११५ दिनमा कुलमानले तीन मन्त्रालयमा गरे यी ८ काम
सारांश
- मन्त्री कुलमान घिसिङले आफ्नो कार्यकालमा गरेका कामको फेहरिस्त सार्वजनिक गरे, जसमा विभिन्न विकास निर्माणका कामहरू समावेश छन्।
- उनले इनरुवा-पूर्णिया र दोदोधारा (बरेली) मा ४०० के.भी. क्षमताका प्रसारण लाइन निर्माण सम्झौता गरे, जसले विद्युत आयात निर्यात क्षमता बढाउनेछ।
- विभिन्न मन्त्रालय अन्तर्गतका रुग्ण ठेक्का तोड्ने निर्णय गरियो, जसमा झापाको कन्काई पुल लगायतका परियोजनाहरू समावेश थिए।
काठमाडौँ । तीन महत्त्वपूर्ण विकासे मन्त्रालय सम्हालेका मन्त्री कुलमा घिसिङले आफ्नो कार्यकालमा गरेका उपलब्धि सार्वजनिक गरेका छन् । भदौ ३० गते नियुक्त भएका उनले बुधबार राजीनामा दिँदै यस्तो कामको फेहरिस्त सार्वजनिक गरेका हुन् । कुलमानले मन्त्रीको रूपमा ११५ दिन बिताएका थिए ।
१. अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्झौता : नेपाल–भारतबिच इनरुवा–पूर्णिया र दोदोधारा (बरेली) ४०० के.भी. क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त लगानीमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इन्डियाबिच जोइन्ट भेञ्चर एग्रिमेन्ट र शेयर होल्डर एग्रिमेन्टमा हस्ताक्षर भएको ।
२. विद्युत् आयात–निर्यात क्षमता विस्तार : सन् २०३० सम्म यी प्रसारण लाइनहरू सम्पन्न गरी नेपाल र भारतबिच थप करिब ५००० मेगावाट विद्युत् आयात–निर्यात गर्न सक्ने वातावरणको सुनिश्चितता गरेको ।
३.बङ्गलादेशमा विद्युत् निर्यात : नेपालबाट बङ्गलादेशले आयात गर्दै आएको ४० मेगावाट जलविद्युतका अतिरिक्त थप २० मेगावाट (कुल ६० मेगावाट) विद्युत् निर्यात गर्ने सहमति गरेको ।
४. डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान : विगत लामो समयदेखि राजनीतिक हस्तक्षेपका कारण उठ्न नसकेको डेडिकेटेड तथा ट्रंक लाइनको प्रिमियम महसुल उठाउन दृढ निर्णय र कार्यान्वयन भएको । उद्योगहरूले बक्यौता महसुल तिर्न सुरु गरेको र किस्ताबन्दीमा प्रवेश गरेको दाबी ।
५. ठुला आयोजनाको लगानी मोडालिटी : बुढी गण्डकी र माथिल्लो अरुणजस्ता ठुला जलविद्युत आयोजनाहरू स्वदेशी लगानीमै निर्माण गर्न सकिने गरी लगानीको मोडालिटी तयार पारिएको ।
६. बहुउद्देश्यीय आयोजनामा कृषकको लगानी : रानी जमरा कुलरिया लगायतका आयोजनाबाट उत्पादन हुने जलविद्युतमा लाभान्वित कृषक र उपभोक्ता समितिको लगानी सुनिश्चित हुने गरी नीतिगत व्यवस्था र अध्ययन प्रतिवेदन तयार गरिएको ।
७. क्रिकेट रङ्गशालामा विद्युत् पूर्वाधार : कीर्तिपुर क्रिकेट रङ्गशालामा हाइमास्ट फ्लडलाइट जडान गर्ने कार्य सम्पन्न भएको ।
८. ठेक्का अन्त्य : काम नभएर अलपत्र परेका देहाय बमोजिमका ‘रुग्ण ठेक्का’ तोड्ने निर्णय गरेको–
क. सडक विभागअन्तर्गत : झापाको कन्काई पुल (जुन १४ वर्षदेखि अलपत्र थियो) सहित करिब ३ अर्ब रुपैयाँ बराबरका ४० वटा रुग्ण ठेक्काहरू तोडिएका छन्। योबाहेक थप करिब १५० वटा रुग्ण ठेक्काहरू तोड्ने प्रक्रिया अघि बढाइएको छ।
ख. जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गत : राष्ट्रिय गौरवको सुनकोसी–मरिन बहुउद्देश्यीय आयोजना सहित १४ अर्ब २२ करोड रुपैयाँ बराबरका २२ वटा रुग्ण ठेक्काहरू तोडिएका छन्। यसमा ६० प्रतिशत समय बित्दा पनि मात्र ११ प्रतिशत प्रगति भएको उल्लेख छ ।
ग. सहरी विकास मन्त्रालयअन्तर्गत : यस मन्त्रालय मातहतका ४ वटा रुग्ण ठेक्काहरू तोडिएका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण