बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

डेल्सीले लिइन् भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको शपथ

मादुरोका छोराले पनि गरे निशर्त समर्थन
मङ्गलबार, २२ पुस २०८२, ०९ : ५६
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • अमेरिकी सेनाले राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएपछि उपराष्ट्रपति रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिइन्।
  • मादुरोले आफू भेनेजुएलाको वैधानिक राष्ट्रपति रहेको दाबी गर्दै लागुऔषध तस्करी र आतंकवादको आरोप अस्वीकार गरे।
  • अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलामा सुरक्षित संक्रमणकाल नआएसम्म अमेरिकाले शासन चलाउने बताएका छन्।

कारकास । अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएकी छन्। संसद् सत्रमा शपथ लिँदै उनले अमेरिकाको हिरासतबाट मादुरोको तत्काल रिहाइको माग गरिन्। 

सन् २०१८ देखि उपराष्ट्रपति रहेकी ५६ वर्षीया रोड्रिगेजले मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले शनिबार राति ‘अपहरण’ गरेको भन्दै त्यसबाट आफू मर्माहत भएको बताइन्।

उता न्युयोर्कको अदालतमा उपस्थित गराइएका मादुरोले आफू अझै भेनेजुएलाको वैधानिक राष्ट्रपति रहेको दाबी गरे। उनले लागुऔषध तस्करी र आतंकवादसम्बन्धी चारवटा अभियोगमा आफू निर्दोष रहेको बताए। 

हत्कडी लगाएर अदालत लगिएका मादुरोलाई दर्शकदीर्घाबाट एक व्यक्तिले ‘तिमीले यसको मूल्य चुकाउनुपर्छ’ भन्दै कराएपछि मादुरोले आफू ‘अपहरित राष्ट्रपति’ र ‘युद्धबन्दी’ भएको जवाफ फर्काए। उनले आफूलाई सभ्य मानिस बताउँदै अदालतमा ३० मिनेटको सुनुवाइका क्रममा आफ्नो बचाउको प्रयास गरे पनि ९२ वर्षीय न्यायाधीश एल्भिन हेलर्स्टाइनले उनलाई ‘यी विषयमा कुरा गर्ने समय र स्थान आउने’ भन्दै रोके।

यसैबिच संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकमा अमेरिकाको चर्को आलोचना भयो। भेनेजुएलाका राजदूत स्यामुएल मोन्काडाले आफ्नो देशमाथि ‘कानुनी आधारहीन अवैध सशस्त्र आक्रमण’ भएको बताए। तर, राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले विश्वको सबैभन्दा ठुलो ऊर्जा भण्डार ‘तथाकथित अवैध राष्ट्रपति’ र ‘भगौडा’ को हातमा छोड्न नसकिने भन्दै अमेरिकी कारबाहीको बचाउ गरे। वाल्ट्जले मादुरोलाई पक्राउ गर्न ‘सर्जिकल ल इन्फोर्समेन्ट अपरेसन’ चलाइएको दाबी गरे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १५० भन्दा बढी विमान र २०० सैनिक प्रयोग गरिएको उक्त अपरेसनपछि भेनेजुएलामा सुरक्षित संक्रमणकाल नआएसम्म अमेरिकाले नै शासन चलाउने बताएका छन्। उनले अमेरिकी तेल कम्पनीहरू भेनेजुएला गएर पूर्वाधार निर्माण गर्ने र देशका लागि पैसा कमाउने घोषणा पनि गरे। 

रोड्रिगेजले शपथ लिने पक्का भएपछि ट्रम्पले उनलाई चेतावनी दिँदै यदि ‘सही काम’ नगरे मादुरोभन्दा ठुलो मूल्य चुकाउनुपर्ने बताएका छन्। यद्यपि, अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि रोड्रिगेजले अमेरिकासँग केही हदसम्म सहकार्य गर्ने सङ्केत गरेकी छन्। 

मन्त्रिपरिषद् बैठकमा उनले अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रही साझा विकासका लागि अमेरिकासँग सहकार्य गर्न आह्वान गरिन्। शपथ ग्रहणका क्रममा संसद् भवनबाहिर मादुरो र रोड्रिगेजको समर्थनमा हजारौँ नागरिक जम्मा भएका थिए। रोड्रिगेजले ‘अवैध सैन्य आक्रमण’ का कारण पीडाबोध भए पनि देशको शान्ति, जनताको आत्मिक तथा सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाइन्। 

मादुरोका छोराले पनि आफ्ना आमाबुवा भेनेजुएला फर्कने विश्वास व्यक्त गर्दै रोड्रिगेजलाई निशर्त समर्थन गरे। मादुरोको मुद्दामा अर्को सुनुवाइ आगामी मार्च १७ का लागि तोकिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप