शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : कांग्रेसको विभाजनदेखि रविलाई राहतसम्म

बुधबार, ३० पुस २०८२, २२ : ००
बुधबार, ३० पुस २०८२

काठमाडौँ । आज मिति २०८२ साल पुस महिनाको ३० गते बुधबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१० बजे १० समाचार’ लिएर आएका छौँ–

  • कांग्रेसमा कारबाही

नेपाली कांग्रेसको संस्थापन समूहले दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासनको घोषणा गरेसँगै पार्टी विभाजनतिर उन्मुख भएको छ। बुधबार पार्टी कार्यालय सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मासहित सहमहामन्त्री फर्मुलाह मन्सुरलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट  निष्कासनको घोषणा गरेको हो ।

  • कारबाहीबारे प्रतिक्रिया

नेपाली कांग्रेसका नेता उदय शमशेर राणाले पार्टी फुटेको नभई नेतृत्व मात्र परिवर्तन हुन लागेको बताएका छन् । बुधबार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नेता राणाले यस्तो बताएका हुन् ।

पाली कांग्रेसकी नेतृ पुष्पा भुसालले विशेष महाधिवेशनको बन्दसत्रले केन्द्रीय कार्यसमिति विघटन गरिसकेको अवस्थामा महामन्त्रीहरूमाथि गरिएको कारबाहीको कुनै कानुनी हैसियत नहुने बताएकी छन् । 

नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले शेरबहादुर देउवा पक्षले गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरलाई कारबाही गर्ने अधिकार नै नराख्ने टिप्पणी गरेका छन् ।

मुलुकको राजनीतिक अनिश्चयका बिच सबैभन्दा ठुलो र स्थापित लोकतान्त्रिक दल नेपाली कांग्रेसमा आएको विभाजनलाई राजनीतिक विश्लेषक मुमाराम खनालले एउटा दुखद तर अनिवार्य मोडको रूपमा व्याख्या गरेका छन्।

वरिष्ठ अधिवक्ता तथा संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले कांग्रेसको यो विभाजन र विशेष महाधिवेशनलाई विधान र कानुनको कसीमा विश्लेषण गर्दै भृकुटीमण्डपमा जारी महाधिवेशन वैधानिक रहेको दाबी गरेका छन् ।

नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसभित्रको विभाजनलाई दुःखद र चिन्ताजनक घटना बताएका छन् । लोकतन्त्र कमजोर बनेको अवस्थामा कांग्रेस फुट्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै उनले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति कटाक्ष गरेका छन् ।

 वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मामाथि सभापति शेरबहादुर देउवाले गरेको कारबाहीलाई अत्यन्तै मूर्खतापूर्ण र अवैध भएको टिप्पणी गरेका छन् ।

  • गगनको गर्जन

नेपाली कांग्रेसको संस्थापन पक्षले कारबाही गरेको समाचार बाहिरिए लगत्तै महामन्त्री गगन थापाले विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेर त्यसको कडा प्रतिवाद गरेका छन् । विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै थापाले सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले गरेको कारबाहीलाई ‘प्राइभेट कम्पनीको निर्णय’ भन्दै सिधै खारेज गरिदिएका हुन्। 

  • विभाजन उन्मुख कांग्रेस

नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माका साथै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट पाँच वर्षका लागि निष्कासित गर्ने निर्णय गरेसँगै विवाद नयाँ चरणमा प्रवेश गरेको छ । विशेष महाधिवेशन पक्षधर यी तीन पदाधिकारीलाई बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी हित विपरीत काम गरेको ठहर गर्दै कारबाही गरेको हो । यसका बाबजुद भृकुटीमण्डपमा गगन–विश्वप्रकाश पक्षले विशेष महाधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया अघि बढाएको छ ।

  • रविलाई राहत

महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोगहरू फिर्ता लिने प्रक्रिया अगाडि बढाएको छ ।

  • राष्ट्रिय खेलकुद

कर्णाली प्रदेशमा आयोजना हुने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि पनि नहुने संकेत देखिएको छ । आयोजक केन्द्र सरकार र प्रदेश सरकारबिच समन्वय, सहकार्य तथा दुवै तहका सरकारले गर्नुपर्ने आवश्यक कामहरूको पूर्णता र प्रक्रियागत ढिलाइले प्रतियोगिता फेरि पनि नहुने संकेत देखाएको हो ।

  • अपराध

 सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर–२ स्थित हायुटारमा अवस्थित एसबिआई बैंकमा पुस २९ मा साँझ ६–७ जना प्रवेश गरे । गाउँपालिकाको केन्द्रमा सञ्चालित बैंकको शाखाका सुरक्षा गार्ड रुद्रबहादुर कार्की खाना पकाउँदै थिए । बैंकको अरू ३ जना कर्मचारी खाना खान बाहिर निस्केका थिए ।

मुलुकको प्रदेश संरचना हटाउँदै सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गर्दै मोबाइलमा ग्रुप म्यासेज पठाउने निर्देश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

  • विद्युत् बक्यौता विवाद

लामो समयदेखि विवादित बन्दै आएको डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुल विवाद सुल्झाउन नेपाल विद्युत् प्राधिकरणले नयाँ बाटो रोज्न थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन र अदालतको समेत आदेशलाई कार्यान्वयन गर्ने गरी प्राधिकरणले विद्युत् महसुल विवाद सम्बन्धी प्रशासकीय पुनरवलोकन समितिलाई पुनः ब्युँताएर विद्युत् बक्यौता तिर्न बाँकी रहेका उद्योगीहरूलाई आफ्नो प्रमाण पेस गर्ने अन्तिम मौका दिने तयारी थालेको हो ।

  • इम्बोस्ड नम्बर प्लेट जडान

लामो समयदेखि विवादको घेरामा रहेको इम्बोस्ड नम्बर प्लेट जडानका लागि तीन वर्षको म्याद थपिएको छ । गत भदौमा जेनजी आन्दोलनका क्रममा कारखाना ध्वस्त भएपछि अन्योलमा परेको यो योजनालाई निरन्तरता दिँदै सरकारले आपूर्तिकर्तासँगको सम्झौताको म्याद तीन वर्षका लागि थप गरेको हो ।

  • निर्वाचन

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर ५ चर्चामा छ । किनकि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘सेफ जोन’ मानिने यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ‘काउन्टर’ दिने तयारी गरेका छन् । 

नेपाली कांग्रेस आन्तरिक झमेलामै व्यस्त रहँदा सुर्खेतमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेले भने चुनावी अभियानलाई तीव्र पारिसकेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुकुम पश्चिममा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवार टुंगो लगाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप