शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : ‘प्रधानमन्त्रीलाई दलहरूको सुझाव’देखि ‘रवि र बालेनबिच भेटवार्ता’सम्म

सोमबार, ०७ पुस २०८२, २२ : ००
सोमबार, ०७ पुस २०८२

आज २०८२ पुस ७ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा प्रधानमन्त्रीलाई दलहरूले दिए यस्तो सुझाव, रवि र बालेनबिच भेटवार्ता, मानव अधिकार आयोगमा बालेनको बयान, जेनजी आन्दोलनमा ‘दमन’, रवि र कुलमानबिच होला एकता वा सहकार्य ? ओली र देउवाबिच भेटवार्ता लगायत छन् ।

१. प्रधानमन्त्रीलाई दलहरूले दिए यस्तो सुझाव
प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न राजनीतिक दलका नेताले निर्वाचन सफल बनाउनका लागि ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीले आयोजना गरेको छलफलमा सहभागी नेताहरूले निर्वाचनको वातावरण बनाउने जिम्मेवारी सरकारकै रहेको भन्दै फागुन २१मा निर्वाचन हुन नसके प्रतिनिधि सभा पुनर्स्थापना गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

२. रवि र बालेनबिच भेटवार्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच भेटवार्ता भएको छ । सोमबार कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उनीहरूबिच भेटवार्ता जारी रहेको स्रोतको दाबी छ ।

३. मानव अधिकार आयोगमा बालेनको बयान
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सोमबार मानव अधिकार आयोगमा गएर बयान दिएका छन् ।

४. राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र नेकपाबिच तालमेल होला ?
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ११ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लोकतान्त्रिक शक्तिबिच मोर्चाबन्दी गर्ने विषयमा नेपाली कांग्रेससँग छलफल जारी रहेको बताएका थिए । त्यसयता यी दुई दलबिच राष्ट्रिय सभा निर्वाचनमा तालमेल होला त भन्ने प्रश्न स्वाभाविक रूपमा उब्जिँदै आएको छ । यद्यपि, दुवै दलका नेताले तालमेलबारे खासै चर्चा नभएको बताएका छन् ।

५. जेनजी आन्दोलनमा ‘दमन’
काठमाडौँको माइतीघर मण्डलामा सम्पन्न संयुक्त जेनजी आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमाथि सुशीला कार्की नेतृत्वको सरकारले ‘दमन’ गरेको भन्दै संयुक्त जेनजी आन्दोलनले गम्भीर आपत्ति जनाएको छ । जेनजी समूहले मंगलबार आन्दोलन अझ सशक्त पार्ने चेतावनी दिएको छ ।

६. रवि र कुलमानबिच होला एकता वा सहकार्य ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बिच एकता वा सहकार्य गर्ने विषयमा ‘ब्रेक थ्रु’ (निर्णायक वार्ता) हुने विश्वास दुवै पक्षका नेताहरूले लिएका छन् । सहकारी ठगी मुद्दामा जेलमा रहेका रास्वपाका सभापति रवि लामिछाने पुस ४ गते रिहा भएसँगै दुई पार्टीबिच यसबारे समझदारी हुने विश्वास नेताहरूको छ । 

७. ओली र देउवाबिच भेटवार्ता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सोमबार भेटवार्ता भएको छ । समसामयिक विषयमा दुई नेताबिच छलफल भएको बताइएको छ ।

८. राजसंस्था पुनर्स्थापनाको चर्चा किन चल्यो ?
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजसंस्था पुनर्स्थापनाबारे दिएको अभिव्यक्तिले राजनीतिक क्षेत्र तरङ्गित भएको छ । विश्लेषकहरू भने पूर्वराष्ट्रपति भण्डारीले यस्तो अभिव्यक्ति दिनु उचित नभएको बताउँछन् । 

९. प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी मुद्दा छिटो टुङ्ग्याउन कानुन व्यवसायीको सुझाव
कानुन व्यवसायीहरूले प्रतिनिधि सभा पुनःस्थापना सम्बन्धी मुद्दा छिटो किनारा लगाउन सर्वोच्च अदालतसमक्ष आग्रह गरेका छन् । नेपाल बार एसोसिएसनको ७० औँ स्थापना दिवसको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सहभागी वरिष्ठ अधिवक्ताहरूले उक्त मुद्दाको सुनुवाइलाई प्राथमिकतामा राखेर निर्क्योलमा पुर्याउन सर्वोच्च अदालतलाई सुझाव दिएका हुन् ।

१०. भारतीय बनेर क्यासिनोमा छिर्छन् नेपाली
विराटनगरका तारे होटलभित्र सञ्चालित क्यासिनोहरू विदेशी पर्यटक भित्र्याउने थलो नभई नेपाली नागरिक, युवा व्यवसायी र विद्यार्थीलाई समेत ‘कंगाल’ बनाउने अखडा बनेको तथ्य खुलेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र मोरङका प्रहरी प्रमुख एसपी कोवित कटुवालको नेतृत्वको टोलीले आइतबार छापा मारेपछि यस्तो तथ्य खुलेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप