बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

प्रवक्ता चालिसेको स्वीकारोक्ति : विशेष कि नियमित महाधिवेशन भन्ने तुष बाँकी छ, समाधानको प्रयास भइरहेको छ

‘रास्वपामा रवि र बालेनको गठबन्धन रहरले नभई बाध्यताले भएको हो’
बुधबार, २८ माघ २०८२, १३ : ३५
बुधबार, २८ माघ २०८२

सारांश

  • नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको विवाद मिलाउन प्रयास भइरहेको बताए।
  • उनले विशेष महाधिवेशन र नियमित महाधिवेशन बीचको विवादबारे पनि बोले, र रवि लामिछाने र बालेन्द्र शाहको गठबन्धन बाध्यताले भएको बताए।
  • चालिसेले रास्वपाको कुनै सिद्धान्त नभएको र कांग्रेसले आफ्नै संगठनको आधारमा प्रतिस्पर्धा गर्ने बताए।

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने पक्षबिचको तुष बाँकी रहेको बताएका छन् । बुधबार काठमाडौँको अनामनगरमा भएको अन्तरक्रियामा प्रवक्ता चालिसेलाई पत्रकारहरूले पुराना र नयाँ पदाधिकारी एउटै मञ्चमा बस्ने अवस्था किन निर्माण भएन ? भन्ने प्रश्न गरेका थिए ।

त्यो प्रश्नको जवाफ दिँदै प्रवक्ता चालिसेले विशेष महाधिवेशन भएपछि पार्टीभित्र देखिएको तुष मेटाउने प्रयास भइरहेको जानकारी दिएका हुन् । ‘पार्टीभित्र नियमित र विशेष महाधिवेशनबिचको तुष बाँकी नै छ । त्यो तुस मेटाउने भरमग्दुर प्रयास हामीले गरिरहेका छौँ,’ प्रवक्ता चालिसेले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै भने– ‘कुराकानी गर्ने कुरामा सबै जना सहमत छन् । दुईचार दिनदेखि मेहनत भइरहेको छ । अरू केही नभएपछि तत्काललाई स्टेटमेन्ट(वक्तव्य) निकालौँ, भावनात्मक अपिल गरौँ भन्ने छ ।’

प्रवक्ता चालिसेले जेनजी आन्दोलनपछि बसेको केन्द्रीय कार्यसमिति बैठकमा जस्तै  देउवाले केही लिखित मन्तव्य भए पनि बाहिर ल्याइदिए निर्वाचनमा कांग्रेसका पक्षमा ठुलो वेभ सिर्जना हुने सम्भावना रहेको बताए ।

देउवालगायत निवर्तमान केन्द्रीय कार्यसमितिमा रहेका र अहिले चुनावी प्रचार प्रसारमा नआएका नेताहरूलाई प्रचार प्रसारमा ल्याउने विषय आफूहरूको प्राथमिकतामा रहेको जानकारी दिए ।

‘पहिले पार्टीको केन्द्रीय समितिको बैठकमा उहाँ (देउवा) ले बोलेको राम्रो थियो नि त, त्यही प्रकारको एउटा कपी बनाउने र बोल्न लगाउने । अर्को काठमाडौँमा जोडिएका चार पाँच वटा क्षेत्रमा उभिए झ्याप्पै वेभ सिर्जना हुन्छ,’ चालिसेले भने, ‘त्यो विषयलाई प्राथमिकतामा राखेर हामीले प्रयास गरिरहेका छौँ ।’

चालिसेले पार्टीभित्रको विवाद मिलाउनैमा उम्मेदवारहरूको समय धेरै खर्च भएकाले अन्य स्थानमा खुलेर मत माग्न नसकिरहेको जानकारी दिए । ‘उम्मेदवारहरूको शक्ति पार्टी भित्रैको विवाद मिलाउन गइरहेको छ । त्यसको समाधान खोज्ने प्रयास भइरहेको छ,’ उनले भने ।

चालिसेले पार्टीभित्र एकता भए त्यो सबैभन्दा बलियो पक्ष हुने बताए । ‘एकता हुनु पार्टीभित्र सबैभन्दा बलियो पक्ष हो । समस्या छ । यसमा लाग्छौँ, यसमा हाम्रो नियतका कारणले, समयका कारणले दृष्टिकोणका कारणले कमी बनेको होइन,’ चालिसेले भने, ‘कतिपय कुरामा लाग्दालाग्दै पनि परिणाम नआउने रहेछ । परिणाम ल्याउने प्रयास गरिरहेका छौँ ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा रवि लामिछाने र बालेन्द्र शाहबिचको गठबन्धन रहरले नभई बाध्यताले भएको बताए । ‘रवि र बालेनबिच गठबन्धन रहरले होइन बाध्यताले हो,’ उनले भने, ‘रविको ‘डाउन फेल’ का कारण गराइएको गठबन्धन होे । कसैले स्वार्थका लागि गराएको हो ।’

रास्वपाको कुनै सिद्धान्त नभएको आरोप पनि चालिसेले लगाए । ‘रास्वपा रियाक्सनका आधारमा जन्मिएको पार्टी हो । सिद्धान्त छैन । प्रतिक्रिया र आक्रोशबाट जन्मिएको हो,’ प्रवक्ता चालिसेले भने ।

निर्वाचनमा कांग्रेसले कसैको लहडमा लागेर नभई आफ्नै सङ्गठनका आधारमा प्रतिस्पर्धा गर्ने उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप