बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास

बुधबार, ०९ पुस २०८२, ०१ : ४२
बुधबार, ०९ पुस २०८२

सारांश

  • भारतको सहयोगमा दुई विद्यालय भवनको शिलान्यास गरियो।
  • ओखलढुङ्गा र गुल्मीमा बन्ने विद्यालय भवनको लागत करोडौं रुपैयाँ रहेको छ।
  • दुवै परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत पर्दछन्।

काठमाडौँ । भारत सरकारको सहयोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय भवनको शिलान्यास गरिएको छ ।

उक्त भवनको मंगलबार काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सुलर अविनाशकुमार सिंह र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालले संयुक्त रूपमा गरे ।

सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयको भवन भारत सरकारको रु चार करोडभन्दा बढीको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

नयाँ भवन तीन र आधा तलाको हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइएको छ र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामार्फत कार्यान्वयन गरिने बताइएको छ ।

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरूले नयाँ विद्यालय भवनका लागि भारत सरकारले प्रदान गरिरहेको सहयोगको प्रशंसा गरेका थिए ।

भारत सरकारको सहयोगमा गुल्मीको धुर्कोट गाउँपालिका–३ मा अवस्थित निन्युखर्क माध्यमिक विद्यालयका लागि निर्माण गरिने भवनको शिलान्यास गरिएको छ । उक्त भवनको मङ्गलबार काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सुलर गीताञ्जली ब्रैँडन र गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले संयुक्त रूपमा शिलान्यास गरे ।

धुर्कोट गाउँपालिका–३ स्थित निन्युखर्क माध्यमिक विद्यालयको विद्यालय भवन भारत सरकारको आर्थिक सहयोग रु तीन करोड ८० लाखमा निर्माण गर्न लागिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

नयाँ पूर्वाधारमा फर्निचर, कक्षाकोठा र अन्य सहयोगी संरचनासहितको दुई तल्ले विद्यालय भवन हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइएको छ र गुल्मीको धुर्कोट गाउँपालिकामार्फत कार्यान्वयन गरिने बताएको छ ।

कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गरिरहेको विकास सहयोगको प्रशंसा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप