जता खाल्डो उतै फोहरले पुर्ने पोखराको नीति, १९ दिनदेखि सडकमै फोहर
सारांश
- पोखरामा १९ दिनदेखि सडकमा फोहोर थुप्रिएको छ, फोहोर फाल्ने ठाउँ भरिएपछि महानगरले फोहोर उठाउन सकेको छैन।
- वैकल्पिक ठाउँको टुङ्गो लाग्न बाँकी रहेको र स्थानीय स्तरमा समस्या समाधान भएपछि केही दिनभित्रै फोहोर उठ्ने सूचना अधिकारीले बताएका छन्।
- मेयर आचार्यले फोहर प्रशोधन केन्द्र निर्माणको प्रतिबद्धता जनाए पनि ३ वर्ष बितिसक्दा काम हुन सकेको छैन, स्थानीयको अवरोधका कारण काम अघि बढ्न सकेको छैन।
पोखरा । पर्यटनको राजधानी पोखरामा १९ दिनदेखि सडकमै फोहर थुप्रिएको छ । यसअघि फोहर फाल्दै आएको ठाउँ भरिएपछि महानगरपालिकाले फोहर उठाउन नसकेको हो ।
पोखरा–३२, लामेआहालको सेती नदी छेउको भंगालो फोहरले भरिएका कारण अब नयाँ ठाउँ नखोजी फोहर उठाउने सम्भावना नरहेको महानगरले जनाएको छ । केही दिनअघि सूचना निकालेर महानगरले घरबाट बाहिर फोहर ननिकाल्न भनेको छ । यद्यपि महानगरवासीले लामो समयदेखि फोहर घरमै राख्न नसक्ने भएपछि सडकमै फालिदिएका छन् ।
सडकमा फोहर फालिएका कारण दुर्गन्ध बढेको छ । महानगरका सूचना अधिकारी कृष्ण तिवारीका अनुसार वैकल्पिक ठाउँको अन्तिम टुङ्गो लाग्न बाँकी छ । ‘३२ नम्बर वडामै नयाँ ठाउँ खोजिएको छ । महानगरको तर्फबाट सम्झौता भइसकेको पनि छ,’ उनले भने, ‘स्थानीय स्तरमा सुल्झाउनुपर्ने काम सकिएपछि केही दिनभित्रै फोहर उठ्न थाल्छ ।’
तिवारीले तत्कालका लागि मुख्य चोकको फोहर पोखराको शान्ति वनबाटिकामा पुरिएको बताए । ‘७० ट्रकजति फोहर पुरिएको छ । अहिलेका लागि मुख्य चोकका फोहर पुरिएको हो,’ उनले भने, ‘तर फाल्ने क्रम रोकिएको छैन । यो पनि विकल्प होइन ।’
_1QgZZGO3Ee.jpg)
यसअघि पनि लामेआहालमा अवरोध हुँदा महानगरले वडैपिच्छे भंगालो र खाल्डाखुल्डीमा फोहर पुर्ने गरेको थियो । ३२ नम्बर वडाका अध्यक्ष अक्कलबहादुर कार्की शुक्रबारसम्म समस्या समाधान भइसक्ने बताउँछन् । ‘सरोकारवालासँग छलफलमै छौँ । अब लामो समय जाँदैन,’ उनले भने, ‘शुक्रबारसम्म नयाँ ठाउँ विकल्पको रूपमा महानगरलाई दिन्छौँ ।’
वडा अध्यक्ष कार्कीका अनुसार अहिले फोहर फाल्दै आएको ठाउँ नजिकै वन छेउमा नयाँ भंगालोमा फोहर फाल्न लागिएको हो । २०७९ पुसमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि पोखरा–१४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट अस्थायी रूपमा लामेआहाल सारिएको थियो ।
मेयर धनराज आचार्यले सुरुमै सबैले अध्ययन गर्ने केन्द्रका रूपमा पोखराको फोहर प्रशोधन केन्द्र तुरुन्तै निर्माण सुरु गर्ने प्रतिबद्धता जनाएका थिए, तर ३ वर्ष बितिसक्दा पनि काम हुन सकेको छैन । महानगरले ३३ नम्बर वडाको झाँकीस्थानमा फोहर प्रशोधन केन्द्र बनाउन जग्गा रोक्का गरेर राखेको छ । स्थानीयले अवरोध गरेपछि काम अघि बढेको छैन ।
_Yzp4KaeWkz.jpg)
मेयर आचार्य राजनीतिक पूर्वाग्रह राखेर काम गर्न नदिइएको आरोप लगाउँछन् । ‘कार्यपालिकाका सबै मिलेर एक मतले निर्णय गरेका छौँ । कुनै पनि निर्णय मैले एक्लै गरेको छैन,’ उनले भने, ‘फोहर प्रशोधन केन्द्रको निर्णय पनि सबैले गरेको हो । मलाई अहिले बदनाम गर्ने प्रयत्न गरिँदै छ । त्यो सिङ्गै कार्यपालिका, सिङ्गो नगरसभाको निर्णय हो ।’
स्थानीयले अपारदर्शी हिसाबबाट कमिसनको लोभमा प्रशोधन केन्द्र वडा नम्बर ३३ मा बनाउन लागेको आरोप लगाएका छन् । उनीहरूले ३३ नम्बर वडा कार्यालयमा तालाबन्दी गर्नुका साथै उपत्यका नगर विकास समिति अगाडि प्रदर्शनसमेत गरे ।
आचार्यले राजनीतिक हिसाबले विषय उठान गरिएको भन्दै दुखेसो गरेका छन् । ‘उतिबेलै स्थानीयसँग सहमति गरेर अघि बढेको काम अहिले रोकिनु भनेको त राजनीतिक हिसाबले उठाएको विषय हो नि । यो त सबै त्यहीँभित्रको केही स्वार्थहरूको खेल हो नि,’ उनले अघि भने, ‘नागरिकहरूलाई उहाँहरूले सबै कुरालाई गलत सूचना दिनुभएको छ ।’
फोहर व्यवस्थापन हुन नसक्दा पोखराका हरेक चोकमा अहिले फोहरको डंगुर थुप्रिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण