बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
टी–२० विश्वकप

श्रीलङ्काली क्रिकेटमा सनथ जयसूर्याको युग अन्त्य

विश्वकपको असफलतासँगै मुख्य प्रशिक्षकबाट राजीनामाको घोषणा
आइतबार, १७ फागुन २०८२, ११ : १९
आइतबार, १७ फागुन २०८२

कोलम्बो । श्रीलङ्काका दिग्गज क्रिकेटर सनथ जयसूर्याले पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिने निर्णय गरेका छन्। विश्वकपमा पाकिस्तानसँगको हारसँगै श्रीलङ्काको यात्रा टुङ्गिएपछि उनले यस्तो घोषणा गरेका हुन्। 

उनले श्रीलङ्का क्रिकेट बोर्ड (एसएलसी) लाई आधिकारिक रूपमा जानकारी गराउन बाँकी भए पनि यो विश्वकप नै आफ्नो अन्तिम असाइनमेन्ट हुने पहिले नै तय गरिसकेको बताएका छन्। जयसूर्याले अब नयाँ व्यक्तिलाई जिम्मेवारी हस्तान्तरण गर्ने समय आएको उल्लेख गरेका छन्। 

उनले करिब दुई महिनाअघि इङ्गल्याण्ड विरुद्धको शृङ्खलाकै दौरान आफू लामो समय यो पदमा नरहने संकेत दिएका थिए। विश्वकपमा सुखद अन्त्य गर्ने योजना भए पनि सोचेजस्तो नतिजा नआउँदा उनी दुःखी देखिएका छन्। 

जयसूर्याको सम्झौता आगामी जुनसम्म रहेकाले आगामी मार्च १३ देखि हुने तय भएको अफगानिस्तान विरुद्धको सीमित ओभरको शृङ्खलाबारे बोर्डसँग छलफल गरेर मात्र अन्तिम निर्णय लिने उनले बताएका छन्। यद्यपि, मध्यपूर्वमा बढ्दो तनावका कारण सो शृङ्खला नै अहिले अन्योलमा परेको छ।

सन् २०२४ को टी-२० विश्वकप लगत्तै जिम्मेवारी सम्हालेका जयसूर्याको कार्यकालको सुरुवात निकै प्रभावकारी रहेको थियो। उनको प्रशिक्षणमा श्रीलङ्काले २७ वर्षपछि भारत विरुद्ध एकदिवसीय शृङ्खला जितेको थियो भने ओभलमा इङ्गल्याण्ड विरुद्ध ऐतिहासिक टेस्ट जित र न्युजिल्याण्डलाई घरेलु मैदानमा २-० ले पराजित गरेको थियो। 

उनले आठौँ-नवौँ स्थानमा रहेको श्रीलङ्काली टोलीलाई एकदिवसीय वरियतामा चौथो र टेस्टमा छैटौँ स्थानसम्म पुर्‍याउन सफल भएको दाबी गरेका छन्। उनले यो सफलतामा आफ्नो सहयोगी टोलीको भूमिका महत्वपूर्ण रहेको समेत उल्लेख गरेका छन्।

सुरुवाती सफलताका बाबजुद पछिल्लो एक वर्षमा भने जयसूर्याको कार्यकाल बिर्सनलायक रह्यो। विशेष गरी छोटो फर्म्याटका खेलहरूमा टोलीको प्रदर्शन खस्किएको छ। घरेलु मैदानमा भएको टी-२० विश्वकपमा लगातार चार खेल हार्दै श्रीलङ्का बाहिरिनु उनको कार्यकालको सबैभन्दा कमजोर पक्ष बन्यो। 

त्यस्तै सन् २०२५ को एसिया कप र पाकिस्तानमा भएको त्रिकोणात्मक शृङ्खलामा पनि टोलीको प्रदर्शन फितलो देखिएको थियो। उनले यसअघि दुई पटक मुख्य छनोटकर्ताको भूमिका निर्वाह गरिसकेका छन् ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप