बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुर्झाएको मकवानपुर कांग्रेसमा उर्जा थप्ने एक तस्बिर

बुधबार, ०७ माघ २०८२, ०१ : ४०
बुधबार, ०७ माघ २०८२

सारांश

  • हेटौँडामा नेताहरू एकै मञ्चमा देखिए, जसले मकवानपुर कांग्रेसमा नयाँ ऊर्जा थपियो।
  • कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय 'डिना' र इन्द्रबहादुर बानियाँ एकसाथ देखिए, जसले शक्ति संघर्ष अन्त्यको संकेत गर्यो।
  • बानियाँले उम्मेदवारहरूको हात समातेर निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्याएपछि पार्टी हितलाई प्राथमिकता दिएको सन्देश दिए।

मकवानपुर । भनिन्छ, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् । राजनीति सम्भावनाको खेल हो । बुधबार हेटौँडामा देखिएको एक दृश्यले यही भनाइलाई पुनः पुष्टि गरेको छ ।

कुनै समय एक–अर्काको कटु आलोचकका रूपमा देखिँदै आएका नेताहरू एकाएक एउटै मञ्चमा उभिन पुगे । आसन्न निर्वाचनका सन्दर्भमा हेटौँडा–११ स्थित प्रादेशिक कृषि थोक बजारमा अपराह्न करिब ३ः३० बजे देखिएको दृश्यले मुर्झाएको मकवानपुर कांग्रेसमा नयाँ उर्जा थपिएको संकेत दिएको छ । उपस्थित सबैका मोबाइल र क्यामेरामा कैद भएको त्यो तस्बिर ऐतिहासिक र अविस्मरणीय बन्न पुगेको छ ।

२०७४ यतादेखि सुरु भएको कांग्रेस मकवानपुरको आन्तरिक शक्ति संघर्ष उक्त तस्बिरले अन्त्यतर्फ मोडिएको विश्लेषण हुन थालेको छ । कुनै समय ‘कटर दुस्मन’ का रूपमा हेरिने कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ र कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ एकैसाथ देखिएका थिए । फागुन २१ गतेका लागि तय निर्वाचनमा मकवानपुर क्षेत्र नं। १ बाट उम्मेदवार बनेकी डिना र क्षेत्र नं। २ का उम्मेदवार बुद्ध लामालाई हात समाएर निर्वाचन अधिकृतको कार्यालयसम्म बानियाँले अघि बढाएका थिए ।

डिना र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका प्रभावशाली नेताका रूपमा चिनिन्छन् । एउटै समूहभित्र शक्ति सन्तुलन हुन नसक्दा मकवानपुर कांग्रेस लामो समयदेखि विभाजित देखिँदै आएको थियो । अवस्था यहाँसम्म पुगेको थियो कि एक–अर्काको नाम र कामसमेत स्विकार्न नसक्ने स्थिति बनेको थियो । जिल्ला तथा पार्टीका औपचारिक कार्यक्रममा पनि यी दुई नेताहरू सँगै देखिनु असम्भवजस्तै मानिन्थ्यो । आयोजक समितिहरूले समेत खेमा हेरेर निमन्त्रणा गर्ने अवस्था थियो ।

२०७० साल आसपासदेखि कांग्रेस मकवानपुरको नेतृत्व इन्द्रबहादुर बानियाँको प्रभावमा रहँदै आएको छ । दुई कार्यकाल जिल्ला सभापति बनेका बानियाँले २०७८ मा पार्टी नेतृत्व आफ्नो निकटस्थ बुद्ध लामालाई सुम्पिएका थिए । यही शक्ति संघर्षका कारण डिना लामो समयसम्म हेटौँडा–२ स्थित पार्टी कार्यालयमा विरलै पुग्ने गरेकी थिइन् । उनले कार्यकर्ता भेटघाटका लागि छुट्टै कार्यालय नै सञ्चालन गर्दै आएकी थिइन् ।

बानियाँमाथि आफूलाई चुनाव हराउन भूमिका खेलेको, टिकट वितरण र जिल्ला पार्टी सञ्चालनमा हस्तक्षेप गरेको आरोप लाग्दै आएको छ । यता डिनामाथि भने बानियाँलाई प्रदेश सभापति बन्न नदिन फरक समूहलाई सघाएको आरोप छ । २०७८ को जिल्ला अधिवेशनमा दुवै पक्षले आ–आफ्ना उम्मेदवार उठाएका थिए । दोस्रो चरणमा भने डिनाले आफ्नो समूहका उम्मेदवारलाई बानियाँ पक्षलाई सहयोग गर्न निर्देशन दिएकी थिइन् ।

यी सबै विवादका कारण पछिल्लो समय मकवानपुरमा कांग्रेस कमजोर बन्दै गएको कार्यकर्ता स्वयं स्वीकार गर्दै आएका थिए । आन्तरिक शक्ति असन्तुलनले चुनावी नतिजादेखि संगठन निर्माणसम्म समस्या आएको उनीहरूको भनाइ थियो । तर बुधबार देखिएको दृश्यपछि कांग्रेसभित्र केही सकारात्मक उर्जा थपिएको देखिन्छ । कार्यकर्ता र शुभेच्छुकहरूले यसलाई गुटगत प्रतिस्पर्धाभन्दा माथि उठेर पार्टी हितलाई प्राथमिकता दिएको राजनीतिक संकेतका रूपमा व्याख्या गरेका छन् ।

राजनीतिमा प्रतिकात्मक कदमहरूको ठुलो अर्थ हुन्छ । बानियाँले दुवै उम्मेदवारको हात उठाएर अघि बढ्नुले कांग्रेसभित्र अब आन्तरिक द्वन्द्वभन्दा सामूहिक लक्ष्य प्राथमिकतामा रहेको सन्देश दिएको छ । उनले कार्यकर्तालाई एक ढिक्का भएर चुनावी अभियानमा होमिन आग्रह गरे ।

‘कांग्रेस आन्तरिक लोकतन्त्रमा विश्वास गर्छ । हिजो नेतृत्व चयनमा फरक मत थियो, प्रक्रिया अनुसार भयो । आज हामी सबै एकजुट छौं । हामी विधि र प्रक्रियामार्फत पार्टी चलाउँछौँ,’ बानियाँले भने ।

मकवानपुरका लागि यो निर्वाचन कांग्रेसका लागि सिट जित्ने प्रयास मात्र नभई विगतका कमजोरीबाट उठेर संगठन पुनर्जीवित गर्ने अवसर भएको नेतृ डिनाको भनाइ छ । नेतृत्व तहबाट देखिएको एकता, उम्मेदवार चयनमा गरिएको सन्तुलन र संगठन सक्रिय बनाउने प्रयासले कांग्रेस पुनः प्रतिस्पर्धी शक्तिका रूपमा उभिन खोजिरहेको उनले बताइन् ।

‘विगतमा कमजोरी सबैबाट भएका छन् । हामीले पनि गर्‍यौँ । परिस्थिति बुझ्न र कार्यकर्ताको मनोभाव पढ्न सकेनौँ । तर अहिले कांग्रेस एकजुट भएर अघि बढ्दै छ,’ डिनाले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप