलो, केन्द्रबाटै पपुलारिटी र क्षमता भएका व्यक्तिहरूको प्रस्ताव आएको छ । दोस्रो, तल्लो तहमा (भुइँमान्छे) भएर पनि सामाजिक अभियानमा सक्रिय र जनताले पत्याएका व्यक्तिहरूलाई हामी अगाडि सार्छौं । क्लस्टर मिलाएर र स्थानीय जनाधार हेरेर मात्रै टिकट वितरण हुन्छ ।
शनिबार प्रदेश भेलामा हेर्दा समाजले पत्याएका वा ‘हेविवेट’ अनुहारहरू देखिएनन् नि ! आकर्षण नभएको हो कि तपाईंहरूले खबर नगर्नुभएको ?
अस्तिको भेला निकै छोटो समयको तयारीमा गरिएको थियो । त्यसैले केही व्यवस्थापकीय कमजोरी देखियो होला । तर, मुख्य कुरा के हो भने– पुराना दलमा रहेका तर हाम्रो विचारसँग नजिक हुन चाहने धेरै ‘हेविवेट’ साथीहरू अहिले नै खुल्न अलि अप्ठ्यारो मानिरहनुभएको छ । उहाँहरू आफ्नो राजनीतिक भविष्य र सुरक्षित अवतरणको सुनिश्चितता खोजिरहनुभएको छ । केन्द्रीय तहमा शीर्ष नेताहरूबीच नेगोसिएसन भइरहेको छ भने प्रदेश र स्थानीय तहमा हामी पात्र–पात्र हेरेर संवादमा छौं । बाहिर नदेखिए पनि भित्रभित्रै ठूलो तयारी र संवाद चलिरहेको छ । निर्वाचनको अगाडिसम्म धेरै साथीहरू जोडिनुहुनेछ ।
- तपाईंहरूको पार्टीलाई ‘जनजातिहरूको मात्र पार्टी वा कुलमानको समुदायको पार्टी’ भन्ने आरोप पनि लाग्ने गरेको छ । स्वीकार्नुहुन्छ कि खण्डन गर्नुहुन्छ ?
यो एकदमै गलत बुझाइ हो । कुलमान घिसिङ कुनै जाति विशेषको नेता होइन । उहाँ १८ घण्टा लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालो दिने राष्ट्रिय अभियानको नायक हुनुहुन्छ । उहाँको त्यो लेगेसी र काम गर्ने शैलीलाई हामीले आदर्श मानेका हौं । फेरि, हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष नै गैर–जनजाति समुदायबाट हुनुहुन्छ । नेपाली समाज जसरी हिमाल, पहाड, तराई र विभिन्न जातजाति मिलेर बनेको छ, हाम्रो पार्टीको संरचना पनि त्यस्तै समावेशी छ । कुनै समुदाय विशेषलाई मात्र लक्षित गर्ने कुरा हामी कल्पना पनि गर्न सक्दैनौं । त्यही आरोप लाग्ला भनेर पार्टीको अन्य पदमा जिम्मेवारी तोकिएको छैन । हामी यसमा एकदमै सचेत र गम्भीर छौं ।
- तपाईं आफैं पनि एउटा स्थापित पार्टीमा लामो समय काम गरेर आउनुभएको व्यक्ति । शून्य संरचना भएको नयाँ पार्टीमा मान्छेहरू जोड्न कत्तिको सकस परिरहेको छ ?
यो चुनौती र अवसर दुवै हो । चुनौती यस अर्थमा कि, हामीसँग पुराना दलको जस्तो वडा–वडामा संगठित भोट बैंक छैन । तर, अवसर के छ भने– पुराना पार्टीभित्र क्षमता भएर पनि नेतृत्वको सिन्डिकेटका कारण माथि जान नपाएका र उकुसमुकुस भएर बसेका ठूलो पंक्ति छ । उहाँहरूका लागि यो एउटा उत्कृष्ट प्लेटफर्म हो । आजको जमानामा संगठनले मात्र चुनाव जितिँदैन । सूचना प्रविधि र सामाजिक सञ्जालले मान्छेको विगत र वर्तमान छर्लङ्ग पारिदिएको छ । जसरी कुलमानजीले लोडसेडिङको अन्धकार हटाउनुभयो, राजनीतिमा छाएको अन्धकार हटाउन पनि यो पार्टी आवश्यक छ भन्ने सन्देश गण्डकीमा राम्रोसँग गएको छ ।
- स्वतन्त्र र नयाँ साना दलहरूले भोट काट्ने तर संसदमा बहुमत नपुग्दा अस्थिरता बढ्ने जोखिम देखिन्छ । भोलि सरकार बनाउन संख्या चाहिन्छ, यसलाई कसरी हेर्नुभएको छ ?
यो एकदमै पेचिलो र महत्वपूर्ण प्रश्न हो । यसको एउटै मात्र उत्तर छ– नयाँ शक्तिहरू मिल्नुको विकल्प छैन । अहिले रास्वपा, बालेन वा कुलमानको अभियान एक्लाएक्लै लडेर बहुमत ल्याउने वा देशको जटिल भू–राजनीतिलाई सन्तुलनमा राखेर सरकार चलाउने अवस्थामा गाह्रो हुन सक्छ । भोट बाँडिएर अस्थिरता निम्तनुभन्दा नयाँ भनिएका सबै शक्तिहरू एक ठाउँमा उभिनु आवश्यक छ । मलाई विश्वास छ, निर्वाचनसम्म पुग्दा नयाँ भनिएका महत्वपूर्ण शक्तिहरूबीच पार्टी एकता नभए पनि कम्तीमा कार्यगत एकता हुनेछ । बहुमतको सरकार र राजनीतिक स्थिरताका लागि हामी सबै मिल्नुपर्छ, मेरो बटमलाइन पनि यही हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण