पोखरा विमानस्थलमा अनियमितता : विशेष अदालतको आदेशविरुद्ध अख्तियार सर्वोच्चमा
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाका आरोपीलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन दिएको छ।
- विशेष अदालतले धरौटीमा छाडेका र साधारण तारेखमा रिहा गरेका व्यक्तिहरूलाई थुनामा राख्न अख्तियारको माग छ।
- अख्तियारले लागत अनुमान बढाएर राज्यलाई आर्थिक हानि पुर्याएको आरोप लगाएको छ र प्रमाण लोप हुने खतरा रहेको जनाएको छ।
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोग लागेका आरोपितहरूलाई विशेष अदालतले कम धरौटी र साधारण तारेखमा छाडेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । अख्तियारले शुक्रबार सर्वोच्चमा निवेदन दिँदै विशेष अदालतको आदेश बदर गरी प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेको हो ।
विशेष अदालत काठमाडौँले गत मंसिर र पुसमा गरेको थुनछेक आदेश त्रुटिपूर्ण रहेको दाबी अख्तियारले गरेको छ । विशेष अदालतले प्रतिवादी प्रदीप अधिकारीलाई ५ लाख र मुरारी भण्डारीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो भने अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय, महेशकुमार बस्नेत, नारायण गिरी र बाबुराम पौडेललाई साधारण तारेखमा रिहा गरेको थियो । अख्तियारले यी सबै आरोपितलाई विशेष अदालत ऐन, २०५९ को दफा ७ (ङ) बमोजिम थुनामै राखेर मुद्दा अघि बढाउन माग गरेको छ ।
- के हो आरोप ?
अख्तियारका अनुसार पोखरा विमानस्थल निर्माणका क्रममा लागत अनुमान अस्वाभाविक रूपमा बढाएर राज्यलाई ठुलो आर्थिक हानी पुर्याइएको छ । प्रतिवादीहरूले मिलेमतोमा स्वीकृत लागत अनुमान १६ करोड ९६ लाख ९७ हजार अमेरिकी डलरभन्दा ७ करोड ४३ लाख ४३ हजार ४५० अमेरिकी डलर (करिब ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ) बढी देखाएर सम्झौता गराएको अख्तियारको दाबी छ ।
यसका लागि निर्माण कम्पनी ‘चाइना सीएएमसी इन्जिनियरिङ’ ले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदन (फिजिबिलिटी स्टडी रिपोर्ट) लाई प्रतिवादीहरूले ‘उच्च प्रशंसा’ (हाइली एप्रिसिएटेड) भन्दै स्वीकार गरेका थिए । उक्त प्रतिवेदनमा विमानस्थल निर्माण लागत २६ करोड ४९ लाख ५८ हजार अमेरिकी डलर लाग्ने उल्लेख थियो, जसलाई प्रतिवादीहरूले बिना कुनै प्रश्न सदर गर्दै सम्झौताको आधार बनाएको अख्तियारको आरोप छ ।
- अख्तियारको तर्क : किन थुनामा राख्नुपर्छ ?
सर्वोच्चमा दायर निवेदनमा अख्तियारले विशेष अदालतको आदेश बदर गर्नुपर्ने सात वटा मुख्य आधार पेस गरेको छ :
१. मिलेमतो र बदनियत : प्रतिवादीहरूले चिनियाँ कम्पनीसँगको मिलेमतोमा लागत बढाउने उद्देश्यले तयार पारिएको प्रतिवेदनलाई विना प्रश्न स्वीकार गरेका छन् । यसले राज्यलाई अर्बौंको नोक्सानी पुर्याएको छ ।
२. बिगोको तुलनामा धरौटी न्यून : राज्यलाई ८ अर्ब ३६ करोडभन्दा बढी नोक्सानी पुर्याएको अभियोगमा ५ लाख र १ लाख धरौटी माग्नु वा साधारण तारेखमा छाड्नु न्यायोचित नभएको अख्तियारको जिकिर छ ।
३. समान कसुरमा असमान आदेश : एउटै प्रकृतिको कसुर र समान संलग्नता भएका प्रतिवादीहरूमध्ये कसैलाई धरौटी र कसैलाई साधारण तारेखमा छाड्नु सर्वोच्च अदालतको नजिर र फौजदारी न्यायको सिद्धान्तविपरीत भएको अख्तियारले औँल्याएको छ ।
४. तहगत जिम्मेवारीको बेवास्ता : सर्वोच्च अदालतले प्रतिपादन गरेको ‘पिरामिड शैली’ को सिद्धान्तअनुसार निर्णय प्रक्रियामा सहभागी सबै तहका अधिकारी जिम्मेवार हुनुपर्नेमा, अन्तिम सम्झौतामा हस्ताक्षर नगरेको बहानामा उन्मुक्ति दिन नमिल्ने तर्क अख्तियारको छ ।
५. प्रमाणको बेवास्ता : विशेष अदालतले आरोपितहरूविरुद्ध पेस भएका तत्काल प्राप्त प्रमाणहरूको उचित विश्लेषण नगरी हचुवाका भरमा आदेश दिएको अख्तियारको गुनासो छ ।
६. गम्भीर कसुर : समाज र राष्ट्रलाई गम्भीर असर पर्ने फौजदारी कसुरमा संलग्नहरूलाई ‘निर्दोषिताको अनुमान’ का नाममा छाड्दै जाने हो भने फौजदारी न्याय प्रशासन कमजोर हुने सर्वोच्चकै नजिरलाई पनि अख्तियारले स्मरण गराएको छ ।
७. प्रमाण लोपको खतरा : प्रतिवादीहरू बाहिर रहँदा प्रमाण लोप गर्न सक्ने, नयाँ कृत्रिम प्रमाण सिर्जना गर्न सक्ने र समाजमा नकारात्मक सन्देश जाने जोखिम रहेको भन्दै उनीहरूलाई थुनामै राख्नुपर्ने अख्तियारको अडान छ ।
अख्तियारले गत मंसिर २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र बिगो बमोजिमको जरिवानासहित बिगो असुलउपर गर्न माग दाबी गरिएको थियो । अब सर्वोच्च अदालतले यस निवेदनमाथि सुनुवाइ गर्दै विशेष अदालतको आदेश सदर गर्ने वा बदर गरी आरोपितलाई थुनामा पठाउने भन्ने निर्णय गर्नेछ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण