रोयल च्यालेन्जर्स बेंगलुरुको सनसनीपूर्ण जित : साबिक विजेता मुम्बई पराजित
सारांश
- महिला प्रिमियर लिग (डब्लुपीएल) २०२६ को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गर्यो।
- बेंगलुरुका नदीन डी क्लर्कले विस्फोटक ब्याटिङ गर्दै ४४ बलमा अविजित ६३ रन बनाएर जित दिलाइन्।
- मुम्बई इन्डियन्सले १५४ रन बनाएको थियो भने बेंगलुरुले २० ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
नयाँ दिल्ली । महिला प्रिमियर लिग (डब्लुपीएल) २०२६ को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले सानदार सुरुवात गरेको छ। शनिबार डिवाई पाटिल स्टेडियममा भएको रोमाञ्चक भिडन्तमा बेंगलुरुले साबिक विजेता मुम्बई इन्डियन्सलाई ३ विकेटले स्तब्ध बनायो।
अन्तिम ओभरको नाटकीय मोडमा नदीन डी क्लर्कले विष्फोटक ब्याटिङ गरेपछि बेंगलुरुले हारको मुखबाट जित खोसेको हो। मुम्बईले दिएको १५५ रनको लक्ष्य बेंगलुरुले २० ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो।
एक समय ६५ रनमै ५ विकेट गुमाएर संकटमा परेको बेंगलुरुका लागि नदीन डी क्लर्क र अरुन्धति रेड्डीले ५२ रनको महत्त्वपूर्ण साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए। अन्तिम ४ बलमा १८ रन आवश्यक रहेको अवस्थामा डी क्लर्कले लगातार दुई चौका र दुई छक्का प्रहार गर्दै टोलीलाई सनसनीपूर्ण जित दिलाइन्। उनले ४४ बलमा अविजित ६३ रनको योगदान दिइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। मुम्बईका लागि सजिवन सजनाले ४५ र निकोला केरीले ४० रनको योगदान दिँदै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याएका थिए। बलिङतर्फ बेंगलुरुकी नदीन डी क्लर्कले घातक बलिङ गर्दै ४ विकेट लिइन्।
खेल सुरु हुनुअघि आयोजित भव्य उद्घाटन समारोहमा गायक हनी सिंह र बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले आफ्नो प्रस्तुति दिएका थिए। सो अवसरमा मिस युनिभर्स हरनाज संधुको पनि उपस्थिति रहेको थियो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026