एल क्लासिको : दबाबमा रियल, बार्सिलोनालाई बदला लिने मौका
सारांश
- एल क्लासिको, बार्सिलोना र रियल मड्रिडबीचको खेल साउदी अरबमा हुँदैछ।
- रियल मड्रिडका प्रशिक्षक जाबी अलोन्सो दबाबमा छन्, र उनलाई उपाधि जित्नुपर्ने चुनौती छ।
- किलियन एमबाप्पेको उपस्थिति अनिश्चित रहेको छ, तर उनी खेल्न सक्ने सम्भावना रहेको छ।
काठमाडौँ । विश्व फुटबलका ठुला प्रतिस्पर्धामध्ये एक एल क्लासिको आज राति नेपाली समय अनुसार राति पौने १ बजे साउदी अरबको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा हुँदैछ । स्पेनी सुपर कपको फाइनलमा बार्सिलोना र चिरप्रतिद्वन्द्वी रियल मड्रिड आमनेसामने हुनेछन् ।
गत वर्षको फाइनलमा रियललाई पराजित गर्दै उपाधि जितेको बार्सिलोना यसपटक पनि ला लिगामा रोक्नै गाह्रो टोली बनेको छ । उता रियल मड्रिड भने दबाबमा देखिएको छ, विशेषगरी नयाँ प्रशिक्षक जाबी अलोन्सोमाथि दबाब बढ्दो छ ।
अलोन्सोले पछिल्ला साताहरूमा रियल मड्रिडको डुब्न लागेको जहाज केही हदसम्म सम्हालेका छन् । तर सुपर कप फाइनल उनका लागि ‘गर वा मर’को क्षण बन्न सक्ने देखिन्छ । खराब प्रदर्शनपछि बर्खास्तीको संघारमा पुगेका अलोन्सोले लगातार पाँच खेल जितेर आफ्नो बाटो सहज भएको संकेत दिएका छन् । रियल मड्रिडको पाँचौँ जित बिहीबार सेमिफाइनलमा एट्लेटिको मड्रिडविरुद्ध आएको थियो ।
यदि उनले उपाधि दाबेदार बार्सिलोनालाई हराए भने त्यो रियलको प्रशिक्षकको रूपमा उनको पहिलो ट्रफी हुनेछ । बार्सिलोनामाथि लगातार दोस्रो जितले अलोन्सोलाई केही समय र राहत दिनेछ । तर हान्सी फ्लिकको टोलीसँग पराजित भएमा क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजका लागि उनलाई हटाउने अर्को बहाना बन्न सक्छ ।
स्पेनी सञ्चारमाध्यमका अनुसार डिसेम्बर १० मा च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीसँग हार्दा अलोन्सोलाई बर्खास्त गर्ने तयारी थियो । त्यो खेल रियलले हारे पनि पछिल्लो सुधारिएको प्रदर्शनले उनलाई अर्को मौका दिएको हो ।
गत वर्ष जेद्दाहमै भएको सुपर कप फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५–२ गोलले पराजित गरेको थियो । त्यो हार तत्कालीन प्रशिक्षक कार्लो एन्चेलोटीका लागि ठुलो धक्का थियो भने बार्सिलोना प्रशिक्षकको रूपमा नयाँ आएका हान्सी फ्लिकका लागि टर्निङ प्वाइन्ट बन्यो ।
सुपर कप बार्सिलोना र रियलका लागि कति महत्त्वपूर्ण ?
गत सिजन सुपर कप जितेपछि फ्लिकको बार्सिलोनाले ला लिगा र कोपा डेल रे दुवै जित्यो । यसअघिका तीन सिजनमा पनि सुपर कप जित्ने टोलीले ला लिगा उपाधि जितेको तथ्यांक छ ।
‘हामी अहिले जुन सुपर कपको उपाधिका लागि खेल्दैछौं, त्यसैले अहिले यो पहिलो प्राथमिकतामा पर्छ । तर सिजनको प्राथमिकताका हिसाबले हेर्दा यो चौथो नम्बरमा पर्छ,’ अलोन्सोले भने ।
यता पछिल्लो समय राम्रो लयमा रहेको बार्सिलोनालाई पनि ला लिगा र च्याम्पियन्स लिगमा आफूलाई बलियो बनाउन पनि यो उपाधि आवश्यक छ । त्यस्तै रियलसँग ला लिगामा भोगेको हारको बदला लिने मौका पनि हो ।
किलियन एमबाप्पेको अवस्था
घुँडाको चोटका कारण एट्लेटिकोविरुद्धको सेमिफाइनल र ला लिगामा रियल बेटिसविरुद्धको खेल गुमाएका किलियन एमबाप्पे टोलीमा फर्किएका छन् । अलोन्सोले एमबाप्पे बार्सिलोना विरुद्ध सुरुआती ११ मा पर्न सक्ने अन्य खेलाडीसरह सम्भावना रहेको बताए । यस सिजन सबै प्रतियोगितामा २४ खेलमा २९ गोल गरेका एमबाप्पे रियलका सर्वाधिक गोलकर्ता हुन् ।

रियलमा आएपछि उनले बार्सिलोनाविरुद्ध पाँच खेलमा ६ गोल गरिसकेका छन् । तर एमबाप्पे, भिनिसियस जुनियर र जुड बेलिङह्याम एकसाथ खेल्दा टोलीको सन्तुलन बिग्रने चिन्ता पनि प्रशिक्षकका लागि चुनौती बनेको छ ।
भिनिसियस र रोड्रिगोको प्रदर्शन कस्तो छ ?
पछिल्ला सातामा अलोन्सोका लागि अत्यन्त महत्त्वपूर्ण खेलाडी बनेका छन् ब्राजिलियन विंगर रोड्रिगो । ३२ खेलसम्म गोल गर्न नसकेका उनी पछिल्ला पाँच खेलमा तीन गोल र तीन असिस्टसहित उत्कृष्ट फर्ममा फर्किएका छन् । तर अर्का विंगर भिनिसियस जुनियर भने खराब लयमा छन् ।
२०२४ को बालोन डी’ओरमा दोस्रो स्थान पाएपछि उनको प्रदर्शन खस्किएको छ । भिनिसियसले रियलका लागि पछिल्ला १६ खेलमा गोल गर्न सकेका छैनन् ।
पछिल्लो एल क्लासिकोमा के भयो ?
गत सिजन बार्सिलोनाले चारै भेटमा रियललाई हराएको थियो । तर यो सिजन अक्टोबरमा भएको ला लिगा एल क्लासिकोमा अलोन्सोको रियलले बार्सिलोनालाई २–१ ले हराएको थियो ।

‘हामीले जित्नैपर्छ, गत वर्ष बार्सिलोनासँग दुई फाइनल हारेका थियौँ । बार्सिलोना पनि जित्न चाहन्छ । ला लिगामा एल क्लासिको हारको बदला लिने उनीहरूको योजना हुनेछ,’ रियलका गोलरक्षक थिबाउट कोर्टुवाले भने ।
तयार छ बार्सिलोना
बार्सिलोना प्रशिक्षक हान्सी फ्लिकले एमबाप्पेलाई ‘अहिलेको उत्कृष्ट स्ट्राइकर’ मानेका छन् । तर उनले आफ्नो टोली आत्मविश्वासमा रहेको बताएका छन् । ‘एमबाप्पे विश्वस्तरीय खेलाडी हुन्, उनले धेरै गोल गरेका छन् । तर गत सिजन हामीले उनको टोलीलाई चारै पटक हराएका थियौँ,’ फ्लिकले भने ।
के हो स्पेनिस सुपर कप ?
स्पेनिस सुपर कपमा ला लिगा र कोपा डेल रेका विजेता तथा उपविजेता टोलीहरू सहभागी हुन्छन् । सन् १९८२ मा सुरु भएको प्रतियोगिता सन् २०२० देखि चार टोलीको ढाँचामा खेलाइँदै आएको छ ।
फाइनल कहाँ हुँदैछ ?
स्पेनिस सुपर कप लगातार दोस्रो वर्ष साउदी अरबमा आयोजना भइरहेको छ । जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा सबै खेल हुँदैछन् । यो रंगशाला सन् २०३४ को विश्वकपको आयोजक स्थलसमेत हुनेछ ।
हेड–टु–हेड
दुवै टोलीबीच यो २६२औँ भेट हुनेछ । रियल म्याड्रिडले १०६ खेल जित्दा बार्सिलोनाले १०४ खेल जितेको छ ।
टिम रिपोर्ट
बार्सिलोना
मार्क–आन्द्रे टेर स्टेगन, गाभी र आन्द्रेयास क्रिस्टेन्सन अनुपस्थित छन् । लामिन यामाल सुरुआती ११ मा फर्किने सम्भावना छ । रोनाल्ड अराउहो बेन्चबाट सुरु गर्ने अपेक्षा गरिएको छ ।

रियल मड्रिड
एमबाप्पे खेल्ने वा नखेल्ने मुख्य चासोको विषय बनेको छ । ट्रेन्ट अलेक्जेन्डर–आर्नोल्ड, एदर मिलिताओ र ब्राहिम डियाज बाहिर छन् ।

सम्भावित सुरुआती ११
बार्सिलोना
जे गार्सिया, कुण्डे, कुबार्सी, ई. गार्सिया, बाल्डे, पेद्री, डे योङ, यामाल, राफिन्हा, फर्मिन, फेरेन टोरेस
रियल मड्रिड
कोर्टुवा, भाल्भेर्दे, असेन्सियो, हुयसेन, करेरास, कामाभिङ्गा, चुआमेनी, बेलिङह्याम, रोड्रिगो, एमबाप्पे, भिनिसियस ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण