काठमाडौँ । नेपाली कांग्रेसमा जारी विवाद समाधानको लागि दुवै पक्षले समिति नै गठन गरेर छलफललाई तीव्रता दिएका छन् । कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र र वार्ता सँगसँगै अघि बढेको हो । यद्यपि दिनभर प्रयास गर्दा पनि कांग्रेसमा नतिजा भने निस्कन सकेन ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकाे प्रतिवेदन पारित गर्दै मंगलबारकाे बन्दसत्र सकिएकाे छ ।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम आजका लागि स्थगित गरिएको छ ।
निर्वाचन समितिका संयोजक सीताराम केसीकाअनुसार आजलाई उम्मेदवारी दर्ता स्थगित गरिएकाे हाे । उनका अनुसार भोलि बिहान सवा ८ बजेदेखि सवा ९ बजेसम्म का लागि समय तोकिएको छ ।रातोपाटीसँग कुरा गर्दै केसीले आज कति उम्मेदवारी परेको भन्ने यकिन गर्न बाँकी रहेको र त्यसबारेको विस्तृत विवरण पनि भोलि नै सार्वजनिक गरिने बताए ।
काठमाडौँ । नेपाली कांग्रेसभित्रको विवाद दुई विषयमा अझै मिल्न सकेको छैन । बिहानदेखि दुई चरणमा बसेको वार्तामा अहिलेसम्म दुई विषय मिल्न नसकेको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति शेरबहादुर देउवा राजनीतिबाट अलग हुने भन्ने विषय संस्थापनका तर्फबाट वार्तामा बसेकाहरूले मानेका छैनन् ।
प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचन लड्ने उम्मेदवारहरूको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्ताक्षर गर्नुपर्ने विषयमा पनि संस्थापन पक्ष सहमत भएकाे छैन ।
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वसँग छलफलका साथै आन्तरिक चुनावी प्रक्रियाको पनि तयारी भइरहेका जनाएको छ ।
मंगलबार भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन प्रचार विभागले नेतृत्वसँग छलफल भइरहेको र आफूहरू निर्वाचनको तयारीमा समेत लागेको जनाएको हो ।
प्रचार समितिका संयोजक सुवास पोखरेलले नेतृत्वसँग सहमति नभए बुधबार निर्वाचन प्रक्रिया अघि बढ्ने बताए । उनले अन्य विषयमा सहमति नजिक पुगे पनि नेतृत्व चयनका विषयमा संस्थापन पक्षसँग सहमति जुट्न नसकेको बताए । उनले सहमति भएपनि विशेष अधिवेशनको हलले स्वीकार गर्नुपर्ने उल्लेख गरे ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । सानेपामा साढे ७ बजे बसेको बैठक उपसभापति धनराज गुरुङले करिब १ मिनेट बोल्नासाथ बैठक स्थगित गरिएको हो ।
गुरुङले विशेष महाधिवेशन पक्षधरसँग सहमतिका लागि वार्ता भइरहेको र सकारात्मक दिशामा अघि बढिरहेको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जनकारी दिइन् ।
बैठक फेरि भोलि बिहान ८ बजे बस्नेगरी बोलाइएको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाइरहेका बेला शेरबहादुर देउवा पक्षले पार्टी विभाजन रोक्न वार्ता गर्दै आएको छ ।
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले विधान संशोधन प्रस्ताव पारित गरेको छ । पारित नयाँ विधानले पार्टी सदस्यता, नेतृत्व चयन प्रक्रिया र राजकीय पदहरूको कार्यकालका सम्बन्धमा आवश्यक व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार कांग्रेसका नेताहरूले राजकीय पदमा अनियन्त्रित समयसम्म बसिरहन पाउने छैनन् ।
जसअनुसार अबदेखि कांग्रेसका कुनै पनि नेता एक पटकभन्दा बढी राष्ट्रपति र दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न पाउने छैनन् । यसैगरी, मन्त्रीका लागि तीन पटक र प्रत्यक्ष निर्वाचित सांसदका लागि चार पटकको अधिकतम सीमा तोकिएको छ । समानुपातिक प्रणालीबाट सांसद हुने अवसर भने एक व्यक्तिका लागि जीवनभरमा एक पटक मात्र उपलब्ध हुने गरी निर्णय गरिएको छ ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन अब केन्द्रदेखि तल्लो तहसम्मका सबै नेताहरू अनिवार्य रूपमा वडा तहबाटै चुनिएर आउनुपर्ने व्यवस्था गरिएको छ । केन्द्रीय सभापति समेत आफैँ सदस्य रहेको वडाबाट प्रतिनिधि चुनिएर नआएमा माथिल्लो तहको नेतृत्वका लागि योग्य हुने छैनन् । यसले ‘टप–डाउन’ नेतृत्व प्रणालीको अन्त्य गरी ‘बटम–अप’ (तल्लो तहबाट माथि) पद्धतिलाई स्थापित गरेको छ ।
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रबाट संशोधनसहित विधान पारित भएको छ । मंगलबारको बन्दसत्रबाट संशोधनसहित विधान पारित भएको हो ।
गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताएका छन् ।
मंगलबारकाे बन्दसत्रको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैँमा एउटा विद्रोह भएको जिकिर गरे ।
उनले भने,'यो विद्रोह हो । प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो । मौनता साँध्नु भनेको मृत्युलाई अङ्गाल्नु जस्तै हो ।’
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जाने बताएका छन् ।
मंगलबार काठमाडाैँमा विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।उनले नेतृत्व चयन गरिसकेपछि प्रतिनिधिहरु घर फर्किन मिल्ने भएपनि आफूहरु निर्वाचन आयोग जानुपर्ने स्थिति रहेको बताए ।
उनले निर्वाचन आयोगले विशेष महाधिवेशनले के म्याण्डेट लिएर आयो भनेर पर्खिरहेको हुने जिकिर गरे । उनले आफूले उम्मेदवारी दिएको र जित्छु भन्ने विश्वास रहे पनि कतिपय अवस्थामा सर्वसम्मत रुपमा आउनुपर्ने स्थिति रहने बताए।
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता सुरु भएको छ ।
मंगलबार काठमाडौँको भृकुटीमण्डपमा उम्मेदवारहरूको मनोनयन दर्ता सुरु भएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिए। विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
काठमाडौँ । विभाजन उन्मुख नेपाली कांग्रेसलाई मिलाउन चार घण्टा बसेको वार्ता बिना निष्कर्ष सकिएको छ ।
मंगलबार बालुवाटारमा बसेको वार्ता बिना निष्कर्ष सकिएको र आजै फेरि बस्ने तयारी रहेको वार्ता समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
'अहिले कुनै निष्कर्ष निस्किसकेको छैन आजै फेरि बसेर निष्कर्ष निकाल्ने तयारी छ', पौडेलले रातोपाटीसँग भने। वार्ता समितिका अर्का एक सदस्यका अनुसार नेता परिवर्तन गर्ने विषयमा कुरा मिलिरहेको छैन ।
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबिच निरन्तर छलफल भइरहेको छ ।
पार्टीलाई एकताबद्ध गर्ने प्रयास स्वरूप वार्ता भइरहेको नेताहरूले बताएका छन् । केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका कांग्रेस नेता एनपी साउँदले दुई पक्षबिच छलफल चलिरहेको र पार्टीलाई फुटबाट जोगाउने प्रयास भइरहेको जानकारी दिए ।
छलफल टुङ्गिएपछि मात्रै केन्द्रीय समितिको बैठक बस्ने उनले बताए । उनले केही विषयमा दुवै पक्ष सहमति नजिक पुगेको र केही विषयमा अझै पनि छलफल जारी रहेको धारणा राखे ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार साँझ ७ बजे बस्ने भएको छ । सभापति शेरबहादुर देउवा पक्षधरको बैठक साँझ ७ बजे बस्ने भएकाे हाे ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाका अनुसार केन्द्रीय कार्यसमिति बैठक साँझ ७ बजे बस्ने भएको हो ।
'कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ७ बजे बस्ने भन्ने जानकारी हामीले पाएका छौँ। हामी पार्टी केन्द्रीय कार्यालय सानेपामै कुरेर बसिरहेका छौँ,' केन्द्रीय सदस्य खतिवडाले रातोपाटीसँगको संवादमा भनिन् ।
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान नहुने भएको छ । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार आज नयाँ नेतृत्व चयनका लागि मतदान नहुने भएको हो ।
उनका अनुसार आज साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको छ ।
उनले अब समय नथपिने बताउँदै परिमार्जित कार्यतालिका सार्वजनिक गरिने बताए । बुधबार बिहानबाट बाँकी कार्यक्रम अघि बढाउने निर्वाचन समिति संयोजक केसीले बताए । गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ ।
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत सभापतिका लागि चार जनाले मनोनयनपत्र लिएका छन् ।
मंगलबार साँझ साढे ७ बसेसम्म उम्मेदवारहरूको मनोनयनपत्र दर्ताको समय छ ।
निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार हालसम्म सभापति लड्ने भन्दै चार जनाले मनोनयनपत्र लिएका हुन् । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ ।
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा छुट्टै छलफलमा बसेका छन् । मंगलबार उनीहरू पार्टी कार्यालयमा छलफल गरिरहेका हुन् ।
छलफलमा खड्कासहित उपसभापति धनराज गुरुङ, नेताहरू शेखर कोइराला,विमलेन्द्र निधि लगायत छन् । यता केन्द्रीय सदस्यहरू भने बाहिर केन्द्रीय समिति बैठकका लागि बसेका छन्।
नेताहरूका अनुसार बालुवाटारको बैठक सकिएपछि मात्रै केन्द्रीय समिति बैठक सुरु गर्ने तयारी छ ।
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले महाधिवेशन प्रतिनिधिहरू शेरबहादुर देउवा पक्ष वार्ता गर्न गए पनि भागबण्डाका लागि नगएको स्पष्ट पारेका छन् ।
देउवा पक्षका नेताहरूले अफवाह फैलाउँदै ४० प्रतिशत भाग खोज्न विशेष महाधिवेशन गरेको आरोप लगाइरहेका छन् । संयोजक पोखरेलले भने, 'यो विशेष महाधिवेशन शतप्रतिशतका लागि हो ४० प्रतिशतका लागि हैन ।’
उनले अगाडि भने,'हामीले भागबण्डा गर्न पठाएका होइनौँ । वार्ता हाम्रो नेतृत्व परिवर्तनका लागि हो ।’
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारको मनोनयन दर्ताको समय फेरि थपिएको छ ।
केन्द्री निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवारको मनोनयन दर्ताको समय थपिएको हो । उनका अनुसार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ ।
यसअघि साँझ ५ बजेसम्मको समय तोकिएको थियो । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदै छ ।
विराटनगर । नेपाली कांग्रेस पुनः विभाजनको डिलमा पुगेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘विशेष महाधिवेशन’ र त्यसले अगाडि बढाएको नयाँ नेतृत्व चयन प्रक्रियाले पार्टीलाई औपचारिक रूपमै फुटको सँघारमा पुर्याएको हो ।
संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैधानिक भनिरहेका बेला आयोजक पक्ष भने नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेर अगाडि बढिसकेको छ । कांग्रेसभित्र चुलिएको यो चरम विवाद र विभाजनको खतरालाई लिएर पार्टीका पुराना नेता–तथा कार्यकर्ता भने चिन्ता प्रकट गर्दछन् ।
विराटनगरकी पुरानो एवं निष्ठावान् नेतृ मृदुला कोइरालाले पार्टी विभाजनको डिलमा पुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेकी छन् । कोइराला परिवारको विरासत र कांग्रेसको लामो इतिहासलाई नजिकबाट हेरेकी उनले वर्तमान नेतृत्वलाई पार्टी विभाजन रोक्न आग्रहसमेत गरेकी छन् ।
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत निर्वाचनका लागि ३० वटा मनाेनयनपत्र वितरण गरिएको छ । निर्वाचन समितिका अनुसार सभापतिसहित पदाधिकारीका लागि ३० वटा मनाेनयपत्र वितरण गरिएको हो ।
साढे ३ बजेसम्म उक्त संख्यामा मनाेनयनपत्र वितरण गरिएको हो । जसमा ३ वटा सभापति पदको मनोनयनपत्र वितरण गरिएको छ भने बाँकी अन्य पदाधिकारीका लागि वितरण गरिएको हो ।
साँझ ५ बजेपछि मनाेनयनपत्र दर्ता हुने बताइएको छ । काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन जारी छ ।