बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचनको ७२ घण्टा अगावै सीमा नाका बन्द गरिने

शुक्रबार, २३ माघ २०८२, १९ : ५८
शुक्रबार, २३ माघ २०८२

सारांश

  • सशस्त्र प्रहरी बलले निर्वाचनको लागि नेपाल-भारत सीमा नाका ७२ घण्टा अगावै बन्द गर्ने निर्णय गरेको छ।
  • दुवै देशका सुरक्षा अधिकारीहरूबीच सीमा सुरक्षा, अपराध नियन्त्रण र अन्य विषयमा छलफल भएको थियो।
  • बैठकमा सीमा क्षेत्रलाई अझ मजबुत बनाउने र मित्रताको प्रतीकको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरियो।

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाल भारत सीमा नाका ७२ घण्टा अगावै बन्द गर्ने भएको छ । 

शुक्रबार मोरङको विराटनगरमा सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बल (एसएसबी) बिचको १६औँ डिआईजी स्तरीय समन्वय बैठक सो निर्णय भएको हो । 

बैठकमा सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसार–पसार नियन्त्रण लगायत विषयमा  छलफल भएको थियो। 

साथै, सीमा स्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत  दुवै पक्षबिच छलफल भएको हो।

त्यसैगरी सीमा क्षेत्रका सम्भावित नाकाहरू पहिचान गरी त्यसबाट हुनसक्ने खतरा मूल्याङ्कन गर्ने, शरणार्थी/आप्रवासीहरूको गतिविधि उपर निगरानी राख्ने,  विभिन्न तह बनाई चेकप्वाइन्ट र ब्यारियर खडा गर्ने,आपराधिक तत्त्वहरूबाट हुनसक्ने घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा मादक पदार्थ विक्री वितरण र सेवनमा पूर्णतः बन्देज गर्ने लगायत विषयहरूमा समेत छलफल भएको थियो ।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले सीमा केवल दुई देशबिचको रेखा नभई मित्रताको प्रतीक भएको उल्लेख गरेका थिए । भारतीय एसएसबीका डिआईजी सरोज कुमार ठाकुरले नेपाल भारत सीमा क्षेत्रलाई आगामी दिनमा अझ मजबुत र बलियो  बनाउने प्रतिबद्धता व्यक्त गरे। 

बैठकमा सशस्त्र प्रहरी महानिरीक्षकहरू अन्जनी कुमार पोख्रेल, दिपेन्द्र शाह, कृष्ण  ढकाल र मनिष थापा लगायत भारतीय एसएसबीको तर्फबाट डीआईजी  सरोज कुमार थाकुर, मन्जीत  सिंह, सुरेश सुब्रमनिम, राजेस  टिक्कु र मनिस कुमारको समेत उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप