कञ्चनपुर–२ मा साउद चौथो जितको खोजीमा, अन्य उम्मेदवार परम्परा उल्टाउने रणनीतिमा
सारांश
- कञ्चनपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारहरू प्रतिस्पर्धा गर्दैछन्।
- कांग्रेसका एनपी साउद यस क्षेत्रमा पटक-पटक निर्वाचित भइसकेका छन्, र यसपटक चौथो जितको खोजीमा छन्।
- स्थानीय मतदाताहरू शुक्लाफाँटा वन्यजन्तु आरक्ष पीडितहरूको पुनर्स्थापना र जङ्गली जनावरको आतङ्क जस्ता समस्या समाधान गर्ने नेतालाई भोट दिने सोचमा छन्।
धनगढी । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा १९ जना उम्मेदवार छन् । तीमध्ये नेपाली कांग्रेसका एनपी साउद यस क्षेत्रबाट पटक–पटक प्रतिनिधि सभामा पुगिसकेका छन् ।
यस क्षेत्रमा नेकपा एमालेले बचन सिंह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दीपक बोहरा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले माधव पन्तलाई उम्मेदवार बनाएका छन् । यी तीनै जना पहिलो पटक सांसद बन्ने होडमा छन् ।
कञ्चनपुर क्षेत्र नम्बर २ मा कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका र बेदकोट नगरपालिकाको १–७, ९ र १० वडा पर्दछ ।
यहाँका मुख्य प्रतिस्पर्धी कोही पनि स्थानीय वा रैथाने होइनन् । कांग्रेसका साउद र रास्वपाका बोहरा डडेल्धुराबाट बसाइँ सरेर आएका हुन् भने एमालेका उम्मेदवार सिंहको जन्मथलो बाजुरा हो । नेकपाका पन्तको परिवार बैतडीबाट यहाँ झरेको हो ।
सुदूरपश्चिमका पहाडी जिल्लाबाट बसाइँ सरेर तराई झरेको ठुलो जनमत यहाँ छ । उम्मेदवारहरू पनि त्यही पृष्ठभूमिबाट आएका हुन् । यहाँ रानाथारु र थारु समुदायको पनि बसोबास उल्लेखनीय छ ।
नेपाली कांग्रेसकाबाट चुनाव लडेका पूर्वपरराष्ट्रमन्त्री एनपी साउदका लागि यो चुनाव सातौँ अग्निपरीक्षा हो । यसअघि ६ वटा निर्वाचनमा साउदले जित र हारको स्वाद बराबर चाखेका छन् ।
पहिलो पटक कञ्चनपुर–३ बाट लड्दा उनी एमालेका उम्मेदवारसाग पराजित भएका थिए । २०५६ सालमा क्षेत्र नम्बर १ बाट एमालेलाई हराउँदै उनी संसद् छिरे । २०६४ को निर्वाचनमा उनी पराजित भए । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा १३ हजार ४१५ मत ल्याएर उनी विजयी भए । फेरि २०७४ मा वाम गठबन्धनका नरबहादुर धामीसँग हार व्यहोरेका उनी २०७९ को चुनावमा माओवादी र नेकपा एकीकृत समाजवादीको साथ पाएर तेस्रो पटक सांसद बने ।
साउद अहिले चौथो जितको खोजीमा छन् । कांग्रेसभित्रको समीकरण हेर्दा साउद निकै भाग्यमानी देखिन्छन् । कांग्रेसमा नयाँ नेतृत्व आएपछि २०७९ मा टिकट पाएका धेरैले यसपटक टिकट पाएनन् । कैलाली–४ मा वीरबहादुर बलायरले टिकट पाएर पनि फिर्ता गरे । साउदमात्रै सुदूरपश्चिममा एक्ला कांग्रेसी उम्मेदवार हुन् जो दोहोरिएर टिकट पाउँदै चुनाव मैदानमा उत्रिएका छन् । ‘यसपटक पनि जित मेरै हो,’ अघिल्लो जितको आत्मविश्वास लिएका उनले भने ।
यही क्षेत्रमा नेकपा एमालेका उम्मेदवार बचन सिंह भने यसअघि प्रदेश सभा सदस्यको निर्वाचनमा माओवादी केन्द्रका ओमविक्रम भाटसँग पराजित भएका थिए । प्रदेशमा हारे पनि पार्टीले उनलाई पत्याएर प्रतिनिधि सभाको सदस्यका लागि उम्मेदवार बनाएको छ ।
बाजुरा पुर्ख्यौली घर भएका सिंह एमालेको बलियो संगठन र कांग्रेसभित्रको असन्तुष्टिमा खेल्दै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन् । विगतको पराजयले सिर्जना गरेको मनोवैज्ञानिक दबाब र पार्टीमा आन्तरिक व्यवस्थापन उनका लागि चुनौती बन्न सक्छ ।
यसपटकको चुनावमा सबैभन्दा बढी चर्चा र कौतुहलता रास्वपाका उम्मेदवार दीपक बोहरालाई लिएर छ । टेलिभिजनको पर्दामा चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासँग’ उत्पादन टिमको मुख्य व्यक्तिका रूपमा लामो समय काम गरेका बोहरा अहिले आफैँ जनताको मुद्दा बोकेर संसद् छिर्ने दौडमा छन् ।
केही महिनादेखि उनी गाउँ–गाउँमा खटिएका छन् । नेपाल टेलिभिजन हुँदै न्युज २४ सम्मको पत्रकारिता अनुभव सँगालेका बोहराको तर्क छ– ‘पत्रकारिता गर्दा समाजका समस्या धेरै देखियो, लेखियो, तर समाधान गर्ने ठाउँमा नपुगी केही नहुने रहेछ ।’
रवि लामिछानेका विश्वासपात्र मानिने बोहरा राम्रो लेखन शैली र क्षमता भएका भएका व्यक्ति हुन् । पुराना दलहरूप्रति जनताको वितृष्णालाई क्यास गर्दै उनी नतिजा उल्टाउने दाउमा छन् । फागुन २१ गते हुने निर्वाचनमा उनको उपस्थितिले कांग्रेस र एमाले दुवैको भोट बैंकमा हलचल ल्याउने अनुमान गरिएको उनका समर्थकहरूको भनाइ छ ।
नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, भीम रावल निकट अभियानमा आबद्ध भएकाहरू मिलेर भर्खरै बनेको नेपाली कम्युनिस्ट पार्टीबाट युवा नेता माधव पन्त मैदानमा छन् । नेकपा माओवादीले २०७० सालदेखि यो क्षेत्रमा आफ्नै उम्मेदवार उठाएको थिएन । प्रायः गठबन्धनमा चुनाव लड्ने उसले २०७४ मा एमाले र २०७९ मा कांग्रेसलाई यस क्षेत्रमा सघाएको थियो । यसपटक पार्टीको नाम र स्वरूप फेरिएसँगै पन्त मैदानमा छन् । बैतडीबाट बसाइँ सरेको परिवारका सदस्य पन्त युवाहरू माझ परिचित हुन खोज्दैछन् ।
यस पटक मतदाताहरू पनि छानी–छानी भोट दिने मनसायमा छन् । ‘अब पहिला जसरी भोट दिँदैनौँ,’ कृष्णपुर–७ का पार्वतीदेवी साउदले भनिन् ।’
उनका अनुसार यहाँको सबैभन्दा ठुलो मुद्दा हो– शुक्लाफाँटा वन्यजन्तु आरक्ष पीडितहरूको पुनर्स्थापना ।
यो समस्या पञ्चायतकालदेखिकै हो । आरक्ष विस्तारका नाममा विस्थापित भएका हजारौँ परिवार अहिले पनि शिविरमा जीवन बिताइरहेका छन् । सरकारी तथ्याङ्कअनुसार समस्या समाधान गर्न ३२ भन्दा बढी आयोग बने । आयोगका पदाधिकारी आए, भत्ता खाए, प्रतिवेदन बुझाए, तर पीडितले न जग्गा पाए, न त लालपुर्जा ।
यस पटकको चुनावमा आफूहरूको यो समस्या सम्बोधन गर्ने नेतालाई भोट दिने स्थानीय मतदाता पार्वती चौधरीको भनाइ छ ।
‘हामी कैयौँ वर्षदेखि यही समस्यामा छौँ । जो नेता आए पनि उस्तै हो । यसपटक जसले हाम्रो समस्या साँच्चै सम्बोधन गर्ने लिखित बाचा गर्छ, भोट उसैलाई जानेछ,’ साउदले भनिन् ।
लालपुर्जा नभए पनि एकमुष्ट भोट भएका यी पीडित यसपटक निर्णायक शक्तिका रूपमा आफूहरू रहेको बताउँछन् । यो भोट कता पोखिन्छ, यसै भन्न सकिने अवस्था नरहेको कृष्णपुर नगरपालिकाका भुवन विकले बताए ।
‘देश भएर पनि हामी नागरिक नभएजस्तो भयो । अब चुनावमा जे पनि हुनसक्छ । अहिले नै हामी केही भन्दैनौँ, तर काम गर्नेलाई मात्रै भोट दिन्छौँ,’ उनले भने ।
यहाँ कृषि क्षेत्रमा आबद्ध मतदाता पनि धेरै छन् । यहाँका नदीहरूले जमिन कटान गर्ने समस्या पनि बर्सेनि झेल्नुपर्ने बाध्यता छ । नदीमा तटबन्धका लागि काम गर्ने र स्थानीयको समस्या सम्बोधन गर्नेलाई भोट दिने मतदाताहरूको भनाइ छ ।
यहाँ जङ्गली जनावरको आतङ्क अर्को मुख्य समस्या हो । निकुञ्जबाट निस्कने हात्ती र बँदेलले किसानको बाली सखाप पार्छन् । राति सुत्दा हात्तीले घर भत्काउला कि भन्ने त्रासमा बाँच्नुपर्ने बाध्यता छ ।
‘वर्षभरि खानका लागि लगाएको धान एकै रातमा हात्तीले सिद्ध्याइदिन्छ । न क्षतिपूर्ति पाइन्छ, न त सुरक्षा,’ हरिराम चौधरीले भने ।
चुनावमा जितेर जानेहरूले स्थानीयका समस्यालाई बेवास्ता गरेका कारण नै अहिले मतदातामा वितृष्णा जागेको उनको भनाइ छ । उनी अब खोक्रा आश्वासन नभएर समस्या समाधानको दिगो सोच र योजना हेरेर मत दिने बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण