बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छोराले टिकट पाएपछि रोमी गौचन समानुपातिक सूचीबाट बाहिरिए, थापाले आयोगलाई पठाए पत्र

सोमबार, ०५ माघ २०८२, १९ : २७
सोमबार, ०५ माघ २०८२

पोखरा । नेपाली कांग्रेस मुस्ताङका सभापति एवं पूर्वमन्त्री रोमी गौचन थकालीले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

मुस्ताङबाट प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका लागि आफ्ना छोरा योगेश गौचन थकालीले टिकट पाएपछि रोमीले समानुपातिक सूचीबाट हट्न निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

एकै परिवारका दुई सदस्यलाई पार्टीले उम्मेदवार बनाएको भन्दै स्थानीय स्तरमा आलोचना भएको छ । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूचीमा जनजाती क्लस्टर अन्तर्गत रोमी गौचनको नाम समावेश थियो । यता, प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवारका लागि उनका छोरा योगेश गौचन थकालीले टिकट हात पारिसकेका छन् ।

कांग्रेस सभापति गगन थापामार्फत निर्वाचन आयोगमा पठाइएको पत्रमा भने रोमीले पूर्व सभापति सुवर्ण कुमार विष्टको नाम राष्ट्रिय सभा सदस्यमा सिफारिस नभएपछि आफू बाहिरिएको बताएका छन् ।

‘पूर्व सभापति सुवर्ण कुमार विष्टलाई राष्ट्रिय सभा सदस्य उम्मेदवारमा सिफारिस गरिएकोमा उहाँको नाम नपरेपछि, आफ्नो नैतिक दायित्व र स्वविवेकको आधारमा समानुपातिक सूचीमा म बस्न उपयुक्त नहुने ठानी नाम हटाइदिन अनुरोध गर्दछु,’ उनको पत्रमा उल्लेख छ ।

रोमी गौचनले बुझाएको निवेदन सदर गरेर कांग्रेस सभापति थापाले उनको नाम बन्द सूचीबाट हटाउन निर्वाचन अधिकृतलाई सिफारिस गरेका छन् । 

‘निज निवेदकको नाम नेपाली कांग्रेसको बन्द सूचीबाट फिर्ता लिन सिफारिस गर्दछु,’ थापाले गरेको पत्राचारमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप