बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ब्रिटिश कलेजको ठगी प्रकरणः न्याय माग्न पुगेका विद्यार्थीमाथि बाउन्सर प्रयोग, मन्त्रालयमै धम्की

शुक्रबार, २५ पुस २०८२, २३ : २७
शुक्रबार, २५ पुस २०८२

सारांश

  • थापाथलीस्थित द ब्रिटिश कलेजले विद्यार्थीलाई ठगी गरेको आरोप लागेको छ, जसमा नक्कली प्रमाणपत्र दिएको समेत उल्लेख छ।
  • दुबईमा इन्टर्नसहितको हस्पिटालिटी म्यानेजमेन्ट डिप्लोमाको नाममा १६ लाख असुल गरी, कलेजले विद्यार्थीलाई धम्क्याएको र बाउन्सर प्रयोग गरेको आरोप छ।
  • शिक्षा मन्त्रालयको छानबिन समिति बैठकमा कलेजका सीईओ बाउन्सरसहित उपस्थित भएपछि विवाद चर्केको र विद्यार्थीहरूलाई उजुरी गर्न नदिने प्रयास भएको बताइएको छ।

काठमाडौँ । काठमाडाैँको थापाथलीस्थित द ब्रिटिश कलेजले विद्यार्थीहरूलाई ठगी गरेको र न्याय माग्न पुगेका पीडित विद्यार्थीमाथि बाउन्सर प्रयोग गरी धम्क्याएको गम्भीर आरोप लागेको छ । दुबईमा इन्टर्नसहितको हस्पिटालिटी म्यानेजमेन्ट डिप्लोमाको नाममा प्रति विद्यार्थी १६ लाख रुपैयाँसम्म असुल गरी नक्कली तथा अमान्य प्रमाणपत्र दिएको भन्दै विद्यार्थी र अभिभावकहरू आन्दोलित भएका हुन् ।

शिक्षा मन्त्रालयले समस्या समाधानका लागि गठन गरेको छानबिन समितिले बिहीबार आयोजना गरेको बैठकमा कलेजका सीईओ राजन कँडेल बाउन्सरसहित उपस्थित भएपछि विवादले उग्र रूप लिएको हो । बैठकमा विद्यार्थीहरूले आफ्ना गुनासा राख्न खोज्दा बाउन्सरहरूले हप्काउने र धम्क्याउने प्रयास गरेको पीडितहरूको भनाइ छ । यस क्रममा विद्यार्थी र बाउन्सरबिच चर्को भनाभनसमेत भएको थियो ।

पीडितहरूका अनुसार, कलेजले दुबईस्थित ‘विलविच इन्स्टिच्युट हस्पिटालिटी एन्ड म्यानेजमेन्ट’मा डिप्लोमा पढाइ हुने भन्दै भर्ना लिएको थियो । तर उक्त संस्था नेपाल सरकारको शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त नभएको र त्यहाँ प्रदान गरिने प्रमाणपत्र कुनै पनि विश्वविद्यालयले मान्यता नदिने सामान्य ‘भोकेसनल’ तालिम मात्र भएको खुलेको छ ।

‘हामीले पढेर पाएको प्रमाणपत्र कुनै पनि विश्वविद्यालयले स्वीकार गरेन। हाम्रो चार वर्षको समय र १६ लाख रुपैयाँ पूर्ण रूपमा खेर गयो,’ एक पीडित विद्यार्थीले भने। अर्की एक छात्राले कन्सल्टेन्सीमा प्रमाणपत्र देखाउँदा ‘यो त स्क्याम हो’ भनेर फर्काइदिएको पीडा सुनाइन् ।

विवाद चर्किँदै गएपछि कलेज प्रशासनले आफ्नो बदमासी लुकाउन पीडित विद्यार्थीहरूलाई पैसा फिर्ता दिने तर त्यसबापत कतै उजुरी गर्न नपाइने र मिडियामा बोल्न नपाइने सर्तसहितको कागजमा हस्ताक्षर गर्न दबाब दिएकोसमेत खुलासा भएको छ । 

यसअघि यही विषयमा समाचार संकलनका लागि कलेज पुगेका पत्रकारहरूलाई समेत बाउन्सर प्रयोग गरी बन्धक बनाइएको आरोपसमेत लागेको छ।

यता कलेज प्रशासनले भने आफूहरूले शिक्षा मन्त्रालयबाट अनुमति लिएर नै अध्ययन गराइरहेको र कुनै पनि विद्यार्थीमाथि श्रम शोषण नगरिएको दाबी गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप