शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : अघि बढे गगन–विश्वप्रकाश, कांग्रेसमा हंगामा

बिहीबार, १७ पुस २०८२, २२ : ००
बिहीबार, १७ पुस २०८२

काठमाडौँ । आज मिति २०८२ साल पुस महिनाको १७ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचारसहित हाजिर भएका छौँ–

१. गगन–विश्वप्रकाशको निर्णयले हंगामा

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित गरेका छन् ।

बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै थापा र शर्माले नियमित महाधिवेशन स्थगितको जानकारी दिँदै विकल्पका रूपमा विशेष महाधिवेशन मात्रै भएको बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी नियमित महाधिवेशन स्थगित गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

२. हल बुकिङ

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाराजगञ्जस्थित एक होटलमा  बिहीबार बिहान विशेष महाधिवेशनबारे छलफल गरेका छन् । सो छलफलमा उनीहरूबिच नेतृत्वलाई दबाब दिनका लागि भए पनि विशेष महाधिवेशन गर्न हल बुक गर्ने सहमति भयो । सोहीअनुसार विशेष महाधिवेशन पक्षधर नेतालाई टेलिफोन गरेर उनीहरुले भृकुटीमण्डपमा हल बुक गर्न निर्देशन दिएका हुन् । गगन विश्वप्रकाश अघि बढ्दा कांग्रेसमा हंगामा भएको छ ।

३. के भन्छ संस्थापन ?

नेपाली कांग्रेसको संस्थापन समूहले केन्द्रीय कार्यसमितिले निर्णय गरेर निर्धारण गरेको नियमित महाधिवेशन महामन्त्रीद्वयले स्थगित गर्न नसक्ने बताएको छ ।

केन्द्रीय कार्यसमितिको निर्णय सभापतिले पनि एक्लै उल्टाउन नसक्ने संस्थापनको भनाइ छ । सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय समितिको निर्णय सभापति, महामन्त्री कसैले पनि उल्टाउन नसक्ने बताए ।

यसैबीच नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ ।

बिहीबार पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए ।

४. वार्ता विफल

सरकार र अनशनरत डा निकोलस भुसालबिचको वार्ता विफल भएको छ ।बिहीबार भुसालसँगै हरिश विष्टको अनशन तोडाउन सरकारले गरेको वार्ता बिना निष्कर्ष टुङ्गिएको हो । शुक्रबार फेरि वार्ता हुने बताइएको छ ।

५. सरकार–प्रसाईं वार्ता

प्रधानमन्त्री सुशीला कार्कीसँग नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको टोलीले छलफल गरेको छ । छलफलमा लघुवित्त, सहकारी समस्या र जेनजीका मागबारे कुराकानी भएको छलफलपछि प्रसाईंले बताए । आफूहरूले अघि सारेका मागबारे सरकारका तर्फबाट आइतबारसम्मको समय मागेको र उक्त समयसम्म आफू पर्खने प्रसाईंको भनाइ छ ।

६. लेखकको स्थान हद फुकुवा

भाद्र २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। आयोगको सचिवालयले एक सूचना जारी गर्दै लेखकको विदेश भ्रमण र काठमाडौँ उपत्यका छोड्न नपाउने पूर्व निर्णयलाई हटाएको जानकारी दिएको हो ।

७. लामिछानेको मुद्दा

उच्च अदालत पाटनले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौँले रास्वपा सभापति रवि लामिछानेसँग ६० लाख धरौटीमा रिहा गर्ने आदेश सदर गरेको छ ।

लामिछानेलाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्ने आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग गर्दै पुनरावेदन निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश खिमानन्द तिवारी र दीपककुमार खरेलको इजलासले जिल्ला अदालतकै आदेश सदर गरेको हो ।

८. सुनसरी घटना

सुनसरीको सीमावर्ती इलाकामा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको छ । गएराति १ बजेर १० मिनेटमा भारतबाट नेपालतर्फ सामान ल्याउँदै गरेका दुई वटा सफारीमा सवार समूहसँग मुठभेट भएपछि गोली चलाउनु परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

९. मनाइयो नयाँ वर्ष २०२६

विश्वभर धुमधामसाथ मनाइने इस्वी सन‍्को नयाँ वर्ष २०२६ नेपालका मुख्य सहरमा भेला भएर एकापसमा शुभकामना आदानप्रदान गरी खुसीयालीका साथ मनाइएको छ ।

१०. चुनावबारे

निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपेटिका र मतपत्र छाप्ने कागज किन्न नपर्ने जनाएको छ । यसअघि भएको निर्वाचनकै स्टक रहेकाले मतपेटिका र कागज किन्न नपर्ने आयोगले जनाएको हो ।

यो पनि...

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप