बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेकपाले पूर्वअर्थमन्त्री विष्टलाई बनायो सुर्खेत–२ को चुनावी कमान्डर , यस्तो छ परिचालन समिति

बिहीबार, २४ पुस २०८२, २१ : ५५
बिहीबार, २४ पुस २०८२

सारांश

  • नेकपाले सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा आगामी निर्वाचनको लागि चुनावी अभियान सुरु गरेको छ।
  • पार्टीले पूर्वअर्थमन्त्री विन्दमान विष्टलाई चुनावी कमान्डर तोकेको छ भने झकबहादुर मल्ल उम्मेदवार छन्।
  • चुनावी रणनीतिलाई तीव्रता दिन विभिन्न समितिहरू गठन गरियो, जसमा पालिकास्तरमा पनि संयोजक तोकिएका छन्।

सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नो चुनावी अभियानलाई सशक्त बनाउने तयारी गरेको छ ।

बिहीबार वीरेन्द्रनगरमा बसेको पार्टीको बैठकले कर्णालीका पूर्वअर्थमन्त्री विन्दमान विष्टलाई चुनावी कमान्डर बनाएको छ । 

विष्ट सुर्खेत २ (२) बाट प्रदेश सभा सांसद छन्, यो क्षेत्रमा नेकपाले पूर्वजनमुक्ति सेनाका लडाकु झकबहादुर मल्ल ‘सुदीप’ लाई उम्मेदवार बनाएको छ । 

अन्य दलहरूले उम्मेदवार टुंगो लगाउँदै नेकपाले भने चुनावी अभियानहरू थालिसकेको छ । 

बिहीबार मल्लको अध्यक्षतामा बसेको केन्द्रीय समिति सदस्य तथा सल्लाहकारहरूबिच बसेको बैठकले चुनावी रणनीतिलाई तीव्रता दिनका लागि विभिन्न सात वटा महत्त्वपूर्ण समितिहरू गठन गरेको हो । विष्टलाई चुनावी कमान्डर बनाएको बैठकले राजनीतिक संवाद, आर्थिक व्यवस्थापन, सूचना प्रविधि र युवा परिचालन जस्ता विषयमा समितिहरू गठन गरेको छ । 

राजनीतिक संवाद समिति संयोजकमा केदार कुमार कँडेल, आर्थिक व्यवस्थापन समिति संयोजकमा रत्न बहादुर गाहा, सूचना प्रविधि तथा प्रचार प्रसार समिति संयोजक वसन्त कुमार विश्वकर्मा, युवा परिचालन समिति संयोजक दानसिंह सुनारलाई बनाइएको एक नेताले बताए । 

यस्तै चुनावी घोषणा पत्र समिति संयोजकमा खडानन्द लामिछाने रहेका छन् भने स्थानीय तहस्तरमा पनि संयोजक तोकिएको छ । चुनावी माहोललाई वडा र गाउँपालिकासम्म पुर्‍याउन नेकपाले निर्वाचन क्षेत्र नं २ भित्र पर्ने पालिकास्तरमा समेत संयोजक तोकेको हो । यो क्षेत्रमा राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका पर्छ भने पश्चिमा बराहताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिका पर्छन् ।

वीरेन्द्रनगर नगरपालिकाको संयोजकको जिम्मेवारी कर्णालीका पूर्वउपसभामुख पुष्पा घर्तीले पाएकी छन् । यस्तै बराहतालको खडानन्द लामिछाने, पञ्चपुरीको पूर्वराज्यमन्त्री नन्दा शर्मा चपाई र चौकुने गाउँपालिकाको जिम्मेवारी भूपेन्द्र जोशीलाई दिइएको छ । 

बैठकले गठन गरिएका यी समितिहरूमा केन्द्रीय सदस्य, केन्द्रीय निकायका सदस्यहरू, प्रदेश तथा जिल्ला कमिटी, पालिका कमिटी र विभिन्न जनसंगठनका सदस्यहरू रहने नेता बसन्त विकले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप