क्युबालाई ट्रम्पको चेतावनी : सम्झौता गर, नत्र गम्भीर नतिजा भोग्न तयार रहनु
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले क्युबालाई भेनेजुएलाबाट तेल र पैसाको प्रवाह रोकिने चेतावनी दिए।
- ट्रम्पले क्युबालाई सम्झौता गर्न वा गम्भीर नतिजा भोग्न तयार रहन चेतावनी दिएका छन्।
- क्युबाका विदेशमन्त्रीले अमेरिकाको हस्तक्षेप बिना इन्धन आयात गर्ने अधिकार रहेको बताए।
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तत्काल ‘सम्झौता गर्न’ वा गम्भीर नतिजा भोग्न तयार रहन चेतावनी दिएका छन् । भेनेजुएलाबाट क्युबा जाने तेल र पैसाको प्रवाह अब रोकिने भन्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
गत ३ जनवरीमा अमेरिकी सेनाले भेनेजुएलाका नेता निकोलस मादुरोलाई राजधानी काराकसबाट एक कारबाहीका क्रममा नियन्त्रणमा लिएपछि ट्रम्पको ध्यान अब क्युबातर्फ मोडिएको छ । क्युबाको लामो समयदेखिको मित्रराष्ट्र मानिने भेनेजुएलाले टापु राष्ट्र क्युबालाई दैनिक करिब ३५ हजार ब्यारेल तेल पठाउने गरेको विश्वास गरिन्छ ।
ट्रम्प प्रशासनले प्रतिबन्धित भेनेजुएलाको तेल बोकेका ट्याङ्करहरू जफत गर्ने रणनीति अपनाएपछि क्युबामा इन्धन र बिजुलीको संकट गहिरिन थालेको छ । शुक्रबार मात्रै अमेरिकाले भेनेजुएलाबाट प्रतिबन्धित तेल बोकेको भन्दै पाँचौँ तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो ।
ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेखेका छन्, ‘क्युबा धेरै वर्षसम्म भेनेजुएलाको ठूलो परिमाणको तेल र पैसामा बाँचेको थियो । यसको बदलामा क्युबाले भेनेजुएलाका पछिल्ला दुई तानाशाहलाई 'सुरक्षा सेवा' प्रदान गर्यो, तर अब त्यस्तो हुँदैन ।’ उनले क्युबामा जाने तेल र पैसा पूर्ण रूपमा बन्द हुने (जिरो) भन्दै धेरै ढिलो हुनुअघि नै सम्झौता गर्न क्युबाली नेतृत्वलाई कडा सुझाव दिएका छन् ।
यद्यपि, ट्रम्पले कस्तो खालको सम्झौता गर्ने वा क्युबाले कस्तो नतिजा भोग्नुपर्ने भन्नेबारे स्पष्ट पारेका छैनन् । उता क्युबाका विदेशमन्त्री ब्रुनो रड्रिग्वेजले भने ट्रम्पको भनाइको प्रतिवाद गरेका छन् । उनले आफ्नो देशलाई अमेरिकाको एकपक्षीय हस्तक्षेप वा अधीनता बिना कुनै पनि इच्छुक निर्यातकबाट इन्धन आयात गर्ने ‘पूर्ण अधिकार’ रहेको बताए ।
क्युबाका राष्ट्रपतिले पनि ‘हामीले के गर्ने भनेर कसैले निर्देशन दिन सक्दैन’ भन्दै प्रतिक्रिया दिएका छन् । विदेशमन्त्री रड्रिग्वेजले अमेरिकाले जस्तो क्युबाले अन्य राज्यहरूविरुद्ध ‘ब्ल्याकमेल वा सैन्य दबाब’ को सहारा नलिने पनि स्पष्ट पारे ।
आफ्नो चेतावनीका क्रममा ट्रम्पले मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको घटनालाई पनि सन्दर्भको रूपमा उल्लेख गरेका छन् । मादुरो दम्पतीले अहिले अमेरिकामा लागुऔषध ओसारपसार र अन्य गम्भीर आरोपहरूको सामना गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण