बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
किताबका कुरा

समकालीन नेपाली कविता धेरै सशक्त छन् : प्रगति राई

शनिबार, १० माघ २०८२, १९ : ००
शनिबार, १० माघ २०८२

सारांश

  • प्रगति राईसँगको कुराकानीमा उनले आफ्नो लेखन यात्रा, महिला अधिकार र समकालीन नेपाली साहित्यबारे चर्चा गरिन्।
  • राईले 'लेखककी स्वास्नी' हुनुको अनुभव र महिला लेखकहरूले समाजमा भोग्नुपरेका चुनौतीबारे बताइन्।
  • उनले पछिल्लो समयको नेपाली साहित्यिक अवस्था र आफ्नो लेखनको उद्देश्यबारे प्रकाश पारिन्, विशेष गरी महिलाको आत्मसम्मान र समाज परिवर्तनमा लेखनको महत्वबारे जोड दिइन्।

महिला, जनजाति र सीमान्तकृत समुदायका आवाजलाई सशक्त रूपमा उठाउने प्रगति राई नेपाली कविता र उपन्यासको आकाशमा चिरपरिचित नाम हो । राईको ‘बादी विज्ञप्ति’ कवितासंग्रह र ‘लेखककी स्वास्नी’, ‘बिर्सिएको मृत्यु’ र ‘थाङ्ग्रा’ गरी तीन उपन्यास प्रकाशित छन् । लामो समय शिक्षणमा बिताएकी राई पछिल्लो समय लेखनमै व्यक्त छिन् । उनै राईसँग रातोपाटीको 'किताबका कुरा' शृङ्खलाका लागि रमा सुवेदीले गरेको कुराकानी-

  • आजभोलि के गर्दै हुनुहुन्छ ?

भर्खरै एउटा उपन्यासको सम्पादन सक्काएँ । पठाउने हतार छ, त्यसैले त्यसमा मसिनोगरी काम गर्दैछु । आफ्नै कृतिहरू ‘थाङ्ग्रा’ र ‘लेखककी स्वास्नी’ को दोस्रो संस्करण ल्याउन लागेकी छु । त्यसमा थोरै काँटछाँट र सम्पादन गर्दैछु ।

  • ‘लेखककी स्वास्नी’ हुन कत्तिको गाह्रो रहेछ त ?

गाह्रो नि । म त फेरि कामकाजी महिला परेँ । घरधन्दा र जागिरमा व्यस्त । विभिन्न कार्यक्रमहरूमा खासै हिँड्न नभ्याउने । फुर्सदमा भएको मान्छेलाई पो जता पनि देखिन्छ । अनि यो त ‘प्रगति’ ले लेखेको होइन भनी सोच्ने । मैले जे लेखे पनि श्रीमान्ले लेखिदिएको भन्ने । कति जनालाई भन्नु ? कतिलाई सम्झाउनु ? यो आफैमा पट्यारलाग्दो जिनिस भो ।

  • यस्तो प्रश्न पारिजातमाथि पनि उठाइएका हो । शंकर लामिछानेले लेखिदिएका हुन् भनिन्थ्यो । शंकर लामिछानेले नै लेखिदिएर पारिजात बनाई दिएको हो भने पारिजात मात्रै किन बनाएको त दुई–चारजना त्यस्तै लेखक बनाइदिनु पर्दैनथ्यो ? 

खासमा यो महिला अस्थित्वलाई नै नस्विकार्ने चिन्तनको द्योतक हो । हाम्रो समाज पितृ सत्ताले ग्रसित छ । महिलाको शक्ति, क्षमता र सामर्थ्यलाई स्विकार्नै मान्दैनन् यसले । यो चिन्तनमा जबरजस्त सुधारको खाँचो छ तर समाज नै निदाए जस्तो भएपछि सुधार आउन पनि समय लाग्ला । पितृसत्ताको रोगबाट ग्रसित पुस्ता परिवर्तन हुँदैन । यी यत्तिकै मर्छन् । यो फेरिन चेतनशील अर्को पुस्ता आउनुपर्छ ।

  • विगतका पिडादायी गलछेँडाहरु सम्झँदा कस्तो महसुस हुने रहेछ ?

साह्रै बिजोग लाग्छ । तपाईं आफै भन्नुस् न कसैले तपाईंकै सामुन्ने ‘ए, श्रीमानले लेख्दिहाल्नु हुन्छ, तपाईँलाई त कति हाइसन्चो है’ भन्यो भने, कसैले ‘ए यो कविता तपाईँले लेखेको हो र ?’ भन्यो भने कस्तो महसुस हुन्छ ? कतिपय अवस्थामा चुपचाप बसेँ । कतिलाई ‘एक–दुई दिनका लागि तपाईँको श्रीमती पठाइदिनु, प्रगति राई जस्तै लेखक बनाइदिन्छन्’ समेत भने ।

IMG_7131_copy_2560x1707

  • विभिन्न उकाली–ओराली हिँडेर आउनु भएको तपाईंलाई पढ्नुको अर्थ के छ ? 

कसैले तपाईं किन पढ्नु हुन्छ भन्दा मेरो सधैँ एउटै उत्तर छ । नपढीकन पनि मानिसले जीवन चलाइरहेकै हुन्छ तर त्यो जीवन सपाट हिँड्नु जस्तै हो । पढीकन जीवन नाच्दै हिड्नु जस्तो हो । तपाईं आफ्नो जीवनको यात्रामा हुनुहुन्छ र तपाईं विविध गीतहरूमा, विविध धुनहरूमा रम्दै नाच्दै आफ्नो यात्रा पुरा गर्नु हुन्छ । पुस्तकले, अध्ययनले जीवनलाई सुन्दर बनाउँछ ।

  • अध्ययन गर्दै जाँदा रुचि निर्माण हुँदै जान्छ, तपाईँलाई कस्ता पुस्तकमा रुचि छ ?

कविता एकदमै मन पर्छ । कविता भनेको संसारकै सुन्दर सृजना हो । त्यसपछि मलाई निबन्ध मन पर्छ । कथा, उपन्यास एव रितले मन पर्दै जाने भए ।

  • नेपाली लेखक वा पुस्तकहरू सम्झिनुपर्दा ?

उपन्यासमा बुद्धि सागरको कर्णाली ब्लुज, वसन्त बस्नेतको सिमसारा मन परेको हो । हाम्रो सृजनशील अराजकहरूका किताबहरू पनि मन पर्छ । पछिल्लो समय त नेपालबाहिर बस्ने साथीहरूले पनि राम्रो लेखिरहनु भएको छ । समग्रमा समकालीन लेखन एकदमै राम्रो छ । मलाई सबै नै मन पर्छ ।

  • कहिलेकाहीँ कुनै कृतिको लेखक, पात्र वा परिवेशले पछिसम्म पछ्याइरहन्छ । तपाईंसँग पनि त्यस्तो भएको छ कि ?

मैले गाउँघरमै पढेको प्रकाश कोविदका उपन्यासहरू नै हुन् । त्यसका पात्रहरूले मलाई सधैँ पछ्याइरहे । त्यसपछि लीलध्वज थापाको ‘मन’ हो । त्यसले पनि मलाई धेरै दिनसम्म पछ्याइरह्यो । आखिर महिलाहरू आफ्नो थातथलोबाट किन पलायन बनाइन्छन् ? महिलाहरू जन्मेकै ठाउँको किन हुँदैनन ? भन्नेले मलाई सोच्न बाध्य बनायो । 

ती पात्रहरूको लखेटाई हेरेर मैले छोरीहरूलाई वंशाधिकार चाहिन्छ भनी निचोड निकालेँ । आजका दिन समानताको आधार भनेकै वंशाधिकार हो भनेर लेख्ने गरेकी छु । तर कतिपयले यसलाई पितृसत्ता उल्ट्याएर मातृसत्ता बनाउन वा घर ज्वाइँ राख्नका लागि यसो भनिएको हो भन्छन् तर कुरा त्यस्तो होइन । कुरा समानताको हो । आत्मसम्मानको हो । आफ्ना जराहरूसँग काटिन नपर्ने संस्कारको सुरुवातको हो । 

  • तपाईं केका लागि लेख्नु हुन्छ त ?

म रहरले होइन, बाध्यताले लेख्छु । महिलाको आत्मसम्मान छ भन्नका लागि लेख्छु । समाजलाई झकझकाउनु पर्नेछ भनेर लेख्छु । हेर्नुस् म परेँ लाहुरे परिवारकी सदस्य । छोराहरू लाहुरे बन्न जाने र छोरीको विवाह पनि लाहुरेसँगै गरिदिने परम्पराबाट हुर्किएँ म । म हुर्किएको समाजमा राजनीति र समाज सुधारका कुरा निकै गौण हुन्थे । आफ्नै फुपू, काकी, आमा र हजुरआमाहरूको कथा सुनेर अवाक् हुने समय भोगेर आयौँ । 

तर मेरो विवाह भने साहित्यिक परिवारमा भयो । आमाहरूको पिर र त्यसलाई अभिव्यक्त गर्नैपर्ने वाध्यताले म बिस्तारै लेखनतर्फ मोडिएँ । मलाई जोगाएको पनि यही लेखनले हो, होइन भने म लाखौँ अरू छोरीहरू जस्तै हराउने थिएँ । त्यसैले समाज परिवर्तनमा लेखनको ज्यादै ठुलो महत्त्व छ । त्यसैले मैले लेख्नै पर्छ भनेर झन् भन्दा झन् मेहनत गरिरहेकी छु ।

IMG_20260123_173241_copy_2423x1707

  • पछिल्लो समय नेपालको साहित्यिक स्तर कस्तो पाउनु भएको छ ?

पहिले लेखनकर्ममै जीवन व्यतीत गर्नेहरू कमै हुन्थे । अहिले चाहिँ लेख्नेहरू धेरै छन् । यो विषयमा मैले लेख्नैपर्छ भन्दा पनि यो विषय लेख्यो भने बिक्छ भन्ने भावका साथ धेरैले लेखिरहेझै लाग्छ । लेखक नै बजारमुखी भइरहेको अवस्था । त्यसो त कसैलाई यस्तो नलेख्नुस् भन्न मिल्दैन तर त्यसैले लेखकको स्तर र हाम्रो पठन संस्कृतिलाई बदलिरहेको हुन्छ ।

लेखक बाँच्ने भनेकै पाठकको चेतनामा हो । यसलाई पाठकले केलाउँदै लैजान्छन् भन्ने ठान्छु म । पठनकर्ममा एउटा त्यस्तो विन्दु आउँछ, जहाँ पाठकहरूले नै निर्णय गर्न थाल्छन् । कालजायी लेखकहरू बाँच्छन् अरू बिलाएर जान्छन् । त्यसैले लेखकलाई बचाउने कुरा नै पाठकको चेतना हो । त्यसैले बजार वा समाज नै बिग्रियो भन्नु पर्ने कारण देख्दिन म ।

  • यति कुरा गरिसक्दा मलाई तपाईंको लेखन संसारबारे जान्ने इच्छा छ । तपाईँको लेखनको संसार कस्तो छ ?

मेरो लेखनको संसार यो समाज सँग–सँगै हिँडिरहेको छ । खासमा म स्वैरकल्पनामा लेख्ने मान्छे होइन । कम्तीमा मेरो मृत्यसँगै समाजको एउटा अँध्यारो पाटो पनि निमिट्यान्न भएर जाओस् भन्ने उद्देश्य छ । छोरीलाई वंशाधिकारबारे कसैले नसोचेको, नलेखेको देखेर मैले बारम्बार यस विषयलाई उठान गरिरहेकी छु । यसविषयमा आम मानिसलाई, समाजलाई बुझाउनु पर्नेछ । 

  • समकालीन नेपाली कविता को स्तर कस्तो देख्नुहुन्छ ? 

अहिले उपन्यास भन्दा कविता धेरै शक्तिशाली छन् । बहिनीहरूले लेखिरहेका छन् । एक से एक कविताले नयाँ समयको आवाजलाई जबरजस्त ढंगले ओकलिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप