शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रास्वपा

रवि र बालेनको नाममा मोदीलाई लेखिएको पत्र ‘पूर्णतः नक्कली’ भएको रास्वपाको दाबी, कारबाहीको माग

शुक्रबार, १५ फागुन २०८२, २३ : ०९
शुक्रबार, १५ फागुन २०८२

सारांश

  • रास्वपाले रवि लामिछाने र बालेन शाहको नाममा भारतीय प्रधानमन्त्रीलाई लेखिएको पत्र नक्कली भएको जनाएको छ।
  • पार्टीले फागुन २९ गतेको निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिन यस्तो भ्रम फैलाइएको आरोप लगाएको छ।
  • रास्वपाले फेक न्युज र भ्रामक प्रचारको पछि नलाग्न र कारबाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षर रहेको भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरिएको पत्रलाई ‘पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित’ भएको बताएको छ ।

पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालद्वारा शुक्रबार जारी विज्ञप्तिमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रसारित उक्त पत्र र त्यससम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘सार्वजनिक गरिएको उक्त पत्र पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित रहेको हामी स्पष्ट पार्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘दुई जिम्मेवार व्यक्तिहरूको नाम जोडेर परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा यस्ता अनर्गल र आधारहीन भ्रम फैलाउनु अत्यन्तै निन्दनीय कार्य हो ।’

रास्वपाले आगामी फागुन २९ गते हुन गइरहेको आम निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिने र दुई देशबिचको द्विपक्षीय सम्बन्धमा खलल पुऱ्याउने उद्देश्यले यस्तो प्रायोजित प्रचारबाजी गरिएको स्पष्ट देखिएको दाबी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘द्विपक्षीय सम्बन्ध र सामाजिक सद्भावमा आँच आउने खालका कुनै पनि सामग्रीलाई स्थान नदिन हामी आग्रह गर्दछौँ।’

साथै, रास्वपाले आम सर्वसाधारणलाई पनि निर्वाचनको मुखमा फैलाइएका यस्ता फेक न्युज र भ्रामक प्रचारको पछि नलाग्न र सचेत रहन अपिल गरेको छ । पार्टीले यस्ता अवाञ्छित गतिविधि गर्नेहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने समेत जनाएको छ ।

rsp  notice

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप