‘म पाठककै लागि लेख्ने लेखक हुन सकेको छैन’
कास्कीको कास्कीकोटमा जन्मिएका विष्णु पादुका हाल बाँकेको कोहलपुर बस्छन् । अढाइ दशकदेखि शिक्षण पेशामा संलग्न उनको ‘साइनो’ (०७६) र ‘बिन्दुको वृत्त’ (०७८) गरी दुई कविता संग्रह प्रकाशित छन् ।
पत्रपत्रिकामा नियमित स्तम्भ लेखक पादुकाको ‘माग्युद् खोना’ कथा बाह्रखरी कथा प्रतियोगिता ०८१ मा पहिलो कथा बनेको थियो । कथा संग्रह, निबन्ध संग्रह र उपन्यास प्रकाशनको तयारीमा रहेका पादुकासँग रातोपाटीको ९ प्रश्न शृंखलाका लागि रमा सुवेदीले गरेको कुराकानी ।
१. मानिसलाई पुस्तकको आवश्यकता किन पर्छ ?
मानिसलाई जब कुनै नौलो कुराको आवश्यकता पर्छ, ज्ञान होस् या विज्ञान, मन होस् या मानसिक प्यास बुझाउन पुस्तकको आवश्यकता पर्छ ।
२. तपाईंका लागि किताब के हो ? किताबसँग यहाँको साइनो कसरी जोडियो ?
पुस्तक एकान्तको भरपर्दो साथी हो । कोही जब किताबको संगतमा पर्छ, उसलाई किताबसँग गहिरो प्रेम बस्छ नै । आईए पढ्ने बेला चितवनको वीरेन्द्र क्याम्पस पढाउने दाइ हुनुहुन्थ्यो । उहाँको कोठाभरी नेपाली साहित्यका पुस्तक हुन्थे । कोर्स बाहेक र कोर्स भित्रका उपल्लो तहका पुस्तक पढ्ने मौका त्यहीँ मिलेको हो मलाई । एउटा किताबमा केही न केही नौलो कुरा भेटिएपछि त्यो एउटा लामो यात्रा बन्दै गयो पठनको ।
३. साहित्यलाई पनि आमरूपमा हल्का वा गह्रुङ्गो भनी मूल्याङ्कन गरिएको पाइन्छ । लेखनमा वा अध्ययनमा गम्भीर र हल्का भन्ने हुन्छ ? कि हुँदैन ?
परिभाषित समयोचित हुन्छन् । उसै पनि विधागत रूपमा साहित्य विभिन्नताको समग्र स्वरूप हो । मनपर्ने विधा भिन्न हुन सक्छ जो कसैको लागि । फरक विधाका पाठक समेतलाई प्रभावित पार्न सक्ने लेखन बलियो मानिन्छ । आफ्नो मनपर्ने विधा बाहेक अन्यलाई हलुका रूपमा लिने मानवीय प्रवृत्ति हो । तर कुनै पनि विधाको आफ्नो भिन्न गहिराइ हुन्छ ।
गम्भीरता लेखनमा त हुनैपर्छ । हचुवाको भरमा लेख्छु भनेर लेखिने साहित्य दिगो हुने कुरै भएन । विधागत र विषयगत जानकारी अनि त्यसको प्रस्तुतिकरण शैलीले मात्र हल्का या गम्भीरताको परिचय दिन्छ । हलुका लेखनका हलुका पाठक र गम्भीर लेखनका गम्भीर पाठक हुनु स्वभाविकै हो । गम्भीर पाठक हुन एउटा किताबले मात्र पुग्दैन भने लेख्न त झन् धेरै पठनको आवश्यकता हुन्छ ।
४. हालैका दिनमा कुन किताब पढिरहनु भएको छ ? कस्तो छ, त्यो किताब ?
केही कविता छन् । नवीन कृति ‘कच्ची रोडसँगैका पक्की चोटहरू’ प्रचण्ड भाष्करको छ । सिमा आभासको ‘महायुग’ पढ्दै छु । छोटा र चोटिला कविताको संग्रह हो भाष्करको । ‘महायुग’ नारी संघर्षको कथामा आधारित उपन्यास हो । किताब पढिरहँदा शैलीगत नवीनता खोज्दो रहेछ पाठक मनले तर जो कोही लेखकबाट त्यो अपेक्षा पूरा हुँदैन । किताबहरू आफैमा असल खराब हुँदैनन् । यो कुरा पाठकको अपेक्षामा भरपर्ने रहेछ ।
५. तपाईंको सोचलाई नै बदल्न सफल कुनै किताब छन् कि ?
छ नि । जति पढ्दै गयो उति अज्ञानताको खाडल देखाउँछ असल किताबले । अहंकारको जरा उखेल्छन् । सरलताको गोरेटो कोर्छन् । मैले कयौं पटक पढेको किताब ‘एब्स्ट्र्याक्ट चिन्तन प्याज’ हो । जसलाई केही पटक त पढेर मात्र छोडेँ । सरल पढाइ भनुँ न । आज पनि पढ्दा नवीनता भेट्छु म त्यसमा । चिन्तनको उचाइ अब्बल थियो शंकर लामिछानेको । बेलाबेला दिशा–निर्देश चाहिँ श्रीमद्भगवद् गीताले गर्छ ।
६. तपाईंलाई सबैभन्दा बढी प्रभाव पारेका कुनै पाँच विदेशी लेखकका पुस्तकको नाम लिनुपर्दा कुन–कुन लिनुहुन्छ ?
नेपालीमा अनुदित पुस्तकहरू ‘कल्याणी धर्ती’, ‘मेटामोर्फोसिस’, ‘गंगा से भोल्गा तक’, खलिल जिब्रानको ‘गुरु’, अमृता प्रितमका कविता । ‘कल्याणी धर्ती’को छाप भने मेरो मस्तिष्कमा अमिट छ ।
७. तपाईंलाई मन परेका पाँच नेपाली किताब कुन–कुन हुन् त ?
नरेन्द्रजंग पीटरको ‘बकपत्र’ वैचारिक धरातलको क्षेत्रफल थप्न । सानु शर्माको ‘फरक कथ्य’ शैलीमा परिवर्तन महसुस गर्न । ‘कर्णाली ब्लुज’ कथाको विस्तारित प्रभाव बुझ्न । ‘एक हातको ताली’ सरलता भित्र लुकेका कुरा बोध गर्न । ‘विचार विज्ञान’ जीवनका दैनिकीमा परिवर्तन ल्याउन ।
८. तपाईंका पुस्तक हराएका वा चोरी भएका घटना छन् कि ?
पुस्तक पढ्न रहर तर हिफाजत गर्न नसक्दा, जागिरको सिलसिलाले बसाइ अस्थायी हुँदा धेरै पुस्तकमा धमिरा लागेपछि यी पुस्तकले जीवन पाउँलान् कि भनी लाइब्रेरीलाई दान गरियो । ती त्यस्ता पुस्तक थिए, जो बजारमा सजिलै किन्न पनि पाइन्न । बजारमा पाइने पुस्तकमध्ये ‘चिरहरण’ दुई पटक हरायो तर पछुतो लागेन ।
पढेर सकाए पनि संग्रहणीय कृति हुनाले तेस्रोपटक किन्नु पर्यो । सबैभन्दा धेरैप्रति किनेको पुस्तक चाहिँ शंकर लामिछानेको ‘एब्स्ट्र्याक्ट चिन्तन प्याज’ नै हो । कसैलाई उपहार दिनु पर्दा त्यही पुस्तक दिन मन लाग्छ । म आफै पनि लेख्ने कर्म र प्रयासमा छु तर मैले त्यस्तो लेख्न कहिल्यै सक्दिन होला जस्तो लाग्छ । यसका साथै म पाठककै लागि लेख्ने लेखक पनि हुन सकेको छैन ।
९. नेपाली साहित्यको कुन पुस्तक तपाईंलाई ‘अन्डररेटेड’ लाग्छ भने कुन चाहिँ ‘ओभररेटेड’ लाग्छ ?
कतिपय पुस्तकको चिरफार एउटा कोणबाट हुन्छ । त्यसैलाई पछ्याउँदैमा पाठकलाई फुर्सद छैन । शिरिषको फूलमाथि आज पनि व्याख्या थपिँदै छ । आजभोलि त सारसंक्षेपमै समालोचना तयार गर्न थालिएको छ । त्यसैले निश्चित रूपमा यही भन्न कठिन होला । तर ‘कल्पग्रन्थ’ र ‘का. जलजला’ ओभररेटेड पुस्तक हुन् भन्नेमा कुनै शंका रहेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण