शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
१० बजे १० समाचार :

सुदनदेखि आशिकासम्मको उम्मेदवारी घोषणा, कांग्रेसको विवादमा जेनजीको चासो किन ?

शुक्रबार, २५ पुस २०८२, २२ : ११
शुक्रबार, २५ पुस २०८२

काठमाडौँ । आज मिति २०८२ साल पुस महिनाको २५ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर सधैँझैँ उपस्थित भएका छौँ–

१. कांग्रेसको विवादमा जेनजीको चासो

नेपाली कांग्रेसभित्र नियमित कि विशेष महाधिवेशन भन्ने बहस चलिरहँदा भदौ २३ र २४ गते भएको आन्दोलनबाट उदाएका ‘जेनजी’ अगुवाहरूले चासो राख्न थालेका छन् । उनीहरू कांग्रेसको दलीय राजनीतिमा सक्रिय नभए पनि विशेष महाधिवेशनको पक्षमा खुला वकालत गर्न थालेका छन् ।

जेनजी आन्दोलनका चर्चित अनुहारहरू रक्षा बम, तनुजा पाण्डे, भावना राउत लगायतले कांग्रेसको वर्तमान नेतृत्व र कार्यशैलीमाथि प्रश्न उठाउँदै विशेष महाधिवेशनको पक्षमा वकालत गरेका हुन् ।

समाचार पढ्नुहोस्

नेपाली कांग्रेसको संस्थापन समूहका केन्द्रीय सदस्यहरूले भूराजनीतिका कारण कांग्रेस विभाजनको संघारमा पुगेको भन्दै त्यसलाई रोक्न प्रयास गर्ने निष्कर्ष निकालेको छ ।

काठमाडौँको बानेश्वरस्थित अनन्दभूमि इभेन्टमा शुक्रबार भएको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको छलफलले कांग्रेसलाई कमजोर बनाउन भित्रिया र बाहिरी शक्ति सक्रिय भएको निष्कर्ष निकालेको हो ।

२. उम्मेदवारी घोषणा

सामाजिक अभियन्ता आशिका तामाङले काठमाडौँ क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारीको घोषणा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिने बताएकी हुन् ।

जेनजी अगुवा सुदन गुरुङले प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।

बागमती प्रदेशसभा सदस्य कुन्दन काफ्लेले पदबाट राजीनामा दिने भएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्नका लागि आफूले प्रदेश सभा सदस्यबाट राजीनामा दिने मनस्थिति बनाएको उनले बताए ।

३. कांग्रेस सस्साकस्सीका थप समाचार

नेपाली कांग्रेसभित्र २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरेको विशेष महाधिवेशन मागकर्ताहरूकै चासोमा पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने तयारी छ ।

विशेष महाधिवेशन माग गरेको ३ महिनाभित्र बोलाउनु पर्ने व्यवस्था विधानमा भए पनि केन्द्रीय समितिले नबोलाएको भन्दै उनीहरूले पुस २३ गते आफैँ विशेष महाधिवेशन आह्वान गरेका हुन् । उनीहरूको आह्वानमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ऐक्यबद्धता जनाएका छन् ।

पुस १८ र २४ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले नियमित १५औँ महाधिवेशनको प्रक्रिया सुरु भइसकेकाले सोही अवधिमा गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य सकिएको निर्णय गरेको थियो । संवेदनशील अवस्थामा विशेष महाधिवेशन गर्दा पार्टी विभाजन हुनेतर्फ पनि बैठकले सचेत गराएको छ ।

४. राष्ट्र बैंकको तथ्यांक

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो ५ महिना (मंसिर मसान्तसम्म) को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

५. प्रचण्डको हिम्मत

संसदीय निर्वाचनमा १२ वर्षपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तालमेलविना प्रतिस्पर्धा गर्ने आँट देखाउन थालेका छन् । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले आसन्न निर्वाचनमा कसैसँग तालमेल नगर्ने नीति अख्तियार गर्ने तयारी थालेका हुन् ।

६. रवि–बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा)बिच पुस १४ गते एकता गर्ने सहमति भयो । तर, सहमति अनुसार रास्वपा कार्यान्वयनको पक्षमा नउभिँदा दुई पार्टीबिचको एकताले पूर्णता पाउन ढिलाइ भएको छ ।

७. राप्रपामा विवाद

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र समानुपातिकको बन्दसूचीबारे रडाको उत्पन्न भएको छ ।

शुक्रबार दिउँसो महिलाहरूको एक समूहले पार्टी कार्यालयमा आफूहरूको माग समेटिएको ज्ञापनपत्र बुझाएकोमा त्यसपछि पुनः अनसन थालेका छन् ।  पार्टीको महिला सङ्गठनकी सचिव चम्पा अधिकारी रिले अनसन र केन्द्रीय सदस्य नानीमैया आचार्यले आमरण अनसन थालेका हुन् । पार्टी कार्यालयमै आफूहरूले अनसन थालेको अधिकारीले रातोपाटीलाई बताइन् ।

८. बब्लु गुप्ताबारे

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण र कार्यक्रमलाई लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाबाटै फरक फरक धारणा आएपछि एनआरएनए वृत्तमा हंगामा भएको छ।

एउटै विषयमा एनआरएनए एनसीसी यूएसएबाट दुई फरक–फरक विज्ञप्ति आएपछि भ्रम सिर्जना भएको भन्दै एनआरएनएकै केन्द्रले औपचारिक रूपमा प्रेस विज्ञप्ति जारी गर्दै यसबारे स्पष्ट पार्न खोजेको छ।

 

९. आयोग

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ । तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो जिकिर गरेका हुन् ।

 

१०. बिजुलीको समस्या

पछिल्लो समय निरन्तर रुपमा झ्याप्प–झ्याप्प बत्ती जान थालेको छ । लोडसेडिङ हटेको लामो समय भएको छ तर पछिल्लो समय बिहान,दिउँसो र बेलुकाको समयमा झ्याप्प–झ्याप्प बत्ती जान थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप