बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रियसभामा बोहरा एकल, प्रतिनिधिसभामा भट्टसहित ८ जना सिफारिस

आइतबार, १३ पुस २०८२, २० : ४०
आइतबार, १३ पुस २०८२

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी डोटीले आगामी निर्वाचनका लागि उम्मेदवारहरूको नामावली सिफारिस गरेको छ।
  • पार्टीले राष्ट्रियसभा सदस्यका लागि भरत बहादुर बोहरालाई एकल सिफारिस गरेको छ, जो लामो समयदेखि राजनीतिमा सक्रिय छन्।
  • प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टसहित ८ जनाको नाम सिफारिस गरिएको छ।

डोटी । नेपाल कम्युनिस्ट पार्टी डोटीले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको नामावली सिफारिस गरेको छ । 

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री एवं जिल्ला इन्चार्ज त्रिलोचन भट्टको नेतृत्वमा बसेको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम टुंगो लगाएको हो । 

पार्टीले राष्ट्रियसभा सदस्यका लागि नेता भरत बहादुर बोहरा (योगेन्द्र) को नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको छ । ३२ वर्षदेखि निरन्तर राजनीतिमा सक्रिय बोहरा जनयुद्धकालका कुशल कमान्डर तथा पार्टीका इमानदार संगठकका रूपमा चिनिन्छन् । हाल पार्टीको प्रदेश सचिवालय सदस्य रहेका बोहराले लामो राजनीतिक जीवनमा कुनै पनि लाभको पद लिएका छैनन् । यसअघि २०७४ को स्थानीय निर्वाचनमा आदर्श गाउँपालिका अध्यक्षमा थोरै मतान्तरले पराजित उनी पटक–पटक प्रदेशसभाका लागि सिफारिस भए पनि अवसरबाट वञ्चित थिए । यसपटक उनलाई एकल सिफारिस गरिएको छ । 

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टसहित ८ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस सूचीमा संविधानसभा सदस्य हर्क बहादुर सिंह, जंग विक, अञ्जिता श्रेष्ठ, सिद्धाराज विक, वीर बहादुर थापा, धन बहादुर विष्ट र प्रकाश जोशी रहेका छन् । 

पार्टीले उम्मेदवार छनोट गर्दा जातीय तथा वर्गीय समावेशितालाई विशेष ध्यान दिएको जनाएको छ । जसअनुसार खस आर्यबाट त्रिलोचन भट्ट र हर्क बहादुर सिंह, दलित समुदायबाट जंग विक र सिद्धाराज विक तथा महिला/जनजातिबाट अञ्जिता श्रेष्ठ समेटिएका छन् । यस्तै युवा प्रतिनिधित्वका लागि धन बहादुर विष्ट तथा ‘नवयुवा’ समूहबाट अखिल (क्रान्तिकारी) का सुदूरपश्चिम अध्यक्ष वीर बहादुर थापा र वाइसीएल डोटी इन्चार्ज प्रकाश जोशीको नाम सिफारिसमा परेको छ । 

यसैगरी समानुपातिक प्रणालीतर्फ गोरख बहादुर सार्की, कृष्ण दर्लामी, पूर्वमन्त्री पूर्णा जोशी, श्रीचन्द्र श्रेष्ठ, सिता रायमाझी, दिल बहादुर कठायत, डम्बर घर्ती, नन्दलाल विक, डबल ताम्राकार र लक्ष्मण नाथ योगीको नाम केन्द्रमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप