शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै

मङ्गलबार, ०८ पुस २०८२, २० : २७
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • नेपालले १७औँ अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपमा भाग लिन २८ सदस्यीय टोली भारत पठाउने भएको छ।
  • प्रतियोगितामा नेपालको तर्फबाट प्रमुख प्रशिक्षक काजी रानाले टिमको नेतृत्व गर्नेछन् भने खेलाडी लुम्बिनी प्रदेशका छन्।
  • नेपाली टोलीले यसअघि सन् २०१७, २०२१ र २०२३ मा उपाधि जितेको र यसपटक पनि जित्ने लक्ष्य राखेको छ।

रुपन्देही । भारतको महाराष्ट्रस्थित पुणेमा हुने १७औँ अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिप–२०२५ मा भाग लिन २८ सदस्यीय नेपाली टोली त्यसतर्फ जाने भएको छ। जापान गोजुरियो कराते डो मिसन सङ्घ नेपालको नेतृत्वमा २२ खेलाडीसहित प्रशिक्षक र अफिसियलको टोली भारत जान लागेको हो। 

यही पुस १४ र १५ गते हुने प्रतियोगिताको तयारीबारे सङ्घले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। पाँच राष्ट्रका खेलाडी सहभागी हुने यस प्रतियोगितामा नेपालका तर्फबाट प्रमुख प्रशिक्षक काजी रानाले टिमको नेतृत्व गर्नेछन्। 

यसअघि सन् २०१७, २०२१ र २०२३ मा च्याम्पियन भइसकेको नेपाली टोलीले यसपटक पनि स्वर्ण पदक जित्दै उपाधि रक्षा गर्ने उच्च मनोबल देखाएको छ। खेलाडीहरूको अनुशासन, शिक्षा र खेल कौशललाई आधार मानेर टोली छनोट गरिएको प्रशिक्षक रानाले बताए। सहभागी हुने सबै खेलाडीहरू लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका रहेका छन्।

सङ्घका पदाधिकारीहरूले कुनै पनि तहका सरकारबाट सहयोग प्राप्त नभए पनि खेलाडीहरूको लगनशीलता र कडा प्रशिक्षणका कारण नतिजा सुखद आउने विश्वास व्यक्त गरेका छन्। नेपाली खेलाडीहरूले भारतमा उमेर र तौल समूहका विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप