बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अपराध नियन्त्रण गर्न सेना परिचालन गर्दै दक्षिण अफ्रिका

शुक्रबार, ०१ फागुन २०८२, १२ : ५३
शुक्रबार, ०१ फागुन २०८२

सारांश

  • दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले देशमा बढ्दो अपराध नियन्त्रणका लागि सेना परिचालन गर्ने घोषणा गरे।
  • उनले पश्चिमी केप र गौतेङ क्षेत्रमा सुरक्षा बल तैनाथ गर्न सेना र प्रहरीलाई निर्देशन दिएका छन्।
  • सङ्गठित अपराध दक्षिण अफ्रिकाको लोकतन्त्र, समाज र आर्थिक विकासका लागि चुनौती बनेको छ।

केपटाउन । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले देशमा बढ्दो गिरोह हिंसा र सङ्गठित अपराध नियन्त्रणका लागि सेना परिचालन गरिने घोषणा गरेका छन् ।

वार्षिक ‘स्टेट अफ द नेसन’लाई सम्बोधनका क्रममा उनले आगामी केही दिनभित्र पश्चिमी केप र गौतेङ क्षेत्रमा प्रहरीसँग समन्वय गरी सुरक्षा बल तैनाथ गर्ने योजना तयार पार्न सेना र प्रहरी प्रमुखलाई निर्देशन दिएको बताएका हुन् ।

राष्ट्रपति रामाफोसाका अनुसार सङ्गठित अपराध अहिले दक्षिण अफ्रिकाको लोकतन्त्र, समाज र आर्थिक विकासका लागि सबैभन्दा ठुलो चुनौती बनेको छ । पश्चिमी केपमा गिरोहबिचको हिंसात्मक द्वन्द्वका कारण बालबालिकासमेत गोलीबारीको बीचमा पर्ने अवस्था आएको उनले बताए । 

त्यस्तै गौतेङ क्षेत्रमा अवैध खानी गतिविधिका कारण स्थानीय बासिन्दा घर छोड्न बाध्य हुने अवस्था सिर्जना भएको उल्लेख गरे । दक्षिण अफ्रिका विश्वकै उच्च हत्या दर भएका मुलुकमध्ये एक मानिन्छ । यहाँ दैनिक करिब ६० जनाको हत्या हुने गरेको तथ्याङ्क छ ।

केपटाउनमा लागूऔषध गिरोहबिचको सङ्घर्ष र जोहान्सबर्ग आसपास अवैध खानीसँग सम्बन्धित सामूहिक गोली काण्ड मुख्य समस्या बनेका छन् । अपराध नियन्त्रणका लागि सरकारले ५ हजार ५०० नयाँ प्रहरी भर्ती गर्ने, गुप्तचर क्षमता बढाउने र प्राथमिकतामा रहेका आपराधिक सञ्जाल पहिचान गर्ने योजना पनि अघि सारेको छ । 

अपराधको असर जनजीवन, सुरक्षा भावना र लगानी वातावरणमा गम्भीर रूपमा परिरहेको बताउँदै कडा कदम आवश्यक भएकोमा राष्ट्रपति रामाफोसाले जोड दिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप