बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सन्दर्भः कांग्रेसको विशेष महाधिवेशन

यथास्थितिवादी र प्रगतिशील धारको द्वन्द्वमा नेपाली कांग्रेस

आइतबार, २७ पुस २०८२, १२ : १२
आइतबार, २७ पुस २०८२

सारांश

  • काठमाडौंमा संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा कांग्रेसको विशेष महाधिवेशन हुँदैछ।
  • आइतबार राजधानीको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनको तयारी भइरहेको छ।
  • यो समाचार कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी अपडेट हो।
00:00 / NaN:NaN
Audio By AI

नेपालको राजनीतिमा गत भदौ २३ र २४ गते देखिएको जेनजी विद्रोह र यसले ल्याएको सत्ता परिवर्तनको लहरले नेपाली कांग्रेसलाई स्पष्ट रूपमा दुई धारमा विभाजित गरिदिएको छ– यथास्थितिवादी र प्रगतिशील ।

विश्व राजनीतिमा भइरहेका परिवर्तन र छिमेकी मुलुकहरूले प्राप्त गरेको नयाँ जनादेशलाई सूक्ष्म विश्लेषण गर्दै पार्टीभित्र प्रगतिशील विचार निर्माण गर्नैपर्ने मोडमा नेपाली कांग्रेस पुगेको छ । यस्तो दूरगामी महत्त्वको कार्यका लागि पार्टीको निर्णायक तहमा रहेका नेतृत्वलाई अहिलेको जस्तो उपयुक्त समय न विगतमा थियो, न भविष्यमा आउन सक्छ ।

राजनीतिक र प्राकृतिक परिवर्तन शाश्वत नियम हुन् । कुनै पनि राजनीतिक दलले परिवर्तनको मुद्दामा आफूलाई अभ्यस्त र गतिशील बनाउन सकेन भने यथास्थितिमै रहेर रूपान्तरण सम्भव छैन । परिवर्तनका लागि ठोस कारक र कारण आवश्यक हुन्छन् । नेपाली कांग्रेसका लागि अहिले रूपान्तरित हुने उपयुक्त समय र परिस्थिति दुवै निर्माण भएको छ ।

विगत तीन दशकदेखि नेपाली राजनीतिमा मौलाउँदै गएको सिद्धान्तच्युत यथास्थितिवाद, सत्ताकेन्द्रित प्रवृत्ति र व्यक्तिवादी चरित्रले गर्दा नागरिकमा ठुलो वितृष्णा पैदा भएको छ । भ्रष्टाचारी, स्वेच्छाचारी र असक्षम नेतृत्वले जकडिएको अहिलेको राजनीतिक अवस्थाबाट आजका युवाहरू निराश छन् । नागरिकको यो मनोविज्ञान बुझेर राजनीतिक रूपमा सम्बोधन गर्न नसक्ने शक्तिले देशलाई विकास र समृद्धिको परिणाममुखी नतिजा दिन सक्दैन ।

नेपाली कांग्रेसलाई समयसापेक्ष परिवर्तन गर्न पुराना अनुहार मात्र पर्याप्त छैनन् । परीक्षण भइसकेका र असक्षम मानिएका पुराना नेतृत्वलाई पार्टी सङ्गठनको अभिभावकत्व सुम्पिँदै नयाँ अनुहार र प्रगतिशील विचार बोकेका नेताहरूको मिश्रणबाट ‘तन्नेरी कांग्रेस’ बनाउने दिशामा पार्टीलाई डोर्‍याउनु आवश्यक छ ।

नेपाली राजनीतिको केन्द्रमा रहेको र लामो विरासत बोकेको कांग्रेसभित्रको वर्तमान बहस केवल नेतृत्व परिवर्तनमा मात्र सीमित छैन । यो सिङ्गो नेपाली राजनीतिलाई नयाँ नीति, कुशल नेतृत्व र सही कार्यदिशा दिने सामर्थ्यवान् नेताको खोजी पनि हो । तर, पार्टीभित्र बढ्दो ‘नेतापरक विचलन’ का कारण कांग्रेस विभाजित हुन सक्ने खतरालाई पनि नकार्न सकिँदैन ।

  • कांग्रेसभित्र खतराको घण्टी

सतहबाट हेर्दा कांग्रेसभित्र विभाजनको ठुलो रेखा देखिएको जस्तो लागे पनि यो केवल एउटा सङ्क्रमणकालीन भ्रम मात्र हो । वास्तवमा यो पुरातनवादी सोच र नूतन यात्रामा निस्केका तरुणहरूबीचको पर्दा उघारिएको अवस्था हो ।

पुराना कांग्रेसीहरू अझै पनि २००७ सालकै विरासतमा आधारित संसदीय प्रजातन्त्रको मोडललाई पुनरावलोकन गर्न तयार देखिँदैनन् । आर्थिक नीतिका दृष्टिले उनीहरू ‘नवउदारवाद’ लाई नै पहिलो र अन्तिम विकल्प मान्छन् । तर, आजको युवा पुस्ता न ती ‘टेस्टेड एन्ड फेल’ नेताहरूलाई बोक्न तयार छ, न त पुरानो शैलीको प्रजातान्त्रिक अभ्यासमा रमाउन नै सक्छ ।

लोकतान्त्रिक पार्टी विचारका आधारमा सधैँ गतिशील हुनुपर्छ । हिजो प्रदीप गिरि एक्लै सिङ्गो पार्टीको कार्यशैलीप्रति विमति राख्दै फरक धारमा उभिएका थिए । आज गगन थापा र विश्वप्रकाश शर्माहरूले पार्टीलाई उन्नत लोकतान्त्रिक र प्रगतिशील धारमा डोर्‍याउने प्रयास गरिरहेका छन् ।

तर, यथास्थितिवादी विचार बोकेका कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र शेखर कोइरालाजस्ता नेताहरूको कार्यशैलीका कारण कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र कोपभाजनमा परेको महसुस हुन्छ ।

देउवा पक्षधरको अहिलेको मुख्य सङ्घर्ष ‘पार्टी रोज्ने कि व्यक्ति रोज्ने’ भन्नेमा केन्द्रित छ । पार्टी सत्ताको प्रयोग गरेर टिकट बाँडिरहने र पद लम्ब्याइरहने एउटा प्रवृत्ति छ भने अर्कोतर्फ पार्टीलाई कार्यकर्ता र जनताको बनाउनुपर्छ भन्ने पक्ष छ । यदि व्यक्तिलाई भन्दा पार्टीलाई केन्द्रमा राखियो भने मात्र समस्याको समाधान सम्भव छ । अन्यथा विभाजनको रिबन देउवाले नै काट्ने छन् ।

गगन–विश्वप्रकाश अघि बढ

नेपाली राजनीतिप्रति बढेको निराशा चिर्ने प्रयासमा गगन थापा र विश्वप्रकाश शर्माको ध्यान विशेष महाधिवेशनतर्फ केन्द्रित छ । यो लक्ष्य कति पूरा हुन्छ, त्यो भविष्यले बताउला । तर, नेपाली कांग्रेसलाई हाँक्ने सक्षम नेतृत्वका रूपमा गगन थापालाई हेर्नेहरूको आकर्षण पार्टीभित्र र बाहिर उत्तिकै अर्थपूर्ण छ ।

जेनजी आन्दोलनको मर्म बुझेका गगन–विश्वप्रकाशले केवल उन्नत लोकतन्त्रको कुरा मात्रै गरेका छैनन्, उनीहरूले पार्टीभित्रका विसङ्गतिविरुद्ध विद्रोहसमेत गरेका छन् । उनीहरूले समुन्नत नेपालको कार्यसूची र सामाजिक लोकतन्त्रलाई सिद्धान्तका रूपमा अघि सारेका छन् ।

बीपी कोइराला भन्नुहुन्थ्यो, ‘देशका बारेमा द्विविधा भएमा निर्णय लिनुपर्दा मातृभूमिको माटो एउटा हातमा समात्नुस्, अर्को हात छातीमा राख्नुस् र एकाग्र भएर सोच्नुस्; अनि मनमा जे आउँछ, त्यही निर्णय गर्नुहोस् ।’ यसको सार भनेकै भुइँतहका मानिसको आवाज सुन्नु भन्ने हो । गगन–विश्वप्रकाशले अहिले पार्टीका पिँधमा रहेका कार्यकर्ता र नागरिकको आवाज सुनेरै निर्णय लिइरहेका देखिन्छन् ।

नेपाली कांग्रेसले स्थापनाकालदेखि अङ्गीकार गरेको बहुलवादमा आधारित उदार लोकतान्त्रिक व्यवस्था आज अन्य दलहरूका लागि पनि सर्वस्वीकार्य बनेको छ । हिजो विपरीत विचार राख्ने शक्तिहरू पनि आज यही व्यवस्थाभित्र आफ्नो राजनीतिक भविष्य खोजिरहेका छन् । वैकल्पिक भनिएका रास्वपा वा अन्य नयाँ दलहरूको वैचारिक स्रोत पनि अन्ततः कांग्रेसकै सिद्धान्तसँग मेल खान्छ । उनीहरू पुरानै गीतलाई नयाँ ‘भर्सन’ मा गाएर श्रोता लोभ्याउने प्रयास गरिरहेका दल मात्र हुन् ।

  • महाधिवेशनको अपेक्षा

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आगामी पुस २७ देखि २८ सम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णय गर्नु स्वागतयोग्य छ । यो महाधिवेशनले नेपाली राजनीतिमा देखिएको अस्थिरता र तरलतालाई सम्बोधन गर्न सकोस् ।

पार्टी नेतृत्वले ढिला नगरी महामन्त्रीद्वयको प्रस्तावलाई स्वीकार गर्नु नै पार्टी र देशको हितमा हुनेछ । पार्टीलाई समग्र रूपमा रूपान्तरण गर्न सक्ने क्षमता, वाकचातुर्य र लोकतान्त्रिक संस्कार भएका युवा नेताहरूलाई नेतृत्वको अवसर दिनु नै अहिलेको प्रमुख आवश्यकता हो ।

जनताको आशाको केन्द्रमा रहेका ती युवाहरूलाई नेतृत्वले विश्वास र साथ दिनु नै कांग्रेसको पुनर्जागरणको प्रस्थानबिन्दु बन्नेछ । पार्टीभित्रको आन्तरिक लोकतन्त्र र देशको लोकतान्त्रिक व्यवस्थालाई जोगाउनका लागि पनि गगन–विश्वप्रकाशहरू अघि बढ्नै पर्नेछ । युवाहरू अघि बढ्नु पर्नेछ । हाम्रो लोकतन्त्रका जराहरूलाई जमिनको धेरै तलसम्म फिँजाउनै पर्नेछ ।

फेरि पनि सबैमा शुभकामना !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेश भट्ट आश्रिन
सुरेश भट्ट आश्रिन
लेखकबाट थप