बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

पूर्व डीआईजीकहाँ कार्यविधि विपरीत खटिएका थिए मृत भेटिएका प्रहरी कर्मचारी

बुधबार, १६ पुस २०८२, १५ : ००
बुधबार, १६ पुस २०८२

सारांश

  • काठमाडौंको बुद्धनगरमा प्रहरी कार्यालय सहयोगी बलबहादुर थापामगर झुन्डिएको अवस्थामा मृत फेला परे।
  • उनी पूर्व डीआईजीको घरमा घरेलु कामदारको रूपमा खटिएका थिए, जुन विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि विपरीत थियो।
  • प्रहरीले आत्महत्याको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ, र पोस्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

काठमाडौँ । काठमाडौँको बुद्धनगरमा पुस १४ मा प्रहरी कार्यालय सहयोगी बलबहादुर थापामगर मृत अवस्थामा भेटिए । काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित डेराको शौचालयमा झुन्डिएको अवस्थामा देखेपछि परिवारले उनलाई बानेश्वरको एभरेस्ट अस्पतालतर्फ दौडाए । तर, अस्पताल पुग्दासम्म उनको मृत्यु भैसकेको थियो ।

उनी उदयपुरका स्थानीय हुन् । ३० वर्षीय थापा मगरको दरबन्दी प्रहरी प्रधान कार्यालयमा देखिए पनि उनी पूर्व डीआईजीको घरमा ‘घरेलु कामदार’ को रूपमा खटाइएका थिए । थापा मगरलाई यसअघिको प्रहरी नेतृत्वले पूर्वडीआईजी नलप्रसाद उपाध्यायको घरमा घरको काम गर्ने गरी परिचालन गरेको भेटिएको छ । उपाध्याय २०७९ चैत ११ मा सेवा निवृत्त भएका हुन् । सेवा निवृत्त भएका उपाध्यायको घरमा काम गर्ने गरी कार्यालय सहयोगी थापालाई कार्यविधि विपरीत परिचालन गरेको भेटिएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ (परिमार्जित) अनुसार पूर्व डीआईजीले घरमा काम गर्ने गरी कार्यालय सहयोगी पाउँदैनन् । जेनजी प्रदर्शनपछि बनेको अन्तरिम मन्त्रिपरिषद्का गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यविधि विपरीत परिचालित सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेका थिए । गृह मन्त्रालयको निर्णय अनुसार पूर्वप्रधानमन्त्री र अन्य विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता भएका छन् । तर, प्रहरीबाट अवकाशमा पाएका केही अधिकारीहरूले अझै पनि सुरक्षाकर्मीको दुरुपयोग गरिरहेको गृह मन्त्रालयका अधिकृतहरू बताउँछन् ।

पूर्व उच्च पदस्थहरूको घरमा खटिनेहरूले विभिन्न समयमा ‘मानसिक तनाव’ खप्नुपरेको गुनासो प्रहरी प्रधान कार्यालयमा गर्ने गरेका छन् । थापा मगरले किन आत्महत्या गरे भन्नेबारे प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ । उनको शव त्रिवि शिक्षण अस्पतालमा बुधबार पोस्टमार्टम हुँदैछ ।

२०७१ सम्म कार्यालय सफाइ र नेतृत्वलाई सहयोग गर्नेहरूलाई प्रहरी परिचर भनिन्थ्यो । प्रहरी नियमावलीमा संशोधन गरेर त्यसपछि उनीहरूलाई प्रहरी कार्यालय सहयोगी भन्न थालिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप