शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सोफी डिभाइनको अलराउन्ड प्रदर्शनमा गुजरातको तेस्रो जित

शुक्रबार, ०९ माघ २०८२, ०७ : २१
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • सोफी डिभाइनको अर्धशतक र धारिलो बलिङको मद्दतले गुजरात जायन्ट्सले यूपी वारियर्सलाई ४५ रनले पराजित गर्यो।
  • गुजरातले पहिले ब्याटिङ गर्दै १५३ रन बनायो, जसमा डिभाइनले ५० रनको योगदान दिए।
  • यूपी वारियर्स १७.३ ओभरमा १०८ रनमा समेटियो, जसमा राजेश्वरी गायकवाडले ३ विकेट लिए।

वडोदरा । सोफी डिभाइनको सानदार अर्धशतक र धारिलो बलिङको मद्दतले गुजरात जायन्ट्सले महिला प्रिमियर लिगमा आफ्नो तेस्रो जित दर्ता गरेको छ। बिहीबार वडोदराको कोटम्बी स्टेडियममा भएको खेलमा गुजरातले यूपी वारियर्सलाई ४५ रनले स्तब्ध बनायो। 

यो जितसँगै गुजरात ६ खेलबाट ३ जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने यूपीले छैटौँ खेलमा चौथो हार व्यहोर्नुपर्‍यो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रनको सम्मानजनक योगफल तयार पारेको थियो। गुजरातको सुरुवात खराब रहे पनि मध्यक्रममा सोफी डिभाइनले जिम्मेवारीपूर्ण ब्याटिङ गरिन्। उनले ४२ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ५० रनको योगदान दिइन्। 

ओपनर बेथ मुनीले ३८ रन बनाएर डिभाइनलाई साथ दिए पनि अन्य ब्याटरहरूले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। डेनी वायट हज १४, अनुष्का शर्मा १४ र कप्तान एश्ले गार्डनर ५ रनमै सीमित भए। यूपीका लागि क्रान्ति गौड र सोफी एकलस्टनले २–२ विकेट लिए।

१५४ रनको लक्ष्य पछ्याएको यूपी वारियर्स १७.३ ओभरमा मात्र १०८ रनमा समेटियो। यूपीको सुरुवात निकै निराशाजनक रह्यो। प्रारम्भिक ब्याटर किरण नवगिरे शून्यमै आउट भइन् भने कप्तान मेग लेनिङले मात्र १४ रन जोडिन्। 

फिबी लिचफिल्डले ३२ रन बनाएर केही आश जगाए पनि उनी आउट भएपछि यूपीको पारी धराशायी बन्यो। हरलिन देओल ३ रनमा आउट भइन् भने क्लो ट्रायोनले ३० रनमा अविजित रहँदा पनि टोलीलाई हारबाट जोगाउन सकिनन्।

गुजरातका लागि बलिङतर्फ राजेश्वरी गायकवाडले घातक बलिङ गर्दै ३ विकेट लिइन्। ब्याटिङमा चम्किएकी सोफी डिभाइन र रेणुका सिंह ठाकुरले समान २–२ विकेट बाँडेपछि यूपीको पारी सस्तैमा समेटियो। काशवी गौतम र एश्ले गार्डनरले पनि १–१ विकेट हात पारे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप