'संज्ञान विमर्श'मा नाटकका कुरा
सारांश
- पाटन क्याम्पसमा आयोजित शृङ्खलामा बालकृष्ण समका नाटकको विवेचना गरियो।
- डा. शोभा ढुंगानाले समका नाटकमा पूर्वीय र पाश्चात्य नाट्य सिद्धान्तबारे तुलनात्मक अध्ययन गरिन्।
- कार्यक्रममा प्राडा माधव पोखरेलले विमर्शको संस्कृति कमजोर भएको र 'संज्ञान विमर्श' ले यसलाई पूर्ति गर्ने बताए।
ललितपुर । पाटन संयुक्त क्याम्पस, नेपाली विभागद्वारा आयोजित साप्ताहिक शृङ्खला 'संज्ञान विमर्श'को आठौँ अंक नेपाली नाटकको गहन विवेचनामा केन्द्रित रह्यो । यस शृङ्खलामा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटकहरूलाई पूर्वीय तथा पाश्चात्य सैद्धान्तिक मान्यताका आधारमा विश्लेषण गरिएको थियो ।
शनिबार भएको कार्यक्रममा विभागकी उपप्राध्यापक डा. शोभा ढुंगानाले 'समका पौराणिक नाटकमा पूर्वीय र पाश्चात्य नाट्य सिद्धान्तको तुलनात्मक अध्ययन' शीर्षकमा आफ्नो प्रस्तुति राखिन् । उनले समको 'प्रह्लाद' नाटकलाई दुःखान्त नाटकका रूपमा चिनाउँदै समय सन्दर्भ अनुसार पाश्चात्य नाट्य सिद्धान्तमा परिवर्तित मान्यता भित्रिएको तर पूर्वीय मान्यतामा भने परिवर्तनका संकेतहरू प्राप्त हुन नसकेको धारणा व्यक्त गरिन् ।
वरिष्ठ समालोचक, साहित्यकार एवम् भाषा वैज्ञानिक प्राडा माधव पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि पोखरेलले नेपाली समाजमा विमर्शको संस्कृति कमजोर रहेको औँल्याउँदै 'संज्ञान विमर्श'ले यस्तो अभाव पूर्ति गरी विमर्शको संस्कृति स्थापना गर्न सहयोग पुर्याउने विचार व्यक्त गरे । उनले ज्ञानको उत्पादनमा निरन्तर क्रियाशील नभए ज्ञान निर्माणको पृष्ठाधार मक्किने मात्र नभई भाँचिएर झर्न पनि सक्ने धारणा प्रस्तुत गर्दै आजका विद्वान् कहलिएका नेपाली बौद्धिकहरूलाई 'ओखरले भरिएको हाँडी'को संज्ञा दिए ।
विभागका उपप्राध्यापक डा. दीपकप्रसाद गौतमको सभाध्यक्षतामा सञ्चालित यस कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित क्याम्पस प्रमुख सह प्राडा. रघुवीर विष्टले हरेक आन्दोलनपछि साहित्यले महत्त्वपूर्ण सन्देशसहित सम्भावनाको नयाँ यात्रा प्रारम्भ गर्ने सफलता प्राप्त गरेको बताए ।
सहायक क्याम्पस प्रमुख डा. रूद्र चर्मकारले सिर्जनशील मनहरूको उत्साहजनक सहभागिताबाट विचारको नवीन मार्ग निर्माण हुने अभिमत व्यक्त गरे । विद्यार्थी कल्याण प्रमुख डा. बालकृष्ण खत्रीले यस प्रकृतिका विमर्श कार्यक्रमले ज्ञान निर्माण तथा ज्ञान प्रसारणका कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विचार राखे ।
सभाध्यक्ष डा. दीपकप्रसाद गौतमले समालोचनामा नवीन दृष्टिका साथ समका नाटकको समालोचना अघि बढाउने सफल प्रयत्नका लागि डा. ढुंगानाको सिर्जनशील क्षमताको प्रशंसा गरे । कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा. जीवनकुमार श्रेष्ठ, नेपाली विभागका विभागीय प्रमुख सहप्राध्यापक माधव उपाध्याय लम्साल, विभागका प्राध्यापकहरू तथा स्नातकोत्तर तहका नेपाली विषयका छात्रछात्राको उत्साहजनक सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण