मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जीवन्त सङ्ग्रहालय निर्माण गर्न महोत्सव

मङ्गलबार, ०८ पुस २०८२, ०२ : १०
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • तनहुँमा खुला जीवन्त सङ्ग्रहालय बन्ने भएको छ, जसले विभिन्न जातजातिको संस्कृति झल्काउनेछ।
  • सङ्ग्रहालय निर्माणका लागि आदिवासी जनजाति महोत्सवबाट रकम जम्मा गरिनेछ।
  • महोत्सवको बचतबाट दीर्घकालीन गुरुयोजना बनाई पर्यटन विकासमा जोड दिइनेछ।

तनहुँ। तनहुँको व्यास नगरपालिका–१२ गोल्लामा खुला जीवन्त सङ्ग्रहालय निर्माण हुने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले ‘भानु घाँसी ग्राम’ नामकरण गरी अगाडि बढाइएको छ ।

आदिवासी जनजातिको मात्रै संस्कार, संस्कृति नभई सम्पूर्ण जिल्लावासीको समुदायको जन्म, विवाह, मृत्युसम्मको संस्कारको पहिचान झल्कने गरी सङ्ग्रहालयमा प्रस्तुत गर्न सक्ने भानु घाँसी ग्राम निर्माण समिति संयोजक हरिसिं गुरुङले जानकारी दिए ।

“तीन प्रकारको सङ्ग्रहालयमध्ये तनहुँमा खुला जीवन्त सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । संस्कार, संस्कृति पुस्ता हस्तान्तरणको कार्यका निम्ति जीवन्त सङ्ग्रहालय आवश्यक छ”, उनले भने, “विभिन्न जातजातिको एक ठाउँमा संस्कार, कला, संस्कृति बुझाउनेछ ।”

अट्ठाइसौँ कृष्ण द्व्रैपायनको अवतरण भूमि व्यास परासर क्षेत्र, ऐतिहासिक क्षेत्र तनहुँसुर र राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जीवन्त सङ्ग्रहालयमा समेटिने संयोजक गुरुङले बताए । सम्पूर्ण जातजातिको संस्कार, कला, संस्कृति पुस्ता हस्तान्तरणमा महत्त्वपूर्ण भूमिकामा सङ्ग्रहालयको रहने उनको भनाइ छ । सङ्ग्रहालय निर्माणसँगै गाउँ, बस्ती विस्तारका लागि विभिन्न समुदायको सहयोग रहने गरी गुरुयोजना निर्माण गरिएको छ ।

आदिवासी जनजाति आयोगले ल्याएको अवधारणाअनुसार गण्डकी प्रदेशको तनहुँमा बनाउने तय भएको संयोजक गुरुङले जानकारी दिए । उनले भने, “जन्मँदा, मर्दापर्दा सबै संस्कार, कलासंस्कृति पुस्ता हस्तान्तरणमा सहयोग पुग्नेछ । जुन जातिको बस्ती जहाँ बाक्लो छ सोही बस्तीलाई विकास गरी गाउँ निर्माण गरिनेछ ।” करोडौँको खर्च लाग्ने भए पनि ४० प्रतिशत जातीय सङ्गठन रहेकाले सोमार्फत नै निर्माणमा सहयोग पुग्ने र बाँकी विभिन्न निकायको सहयोगमा निर्माण हुने संयोजक गुरुङले बताए ।

एक रोपनी नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको जग्गा रहेको र सोही जग्गासँग जोडिएको ऐलानी जग्गा लिएर खुला जीवन्त सङ्ग्रहालय निर्माण गरिने नेपाल आदिवासी जानजाति महासङ्घ तनहुँका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक सनम तामाङले जानकारी दिए । यही पुस २४ देखि माघ ५ गतेसम्म छैटौँ आदिवासी जनजाति महोत्सवबाट सङ्कलित रकममध्ये रु १५ लाख बचत गरी सङ्ग्रहालय निर्माणको शुभारम्भ गरिने उनले बताए ।

‘भाषा, लिपि, धर्म, संस्कृति, सभ्यताको जगेर्ना र हस्तान्तरणमा ऐक्यबद्धता ! खुला जीवन्त सांस्कृतिक सङ्ग्रहालय निर्माण पर्यटन विकासमा प्रतिबद्धता !’ नाराका साथ छैटौँ आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव गर्न लागिएको हो । प्रविधिको युगमा चलेका पुस्तालाई मानिससँग सम्बन्धित सम्पूर्ण प्रचलन एकै स्थानमा आभास दिलाउने गरी महोत्सवको बचतबाट दीर्घकालीन गुरुयोजना बनाएर अगाडि बढेको महासङ्घले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप