बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण कोरियामा ट्रेन्डिङमा छ ‘गरिब’ देखिने च्यालेन्ज

शुक्रबार, २५ पुस २०८२, ०७ : १९
शुक्रबार, २५ पुस २०८२

सारांश

  • दक्षिण कोरियामा गरिब देखिने 'च्यालेन्ज' ट्रेन्डिङमा चलेको छ, जहाँ मानिसहरूले महंगा सामानसँगै सस्तो खाद्यान्नका तस्बिर पोस्ट गरिरहेका छन्।
  • सामाजिक सञ्जालमा मजाकको रूपमा सुरु भएको यो ट्रेन्डले आर्थिक अभावमा परेकाहरूको पीडालाई बेवास्ता गरेको भन्दै आलोचना भइरहेको छ।
  • गायक किम डोङ-वानले गरिबीको मजाक उडाउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै यस्ता कुरा हाँसोका लागि पनि प्रयोग गर्न नहुने बताएका छन्।

सोल । आफूसँग भए/नभएको कुरालाई बढाइचढाइ गरेर देखाउनु केही मानिसको स्वभाव नै हो । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मान्छेहरूमा यस्तो प्रवृत्ति बढेको छ । साँच्चै भन्ने हो भने यस्तो प्रवृत्ति झन् खराब बन्दै गएको छ । अनलाइनमा देखाउनु एउटा कुरा हो, तर यसले साँच्चै कठिनाइमा बाँचिरहेकाहरूलाई कस्तो गाह्रो बनाउँला यो कुरा धेरैले सोच्दैनन् ।

तर दक्षिण कोरियामा भने गरिब देखिने ‘च्यालेन्ज’ यतिबेला ट्रेन्डिङमा छ । मान्छेले आफ्ना स्पोर्ट्स कार, विलासी वस्तु, डिजाइनर फेसन, र महँगो घरहरूको तस्बिरलाई चाउचाउजस्ता सस्ता सामानहरूको साथमा पोस्ट गरिरहेका छन् । यी पोस्टमा आफू ‘असह्य गरिबी’मा भएको भन्दै गुनासो गरिएको पाइन्छ । यो ट्रेन्ड मजाकका रूपमा सुरु भएको थियो, तर छिट्टै सामाजिक सञ्जालमा यो विवादास्पद बन्यो । यसले साँच्चै आर्थिक अभाव र कठिनाइ सामना गरिरहेकाहरूको अवस्थालाई तुच्छ बनाएको ठानिएको छ ।

स्थानीय सामाजिक सञ्जालमा च्यालेन्जका नाममा फेरारीको साँचोसँग इन्स्ट्यान्ट रामेन र सस्तो किम्बाप राइस रोलका तस्बिर, हुडमा इन्स्ट्यान्ट नुडल्सका झोलाहरू राखिएको चम्किलो रातो फेरारी, ‘मसँग केही चित्र र एउटा कुकुर मात्र छ’ भन्ने क्याप्सनमा महँगा कलाकृतिले भरिएको कोठाको तस्बिर वा भिडिओ आदि पोस्ट भइरहेका छन् ।  

गायक र अभिनेता किम डोङ–वानले सामाजिक सञ्जालको आफ्नो खातामा यो ट्रेन्डबारे चिन्ता व्यक्त गरेका छन् । ‘गरिबी मजाक गरेर उडाउने भावना होइन,’ किमको पोस्टमा लेखिएको छ । ‘त्यहाँ त्यस्ता शब्द र चित्रणहरू छन्, जुन हाँसोकै लागि समेत कहिल्यै प्रयोग गर्नु हुँदैनथ्यो,’ पोस्टमा उनले लेखेका छन् ।

अझै पनि विश्वविद्यालयमा केही विद्यार्थी पैसा नभएर गिम्बाप किन्न सकेका छैनन् । ‘लामो समयसम्म आफ्नो एकल आमाको साथमा म अर्ध–भुईंतले अपार्टमेन्टमा बसेको थिएँ । गरिबी शब्दले मलाई सधैँ घरको याद दिलाउँछ,’ उनले लेखेका छन् । यो च्यालेन्जले आर्थिक कष्टप्रति घट्दो सामाजिक संवेदनशीलता देखाएको अनि यसले धनी उपभोक्ताहरू र आर्थिक कठिनाइ भोगिरहेकाहरूबिचको बढ्दो खाडललाई प्रतिबिम्बित गरेको आलोचकहरूको चिन्ता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप