जटाधारी ‘हिरण्य’ बनेका प्रवीण : ‘नकारात्मक पात्र निभाउनुअघि धेरै सोच्छु’
सारांश
- अभिनेता प्रवीण खतिवडाको फिल्म 'शिवांश'को अघोरी पात्र 'हिरण्य'को गेटअप सार्वजनिक भएको छ।
- फिल्ममा प्रवीणले हिन्दू पौराणिक कथा र समुद्र मन्थनको कथामा आधारित अघोरीको भूमिका निर्वाह गरेका छन्।
- प्रवीणले नकारात्मक पात्रको भूमिका निर्वाह गर्दा समाज र छोरीमा पर्ने प्रभावबारे चिन्ता व्यक्त गरेका छन्।
काठमाडौं । छरपष्ट जटा, शरीरभरि खरानी, हातमा रुद्राक्षको माला र आँखामा रहस्यमय आक्रोश । फिल्म ‘शिवांश’को अघोरी पात्र ‘हिरण्य’को हुलिया हो यो । यो अघोरी पात्र यही हो भनेर चिन्न मुस्किलै पर्छ । त्यो पात्र बनेका हुन् अभिनेता प्रवीण खतिवडा ।
प्रवीण ती कलाकार हुन्, जो पर्दामा आउँदा चरित्रको गहिराइ लिएर आउँछन् । चम्किलो र चकलेटी अनुहारमा होइन, अभिनयको वजन र गहिराइका कारण उनी चिनिन्छन् । ‘शिवांश’को ‘हिरण्य’ अघोरी चरित्र हो । केही दिनअघि फिल्मको ट्रेलर सार्वजनिकसँगै बाहिर आएको यो गेटअपले दर्शकमा फिल्मप्रति कौतूहलता जगाएको छ ।
हुन त कुनै पनि पात्रको बाहिरी आवरण (गेटअप)ले मात्रै अभिनयलाई पूर्णता दिँदैन, तर ‘शिवांश’को हकमा उनको लुक्सले नै आधा कथा भनिसकेको आभास हुन्छ ।
अघोरी अवतार किन र केका लागि ? प्रवीणका अनुसार ‘शिवांश’को कथा हिन्दु पौराणिक कथा र समुद्र मन्थनको प्रसङ्गमा आधारित छ । समुद्र मन्थनका क्रममा उछिट्टिएको एउटा शक्तिशाली ‘शिला’ (ढुङ्गा) को खोजीमा फिल्मको कथा घुमेको छ ।
सुरूमा यो पात्रलाई एउटा सामान्य ‘लठ्ठु’ पात्रको रूपमा हेरिएपनि निर्माण पक्षसँग आफ्नो छलफलले अघोरी पात्र बनेको प्रवीण बताउँछन् । ‘पात्रलाई आध्यात्मिक र रहस्यमय बनाउने उद्देश्यले ‘अघोरी’को रूप दिइएको हो,’ उनी भन्छन् ।
_aYJF9926vC.png)
अघोरीको गेटअप तयार गर्न उनले निकै मिहिनेत गर्नुपर्यो । यसअघि नाटक ‘रसमन’मा उनले यस्तै प्रयोग गरेको भए पनि त्यतिबेला कपाल लामो भएकाले जटा (डेडलक) बनाउन सजिलो भएको थियो । ‘शिवांश’को सुटिङका बेला कपाल छोटो भएकाले जटा बनाउनु निकै चुनौतीपूर्ण भयो । यो गेटअप तयार गर्न उनकी जीवनसङ्गिनीले घरमै बिहान–बेलुका समय दिएर सहयोग गरेको उनी सुनाउँछन् ।
फिल्म आगामी शुक्रबार (फागुन १) बाट प्रदर्शनमा आउँदैछ । फिल्मबाट उनी आशावादी छन् । फिल्म सुन्दर बनेको उनको बुझाइ छ । महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आउन लागेको भएकाले फिल्ममा शिवको कथामा हुनसक्ने अनुमान गर्न सकिन्छ । ‘शिवांश’लाई केवल एउटा हिन्दु फिल्मको रूपमा मात्र संकुचित गर्न नबिल्ने बताउँछन् । ‘यो आफ्नै माटोको कथा हो, जसमा हिन्दु मिथक जोडिएको छ । सबै धर्म र संस्कृतिका मानिसले यसलाई एउटा मौलिक नेपाली फिल्मको रुपमा पाउँछन्,’ उनी भन्छन् ।
_2OMVwnbQS7.png)
फिल्म रिलिजमा आउँदै गर्दा उनी अहिले गृहजिल्ला मोरङको घरदैलो कार्यक्रममा छन् । फिल्मको प्रचारका लागि उनी घरदैलोमा होमिएका होइनन् । उनी चुनावी प्रचारका लागि घरदैलो गरिरहेका हुन् । ‘मोरङ–१ बाट उनका बुबा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बनेकाले सघाउन उनी घरदैलो कार्यक्रममा हिँडेका हुन् ।
कतिले चुनाव जित र हारको खेलका रूपमा हेर्छन् । उनी यसलाई जनताको भावना बुझ्ने अवसर भन्छन् । ‘जनताको भावना के छ भन्ने बुझ्दा फिल्ममा पनि काम लाग्छ’, उनी भन्छन्, ‘पब्लिकको मनोविज्ञान बुझ्नु एउटा कलाकारका लागि ठुलो कुरा हो ।’ चुनावमा गाउँ–बस्ती डुल्दै गर्दा बुझेको राजनीति र समाजको गहिराइ भोलिका दिनमा अभिनयमा काम लाग्ने उनी बताउँछन् ।
नकारात्मक पात्रको भय
सन्तोषकुमार आत्रेय निर्देशित फिल्ममा प्रवीणले निर्वाह गरेको ‘हिरण्य’ नकारात्मक (खलपात्र) चरित्र हो । रोचक कुरा के छ भने खलपात्र भएका कारण उनले नगर्ने भनेर १० पटकभन्दा बढी अफर अस्वीकार गरेका थिए । तर सम्बन्धका कारण नगरी सुखै पाएनन् ।
_WOQLL3ca90.jpg)
‘समाजमा अभिनयको प्रभावबारे जसले गहिरो चिन्तन गर्छ, उसलाई नकारात्मक पात्र निभाउनुअघि धेरै सोच्नुपर्ने हुन्छ’, प्रवीण पात्र अस्वीकार गर्नुको कारण खुलाउँछन्, ‘म सानी छोरी हुर्काउँदै गरेको मान्छे । भोलि मेरो चरित्रले समाजमा कस्तो धारणा बनाउला र मेरी छोरीले कस्तो मानसिक दबाब झेल्नुपर्ला भन्ने कुराले मलाई झस्काउँछ ।‘ यसअघि ‘लुट’को होस् वा ‘ढुवानी’को मानव तस्करको भूमिका । दुवै भूमिकाबाट दर्शकको कडा प्रतिक्रिया खेपेको उनी सुनाउँछन् ।
_0oBRiRdqg6.jpg)
‘ढुवानी’पछि त कतिपय मानिसले मलाई साँच्चिकै केटी बेच्ने दलालकै नजरले हेर्न थाले’, उनी अगाडि भन्छन्, ‘काठमाडौँमा हामी बौद्धिक कुरा गर्छौं, तर गाउँका फ्रेस मान्छेहरूले पर्दाको पात्र र वास्तविक मान्छेलाई छुट्याउन सक्दैनन् । गाउँकाले तँ दलालै होस् भनेर घृणा गर्दा मनमा चोट लाग्दो रहेछ ।’
यही छविबाट बच्न उनले ‘शिवांश’को नकारात्मक पात्रलाई अघोरीको आवरणमा ढालेका हुन् । मान्छेले प्रवीण नराम्रो होइन, त्यो अघोरी चाहिँ खराब हो भन्ने बुझुन् भन्ने अभिप्राय: उनको छ ।
प्रवीण रङ्गमञ्चबाट फिल्ममा भित्रिएका कलाकार हुन् । लामो समय गुरुकुल र थिएटरमा बिताएका उनी आज पनि नाटकबाट टाढा रहन सक्दैनन् । फिल्ममा व्यस्त रहँदा रहँदै पनि उनले केहीअघि नाटक ‘बहादुरपुरको दन्त्यकथा’मा अभिनय गरे । नाटकको केन्द्रीय भूमिकामा उनी थिए । उनका लागि नाटक र फिल्म दुवै कर्म हो । सिकाइ र बुझाइको हिसाबले थिएटरलाई राम्रो मान्छन् । नाटक नगरी असल कलाकार बन्न नसक्ने उनी बताउँछन् ।
_f3A2NOB4HP.jpg)
‘असल कलाकार हुन असल मान्छे हुनुपर्छ र असल मान्छे बनाउने काम नाटकले गर्छ’, उनी भन्छन्, ‘फिल्मले व्यावसायिकता, पैसा र ख्याति दिन्छ ।’ नाटकले कलाकारको आत्मालाई जीवित राख्ने उनको धारणा छ ।
कलाकारिताबाट प्रवीणले के पाए, के गुमाए ? यो प्रश्नमा उनी निकै दार्शनिक सुनिन्छन् । कलाकारिताबाट उनले समाजले देख्ने ठाडो आर्थिक प्रगति र विलासी जीवन प्राप्त गरेका छैनन् रे । त्यसको दुःख पनि उनलाई छैन । उनले जे पाएका छन्, त्यो धन सम्पति भन्दा मूल्यवान् छ ।
‘म त पल–पल नयाँ जिन्दगीहरू बाँचिरहेको छु । एउटै जीवनमा यति धेरै पात्रहरूको जिन्दगी बाँच्न पाउनु अरू पेसामा सम्भव छैन,’ उनी सन्तुष्टि पोख्छन् ।
प्रवीण एक किसिमले आफूलाई भाग्यमानी ठान्छन् । किनभने उनी आफ्नो परिवारको छत्रछायामा रहेर राम्रो कलाकारिता गरिरहेका छन् । भौतिक सुखभन्दा अभिनयका पात्रहरूको अनुभूति नै उनको वास्तविक सम्पत्ति हो । यसले युगौंयुगसम्म पनि बचाएर राख्ने उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण