काठमाडौँ क्षेत्र नं. १ मा सविन सिग्देलको उम्मेदवारी
सारांश
- सभिन सिग्देलले काठमाडौं क्षेत्र नं. १ मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गरेका छन्।
- सिग्देल, जो विद्यार्थी राजनीतिबाट आएका हुन्, प्रगतिशील नागरिक पार्टीका संस्थापक अध्यक्ष हुन्।
- उनले इमान्दार राजनीति र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को तर्फबाट काठमाडौँ क्षेत्र नं. १ मा युवा नेता सविन सिग्देलले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।
विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका सिग्देलले तत्कालीन नेकपा (माओवादी केन्द्र) परित्याग गर्दै गत कार्तिकमा प्रगतिशील नागरिक पार्टी स्थापना गरेका थिए । उनी उक्त पार्टीका संस्थापक केन्द्रीय अध्यक्षसमेत हुन् । प्रगतिशील नागरिक पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीबिच केही समयअघि भएकाे चुनावी सहकार्यको सहमति अनुसार नै सिग्देल काठमाडौँ क्षेत्र नं. १ मा प्रलोपाका तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् ।
काठमाडौँ क्षेत्र नं. १ कै स्थानीय बासिन्दा रहेका सिग्देल राजनीति शास्त्रमा स्नातक, समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण तथा इन्जिनियरिङ र कानुन विषयका विद्यार्थीसमेत हुन् । विगतमा सीमा बचाउ अभियानलगायत विभिन्न सामाजिक तथा राजनीतिक अभियानमा सक्रिय रहँदै आएका छन् ।
उम्मेदवारी दर्तापछि रातोपाटीसँग कुरा गर्दै सिग्देलले अहिलेको लोकप्रियतावादी राजनीतिमा समाजलाई विचारसहितको विकल्प दिन आफू निर्वाचनमा होमिएको बताए। उनले भने, ‘मसँग नातावाद छैन, कृपावादको सहारा छैन। ठुलो पार्टीको ओत छैन, लोकप्रिय भिडको हल्ला पनि छैन। तर मसँग संकल्प छ, राजनीतिलाई इमानदारीको धरातलमा उभ्याउने । मसँग सपना छ जनताको आवाज जनताकै पक्षमा फर्काउने।’
उनले आफू भड्किला नाराभन्दा स्पष्ट नियत, दृष्टिकोण र विचारका साथ मतदातामाझ जाने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण