झापामा रवि लामिछाने, विर्तामोड पुगेर भने, ‘पूर्वसभामुख कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ ?’
सारांश
- रास्वपा सभापति रवि लामिछानेले उपसभामुख इन्दिरा रानामगरको बचाउ गर्दै पुराना राजनीतिक दलहरूलाई कडा प्रहार गरे।
- लामिछानेले पूर्वसभामुख देवराज घिमिरेलाई प्रश्न गर्दै संसदमा जनताको आवाज दबाउन खोजिएको आरोप लगाए।
- उनले इन्दिरा रानामगरलाई मानव तस्करको आरोप लगाउनेहरूलाई पाप लाग्ने बताए, र मतदातालाई रास्वपाको पक्षमा उभिन आग्रह गरे।
विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख इन्दिरा रानामगरको बचाउ गर्दै पुराना राजनीतिक दल र तिनका नेताहरूमाथि कडा प्रहार गरेका छन् । झापाको विर्तामोडमा मंगलबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले इन्दिरा रानामगरलाई मानव तस्करको आरोप लगाउनेहरूलाई पाप लाग्ने बताए ।
‘म त्यस्तो मान्छेसँग उभिएको छु, जसका आफ्ना सन्तान छैनन् तर यो देशका सयौँ–हजारौँ बालबालिकाले उनलाई आफ्नो आमा मान्छन् । जेल परेका बाबुआमाका छोराछोरीलाई उच्च शिक्षा दिलाएर उज्वल भविष्य बनाइदिने आमा हुन् इन्दिरा राना,’ लामिछानेले भने, ‘यस्तो पवित्र व्यक्तित्वलाई समेत अपमानित गरेर मानव तस्करको आरोप लगाउनेहरूलाई पाप लागेको छ । विश्वले सुनोस्, इन्दिरा राना मगर एउटा गौरवशाली नाम हो ।’
आफ्नो सम्बोधनका क्रममा सभापति लामिछानेले पूर्वसभामुख देवराज घिमिरेलाई संकेत गर्दै गम्भीर प्रश्न उठाए । ‘मलाई थाहा छैन, पूर्वसभामुख कुन मुख बोकेर भोट माग्दै हुनुहुन्छ ? हामीले संसदमा भिजिट भिसामा नेपाली जनता ठगिएका छन्, छानबिन गरौँ भनेर आवाज उठाउँदा उहाँले माइक काटिदिनुभयो,’ लामिछानेले भने ।
उनले संसदमा रास्वपाका २१ जना सांसदलाई गलहत्याएर बाहिर निकालिएको घटना स्मरण गर्दै जनताको आवाज दबाउन खोजिएको आरोप लगाए ।
आफ्नो सांसद पद गुमेको सन्दर्भ जोड्दै लामिछानेले भने, ‘संसद नियमावलीले थुनामा नरहेको मान्छेको पद निलम्बन हुँदैन भन्छ, तर उहाँलाई बाको आदेश जनताको आदेशभन्दा ठूलो भयो । दुई घण्टामा सूचना टाँसेर मलाई गलहत्याएर संघीय संसदबाट निकालियो, तर जनताको मनबाट निकाल्न सक्नुभएन ।’
उनले पूर्वसभामुखलाई निर्वाचित गर्दा र उहाँका पक्षमा शब्दहरू बोल्दा आफ्नै हस्ताक्षर प्रयोग भएकोमा अहिले आत्मालोचित हुन चाहेको पनि बताए । ‘म यही धर्तीमा उभिएर खेद प्रकट गर्न चाहन्छु कि मैले कुनै दलको रबर स्ट्याम्पलाई सभामुख बनाउने काममा सहभागी भएँ,’ उनले भने ।
लामिछानेले आसन्न निर्वाचनमा इन्दिरा रानामगर र रास्वपाको पक्षमा उभिन झापाका मतदातालाई आग्रह गरे । ‘म गर्वका साथ इन्दिरा रानामगरको पक्षमा खडा भएको छु । उहाँ हजारौँको आमा हो, उहाँको निष्ठामाथि प्रश्न उठाउनेहरूलाई जनताले यसैपालि जवाफ दिनुपर्छ,’ लामिछानेले भने । विर्तामोडको सो सभामा रास्वपाका अन्य नेता तथा कार्यकर्ताहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण