१६५ निर्वाचन क्षेत्रका उम्मेदवार यसरी खोज्दैछन् प्रमुख राजनीतिक दल
काठमाडौँ । फागुन २१ गते हुने २७५ सदस्यीय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ ११० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाएसँगै प्रमुख राजनीतिक दलहरुको ध्यान प्रत्यक्षतर्फका उम्मेदवारतिर सोझिएको छ ।
प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल आ-आफ्नो पार्टीबाट जित्न सक्ने उम्मेदवारको खोजी गर्न आन्तरिक तयारीमा लागेका छन् । त्यसका लागि सबैजसो दलका नेता- कार्यकर्ता कुन क्षेत्रमा कसलाई उठाउँदा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सकिन्छ ? कुन क्षेत्रमा कसको मत कति छ ? प्रतिस्पर्धीले कसलाई उठाउँदैछ ? र, कसको लोकप्रियता कति छ ? भनेर आन्तरिक जाँचपड्तालसहितको हिसाबकिताबमा व्यस्त भएका छन् ।
सामान्यतया दलहरुले प्रत्यक्षतर्फको उम्मेदवार छान्दा जनतामाझ लोकप्रिय, इमानदार,पार्टीप्रति आस्थावानका साथै चुनाव जित्न सक्ने व्यक्तिलाई प्राथमिकता दिएर उम्मेदवार बनाउने दाबी गरेका छन् ।
कतिपय दलहरुले समानुपातिक,प्रत्यक्ष र राष्ट्रियसभा सदस्य (माघ ११ मा हुने) निर्वाचनका लागि समेत एकैपटक पार्टी कमिटीहरुबाट सिफारिस मागेका छन् भने कतिपयले तल्ला पार्टी कमिटीलाई समयसीमा तोकेर उम्मेदवार खोजी गरिरहेको बताएका छन् ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ माघ ६ गते उम्मेदवार मनोनयनको समय आयोगले निर्धारण गरेको छ ।
एमालेको डेडलाइन पुस २४ सम्म
नेकपा एमालेले आगामी पुस २० गतेबाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस थाल्ने भएको छ । पुस १३ गते बसेको एमाले सचिवालय बैठकले प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गर्न पुस २० देखि २४ गतेसम्मको डेडलाइन तोकेको हो ।

‘आगामी पुस २० गते क्षेत्रीय कमिटीले जिल्ला कमिटीलाई नाम सिफारिस गर्छन् । २२ गते जिल्लाले प्रदेशलाई र २४ गते प्रदेशले आफ्नो रायसहित केन्द्रमा पठाउन निर्देशन दिएको छ,’ एमाले सचिव राजन भट्टराईले भने, ‘प्रदेशले सिफारिस गरेका नामहरु केन्द्रमा आइसकेपछि केन्द्रीय कमिटी बैठक बसेर निश्चित मापदण्डका आधारमा कसलाई टिकट दिने कसलाई नदिने भन्ने टुंगो लाग्छ ।’
उपमहासचिव रघुवीर महासेठले तल्ला कमिटीबाट आएका नाम र रायहरुको अध्ययन गरेर केन्द्रले मापदण्डका आधारमा निर्णय गर्ने बताए ।
‘लोकप्रिय हुनुपर्ने, इमानदार हुनुपर्ने र पार्टीप्रति आस्थावान् भएको र चुनाव जित्न सक्ने व्यक्ति मुख्य मापदण्ड हुनेछन्’, महासेठले भने ।
एमाले केन्द्रीय सदस्य निरज आचार्यले क्षेत्रीय निर्वाचन कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटी हुँदै रायसहित केन्द्रमा आएका एक महिलासहित तीन जना सिफारिस भएका नामबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने बताए । त्यसरी सिफारिस गर्दा क्षेत्रीय कमिटीले सकभर सर्वसम्मत नभए निर्वाचनमार्फत नाम सिफारिस गर्नेछ । ‘क्षेत्रीय कमिटीमा सर्वसम्मत भए, सर्वसम्मत नभएमा निर्वाचन गराएर नाम सिफारिस गर्नसक्छ’, आचार्यले भने ।
राष्ट्रियसभापछि प्रत्यक्षतर्फ लाग्दै कांग्रेस
नेपाली कांग्रेसले गत मंसिर १५ गते केन्द्रीय कार्यसमिति बैठकबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रियसभाको उम्मेदवारमा आकांक्षा राख्नेहरूको नाम मंसिर मसान्तसम्म केन्द्रीय कार्यालयमा पठाउन परिपत्र गर्ने निर्णय गरेको थियो । बैठकको त्यो निर्णय बमोजिम पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले त्यसैदिन परिपत्र गरेका थिए ।

परिपत्र बमोजिम प्रतिनिधिसभा क्षेत्रीय समिति, जिल्ला समिति र प्रदेश समितिले निर्णय गरेर केन्द्रमा आइसकेको छ । केन्द्रीय कार्यसम्पादन समितिले आएका सिफारिसबाट समानुपातिक छानी बन्दसूची निर्वाचन आयोगमा पठाइसकेको छ ।
अब पहिला राष्ट्रियसभा, त्यसपछि प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले तहगत प्रक्रिया पूरा गरेर राष्ट्रियसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारहरूको केन्द्रमा सिफारिस भइसकेको र सिफारिस भएर आएका नामबाट उम्मेदवार टुंग्याउन बाँकी भएको जानकारी दिए ।
‘तहगत प्रक्रिया पूरा गरेर राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएकाहरूको नाम केन्द्रीय कार्यालयमा आइपुगेको छ । अब हामीले पहिला राष्ट्रियसभाको टुंग्याउँछौँ । त्यसपछि प्रतिनिधिसभातिर लाग्छौँ,’ प्रवक्ता डा. महतले रातोपाटीसँग भने । उनले उम्मेदवार कार्यसम्पादन समितिबाट टुंग्याउने कि संसदीय समितिबाट टुंग्याउने विषय भने छलफलमै रहेको बताए ।
के गर्दैछन् रास्वपा र नेकपा ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवार छनोट प्रक्रिया समानुपातिक उम्मेदवार छनोट विधि नै अपनाउने भएको छ । रास्वपाले मंसिर २१ गते उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूलाई उम्मेदवारी आह्वान गरेको थियो ।
आवेदन शुल्क २५ हजार तोकेको थियो । आवेदन बन्द गर्ने विषयमा एक/दुई दिनमा निर्णय लिने सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।
उम्मेदवार छनोटमा पार्टीको विधि र विधानभन्दा बाहिर गएर नहुने उनले स्पष्ट पारे । यसअघि समानुपातिक उम्मेदवार छनोट पनि सोही विधि अनुसार नै भएको आचार्यले दाबी गरे ।

‘समानुपातिक उम्मेदवार छनोट हामीले पार्टीको विधि र विधान अनुसार नै गरेको हो । तर अन्तिम समयमा एकता प्रक्रियामा आएका व्यक्तिहरूलाई समेत मिलाउनुपर्ने भएकाले बाध्यात्मक परिस्थितिमा एउटा निर्णय लिएको हो । अहिले सबै एकतामा जोडिएकाले पार्टीको विधि, विधान बाहिर गएर उम्मेदवार छनोट हुँदैन । विधि र विधान त सबैले मान्नुपर्छ’, आचार्यले भने ।
रास्वपाले रुपन्देही–३ मा उपनिर्वाचनमा छनोट भएका डा. लेखजंग थापालाई नै निरन्तरता दिने निर्णय गरिसकेको छ । बाँकी १६४ निर्वाचन क्षेत्रका लागि आवेदन खुलाएको छ । रास्वपाले ५० प्रतिशत लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिताको मापन र ५० प्रतिशत पार्टी सदस्यबाट प्राइमरी निर्वाचन विधि मार्फत उम्मेदवार छनोट गर्ने मापदण्ड बनाएको छ । निर्वाचन कार्यतालिका अब बस्ने बैठकले सार्वजनिक गर्ने आचार्यले बताए ।
समानुपातिक उम्मेदवार छनोटमा प्राइमरी निर्वाचनमा प्राप्त मतपरिणाम मात्र निर्णायक नहुने रास्वपाले जनाएको छ । प्राइमरी निर्वाचनमा सबैभन्दा बढी मत ल्याएपनि बाँकी ५० प्रतिशत उम्मेदवारको भूमिकामा निर्भर रहने भएकाले अन्तिम मत परिणाम फरक पर्ने आचार्यले बताए ।
यता नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार छनोट गर्ने जिम्मा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई दिएको छ । समानुपातिक बन्दसूचीमा सबै नयाँ अनुहार पठाएको नेकपाले प्रत्यक्ष उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाइसकेको छैन । सबै जिल्लाबाट उम्मेदवार सिफारिस भएर नआइसकेकाले प्रक्रिया अगाडि नबढेको नेता हरिबोल गजुरेलले बताए ।

‘भर्खर समानुपातिकतर्फ बन्दसूची निर्वाचन आयोगमा बुझाएका छौँ । प्रत्यक्षतर्फको उम्मेदवार छनोटका लागि सबै जिल्लाबाट सिफारिस भएर आइनसकेकाले प्रक्रिया अगाडि बढेको छैन । पुस मसान्तसम्ममा छनोट भइसक्छ होला’, उनले भने । यसपटक पुरानै अनुहारलाई दोहोर्याउने भन्दा पनि नयाँ व्यक्तिलाई उम्मेदवार बनाउने आफूले प्रस्ताव गरेको गजुरेलले बताए ।
नेकपाले पुस ४ गते उम्मेदवार सिफारिस गरेर पठाउन प्रदेश र जिल्लालाई विशेष परिपत्र पठाएको थियो । परिपत्रमा हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक जेनजी र महिला सहित पाँच जनाको नाम पठाउन निर्देशन दिएको छ । साथै यसअघि जनप्रतिनिधि भए नभएको स्पष्ट खुलाएर लोकप्रिय र जित्न सक्ने व्यक्तिलाई सिफारिस गरेर पुस ११ गतेसम्म केन्द्रमा पठाउन निर्देशन दिएको थियो । जिल्लाबाट आएका नामहरूमा सबै घटकका प्रमुख नेताहरू बसेर अन्तिम रुप दिने गजुरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण