बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचनमा खटिने अधिकृतलाई अभिमुखीकरण

मङ्गलबार, १२ फागुन २०८२, २२ : २५
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई अभिमुखीकरण कार्यक्रम सुरु गरियो।
  • अभिमुखीकरण कार्यक्रममा निर्वाचनलाई निष्पक्ष बनाउन भूमिका महत्त्वपूर्ण हुनेबारे छलफल भयो।
  • क्षेत्र नम्बर २ मा १५२, क्षेत्र नम्बर १ मा १६८ र क्षेत्र नम्बर ३ मा १७४ जना मतदान अधिकृत खटिनेछन्।

चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ । चितवनका तीन निर्वाचन क्षेत्रमा रहेका ४९४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मंगलबारदेखि अभिमुखीकरण सुरु गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज चितवन क्षेत्र नम्बर २ मा खटिने कर्मचारीहरूलाई अभिमुखीकरण तालिम दिएको छ । बुधबार क्षेत्र नम्बर ३ को रामपुरमा र बिहीबार क्षेत्र नम्बर १ मा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई खैरहनीमा अभिमुखीकरण तालिम दिइने छ । अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । मतदान अधिकृतहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासन तयार रहेको उनले बताए ।

प्रमुख निर्वाचन अधिकृत केदारनाथ पौडेलले निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेर निर्वाचन सम्पन्न गर्न आवश्यक रहेको बताए । निर्वाचन आयोगको अन्तिम चरणको कामको जिम्मेवारी मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूमा हुने भएकाले आफ्नो भूमिकालाई नर्विसन उनले सबैलाई आग्रह गरे ।

क्षेत्र नम्बर २ मा १५२ जना मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृत खटिने छन् । यस्तै क्षेत्र नम्बर १ मा १६८ जना मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक अधिकृत एवं क्षेत्र नम्बर ३ मा १७४ जना मतदान अधिकृत र सहायक अधिकृत खटिने निर्वाचन कार्यालयले जनाएको छ ।

अभिमुखीकरण कार्यक्रममा चितवन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत बालकृष्ण निरौला, सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनमा हुने सुरक्षाका बारेमा जानकारी गराउनुभएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी, सशस्त्र प्रहरीका उपरीक्षक धनबहादुर बानियाँ, नेपाली सेनाका दिनेश बोहोरा र राष्ट्रिय अनुसन्धानका सुरेश तिवारीले लगायतले निर्वाचन सुरक्षाका विषयमा जानकारी गराउँदै सबैसँग सहकार्य गरेर अघि बढ्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप